• २७ वैशाख २०८१, बिहिबार

किन फुट्छ बारम्बार मेलम्चीको पाइप ?

blog

काठमाडौँ, मङ्सिर २७ गते । काठमाडौँको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो । जसकारण दिनभरि नै राजधानीको यातायात अवरोध हुन पुग्यो । त्यसैगरी गत कात्तिक २४ गते पनि मेलम्चीको पाइप परीक्षणको क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा सडक जलमग्न भई सवारीसाधन आवागमनमा समेत समस्या भएको थियो । विद्युत्को तार भूमिगत गर्ने क्रममा तीनकुनेको पाइप फुटेको पाइएको थियो । 

सोमबार लैनचौरमा पनि नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने क्रममा नै पाइप फुटेको हुनसक्ने मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयको अनुमान छ । सो क्षेत्रको पाइप फुटेकोबारे निर्देशनालयले अध्ययन गरिरहेको जनाएको छ । लैनचौर र तीनकुनेको घटना त उदाहरण मात्र हुन्, काठमाडौँमा खानेपानी र ढलको पाइप फुट्ने, टेलिफोन र विद्युत्को तार काटिनेजस्ता घटना दिनहुँजसो हुने गर्दछ जसको प्रत्यक्ष मारमा आमनागरिक परेका हुन्छन् ।

एकीकृत सहरी विकास योजनाको अभाव, पूर्वाधार विकाससम्बन्धी काम, विभिन्न मन्त्रालय र निकायमा बाँडिनु, ‘युटिलिटी कोरिडोर’सम्बन्धी ऐन कानुनको अभावजस्ता कारणले यस्ता घटना हुने गरेको पाइएको छ ।

पाइप कसरी फुट्न गयो, सोबारे आयोजनाका प्राविधिकले अध्ययन सुरु गरिसकेका छन् । प्रतिवेदन आउँछ र हामी निष्कर्षमा पुग्छौँ ।

पूर्वाधार विज्ञ प्राडा सूर्यराज आचार्यले विकसित मुलुकको उदाहरण दिँदै भौतिक पूर्वाधार विकासका लागि एउटै मन्त्रालय वा निकाय तथा एकीकृत कार्ययोजना हुनुपर्ने बताउनुभयो । नेपालको सन्दर्भमा पूर्वाधार निर्माणसम्बन्धी एउटै मन्त्रालय र एकीकृत कार्ययोजनाको अभाव, अहिले खडा गरिएका मन्त्रालय र निकायबीच समन्वयको खाँचो तथा विकासको कामलाई समयमा सम्पन्न गर्नुको सट्टा वर्षौसम्म लम्ब्याएर फाइदा लिनेजस्ता प्रवृत्तिका कारण यस्ता समस्या हुने गरेको उहाँको भनाइ छ ।

सरकारी कार्यालयहरूबीच समन्वय नहुँदा सडक विभागले कालोपत्रे गरेको केही दिनमै कहिले खानेपानी मन्त्रालयले सडक खन्ने, कहिले ढल निकासका लागि खन्ने त कहिले दूरसञ्चार र बिजुलीसम्बन्धी कामका लागि सडक खनिँदा काम पनि गुणस्तरीय नहुने र पाइप र ढल फुट्ने, तारहरू काटिनेजस्ता समस्या आउने गरेको उहाँको भनाइ छ । यी समस्याको सम्बोधन गर्न ‘युटिलिटी कोरिडोर’को अवधारणा अगाडि सारिए पनि त्यो लागू हुन सकेको छैन ।

अध्ययन गरिँदै

लैनचौर क्षेत्रमा खानेपानीको पाइप फुटेको घटनाबारे अध्ययन सुरु भइसकेको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले भन्नुभयो, “पाइप कसरी फुट्न गयो, सोबारे आयोजनाका प्राविधिकले अध्ययन सुरु गरिसकेका छन् । प्रतिवेदन आउँछ र हामी निष्कर्षमा पुग्छौँ ।” 

एक महिनाअघि तीनकुने क्षेत्रमा खानेपानीको पाइप फुटेको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणले लिए पनि उसले अहिलेसम्म सोको क्षतिपूर्ति तिर्न सकेको छैन । 

उहाँले गुणस्तरका कारण पाइप नफुटेको दाबी गर्दै नेपाल विद्युत् प्राधिकरणलगायत अरू निकायले सो सडक क्षेत्रमा काम गर्दा पाइप फुटेको हुन सक्ने बताउनुभयो । पाइप फुटेको खबर पाउनासाथ सो क्षेत्रमा वितरण गरिने भल्ब बन्द गरिएको बताउँदै उहाँले पाइपको मर्मत सुरु गरिएको र अबको एक/दुई दिनमा नै पुनः पानी वितरण सुरु गरिने जानकारी दिनुभयो ।

क्षतिपूर्ति पाइएन

एक महिनाअघि तीनकुने क्षेत्रमा खानेपानीको पाइप फुटेको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणले लिए पनि प्राधिकरणले अहिलेसम्म सोको क्षतिपूर्ति तिर्न सकेको छैन । प्राधिकरणले क्षतिपूर्ति नदिँदा फुटेको पाइप अहिलेसम्म मर्मत हुन नसकेको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयका कार्यकारी निर्देशक सापकोटाले विद्युत्को तार भूमिगत गर्दा फुटेको पाइप मर्मतका लागि प्राधिकरणले अझैसम्म क्षतिपूर्ति नतिरेको बताउँदै अब आयोजनाले आफैँ मर्मत गर्ने बताउनुभयो ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले तीनकुने क्षेत्रमा फुटेको खानेपानीको मर्मत सम्भारका लागि विद्युतको तार भूमिगत गरिरहेको निर्माण कम्पनीले क्षतिपूर्ति तिर्ने बताउँदै सोका लागि प्राधिकरणले सो कम्पनीलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो । सो कम्पनीले छिट्टै नै क्षतिपूर्तिको रकम भुक्तानी गर्ने उहाँले बताउनुभयो ।