• २६ वैशाख २०८१, बुधबार

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग : निर्माण कार्य जारी

blog

काठमाडौँ, मङ्सिर २१ गते । काठमाडौँ–तराई/मधेश द्रुतमार्गको निर्माण कार्य ललितपुरको खोकनाबाहेकको स्थानमा बिनारोकावट अगाडि बढ्ने भएको छ। ललितपुरको खोकनामा जग्गा विवाद, पुरातात्त्विक सम्पदाको संरक्षणलगायत स्थानीयको मागका कारण सो क्षेत्रमा द्रुतमार्गको काम अवरोध हुँदै आएकाले सो विवादित क्षेत्रमा तत्कालका लागि निर्माण कार्य यथावत् राखी अन्य स्थानमा कामलाई जारी राख्ने नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले खोकना क्षेत्रमा भइरहेको विवादका कारण अहिलेसम्म पूरै आयोजनाको काम अपेक्षित रूपमा अगाडि बढ्न नसकेको बताउँदै अब सो क्षेत्रमा विवाद रहुन्जेल कामलाई यथावत् राखी अन्य क्षेत्रको कामलाई तीव्रता दिने बताउनुभयो। 

द्रुतमार्गको दक्षिणतिरको अन्तिम बिन्दु निजगढदेखि खोकनाको विवादरहित क्षेत्रसम्म द्रुतमार्ग निर्माण भइसकेपछि त्यहाँदेखि काठमाडौँसम्म विभिन्न वैकल्पिक रेखाङ्कनमा सडक निर्माण गरी दु्रतमार्गलाई राजधानीसम्म जोडिन सकिने उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, “द्रुतमार्गलाई खोकनाबाट चोभार हुँदै राजधानी जोड्न सकिने वा त्यहाँबाट पूर्वतिरको कुनै सडकसँग पनि दु्रतमार्गलाई जोड्न सकिनेछ। खोकनादेखि काठमाडौँसम्म भूमिगत मार्ग निर्माण गरेर पनि द्रुतमार्गलाई काठमाडौँसँग जोड्न सकिनेछ।”

आयोजनाको अहिलेसम्मको भौतिक प्रगति अपेक्षाकृत कम देखिए पनि प्रारम्भिक तयारीका काम तथा ठेक्कापट्टाका काम अन्तिम चरणमा रहेको हुनाले अब बाँकी रहेको छोटो निर्माण अवधिमा पनि आयोजनाको भौतिक प्रगति उल्लेख्य रूपमा हासिल हुने विश्वास लिइएको प्रवक्ता सिलवालले बताउनुभयो। उहाँका अनुसार अहिले आयोजनाको भौतिक प्रगति २१.६३ प्रतिशत र वित्तीय प्रगति २०.०४ प्रतिशत रहेको छ। 

सेनाका अनुसार अहिले द्रुतमार्गअन्तर्गतका तीनवटा सुरुङहरूको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। सरकारले द्रुतमार्ग निर्माणको व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ मा दु्रतमार्गको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेछ। द्रुतमार्गको लम्बाइ ७६.२ किलोमिटर छ। यसमा साना–ठूला ९९ वटा पुल निर्माण हुनेछन्।