• ७ वैशाख २०८१, शुक्रबार

स्याङ्जा–२ का तीन जना सांसदको पहिलो प्रयास सफल

blog

विजयी प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरू ।

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १९ गते । स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनै जना सांसदले पहिलो पटकमा नै सफलता पाएका छन् । दुईपटक समानुपातिकबाट संसद् पुग्नुभएका कांग्रेस उपसभापति धनराज गुरुङ यो पटक पनि संसद् प्रवेशको बाटो पक्का गरिसक्नुभएको छ । पहिलो पटक प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्नु भएका गुरुङ विभिन्न आरोह अवरोह र चर्चासहित विजेता बन्नुभएको हो । 

गुरुङको जीतसँगै पटक पटक मन्त्री भइसकेका गोपालमान श्रेष्ठको नेपाली कांग्रेस स्याङ्जामा लामो समय दबदबा बिस्तारै कम हुँदै जाने आङ्कलन गरिएको छ । 

जिल्लामा टिकट दिने र जिताउने भन्नेसम्मको निर्णयमा नेता श्रेष्ठ नै हाबी रहँदै आउनु भएको थियो । गुरुङको उदयसँगै पुस्तान्तरण समेत हुने भएको छ । श्रेष्ठ समानुपातिक तर्फ सुरक्षित ठानेर बसेपछि गुरुङलाई टिकट पाउन असहज भएन । 

दश वर्ष संसदीय अभ्यासको अनुभव गुरुङसँग भए पनि प्रत्यक्ष चुनावमा नहोमिएका गुरुङको चुनाव परिचालनलाई चुस्त र दुरुस्त बनाउन निक्कै मेहनत गर्नु परेको थियो । तर कांग्रेसको एकताका कारण गुरुङलाई जीत निकाल्न सहज भएको बताइन्छ ।

उपसभापति धनराजको गृह क्षेत्र हो स्याङ्जाको १ नं. जहाँबाट भए पनि प्रत्यक्षमा उठ्न चाहना राख्नुभएका गुरुङलाई २ नं. बाट प्रत्यक्ष चुनाव लड्ने अवसर मिल्यो । 

पहिलो पटक टिकट पाउनु भएका धनराज पहिलो पटकमै सफल बन्नुभयो । उहाँले एमालेकी सचिव पद्याकुमारी अर्याललाई फराकिलो मतान्तरले पराजित गर्नुभयो । उहाँहरुबीचको मतान्तर ५ हजार ६२७ छ । गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्दा अर्यालले भने २५ हजार ८३९ मत पाउनुभयो । 

विवादित बनेको चापाकोट नगरपालिकाका वडा नं.३, ४ र ५ को ४ हजार मतलाई चटक्कै छाडे पनि गुरुङको जीत स्पष्ट रूपमा भएको देखियो । विवादित भएका ठाउँमा पनि झण्डै ९९ प्रतिशत कांग्रेसलाई मत दिने मतदाता रहेको स्थानीय विश्वास पुरीले बताउनुभयो । 

अर्यालको भने यो दोस्रो प्रतिस्पर्धा हो । यसअघि २०७४ मा वाम गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएकी अर्यालले तत्कालीन उपप्रधान एवं शिक्षामन्त्री नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई झण्डै ४ हजार मतले पराजित गर्नुभएको थियो । पूर्वमन्त्रीसमेत रहेकी अर्याल २०७४ अघि समानुपातिक सांसद बनिसक्नु भएको छ  । 

स्याङ्जाको अर्जुनचौपारीमा २०२२ सालमा जन्मिनुभएका गुरुङ १४ वर्षकै उमेरमा विद्यार्थी राजनीतिमा प्रवेश गर्नु भएको हो । उहाँ १६ वर्षको उमेरमा नेविसंघ इकाइ सभापति बन्नु भएको थियो । २०४० सालमा नेविसंघ स्याङ्जा जिल्ला सचिव बन्नुभयो । २०४८ सालमा नेविसंघको केन्द्रीय उपसभापतिमा निर्वाचित हुनुभयो । सोही वर्ष पार्टीको महाधिवेशन प्रतिनिधि पनि बन्नु भएको थियो

२०५३ सालमा नेविसंघको केन्द्रीय सभापति र २०५४ मा नेपाल तरुण दलको महासचिव भएर काम गरेको अनुभव गुरुङसँग छ । पार्टीको १२ औँ र १३ औँ महाधिवेशनबाट राम्रो मतसहित केन्द्रीय सदस्य बन्नुभएका गुरुङ १४ औँ महाधिवेशनबाट केन्द्रीय उपसभापति निर्वाचित हुनुभएको हो । 

यस्तै, स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (क) मा कांग्रेसका भोजराज अर्याल पनि पहिलो प्रयासमा नै सांसद बन्नु भएको छ । 

वालिङ नगरपालिकाको पहिलो निर्वाचित नगरप्रमुख भएर वालिङको मार्गचित्र कोरेका अर्याल निष्ठाको राजनीति गर्ने नेताको रूपमा परिचित हुनुहुन्छ ।  

विक्रम सम्वत २०४९ मा तत्कालीन वालिङ गाविसको अध्यक्ष निर्वाचित हुनु भएका अर्याल २०५४ मा वालिङ नगरपालिकाको नगरप्रमुख बन्नु भएको हो । झण्डै १० वर्ष तत्कालीन स्थानीय निकायको नेतृत्व गर्नुभएका अर्याल त्यसको २४ वर्ष पछि पुनः जननिर्वाचित  जनप्रतिनिधिमा बन्नु भएको हो । 

अर्यालले दुई हजार सात सय ३० मतान्तरले नेकपा (एमाले)का मोहन प्रसाद रेग्मीलाई पराजित गर्नु भएको हो । अर्यालले १५ हजार एक सय ६१ मत ल्याउनुभयो भने रेग्मीले १२ हजार चार सय ३१ मत ल्याउनुभयो । २०७४ को चुनावमा एमालेका रेग्मी प्रदेश सांसदमा निर्वाचित हुनुभएको थियो । 

यस्तै, स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (ख) बाट महेश भट्टराईले पनि पहिलो पटकमा नै सांसद बन्न सफल हुनुभएको हो  । एमालेका बुद्धिमान श्रेष्ठलाई एक हजार ७८६ मतान्तरले पराजित गर्दै भट्टराई निर्वाचित हुनुभएको हो । 

निर्वाचित भट्टराईले १८ हजार ७८८ मत प्राप्त गर्दा पराजित श्रेष्ठले १७ हजार दुई प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

२०७४ को स्थानीय तह निर्वाचनमा भट्टराई गल्याङ् नगरपालिका वडा नं. ३ को वडाध्यक्षमा विजयी हुँदा उता श्रेष्ठ चापाकोट नगरपालिकाको नगरप्रमुखमा पराजित बन्न पुुग्नुभएको थियो ।