• १७ मंसिर २०७९, शनिबार

पोखराको पर्यटकीय भविष्य

blog

मुलुकको आर्थिक समुन्नति, सुगमता तथा आन्तरिक एवं अन्तर्राष्ट्रिय सम्पर्क स्थापनामा हवाई यातायातको निकै महत्वपूर्ण भूमिका रहिआएको हुन्छ। यस अघिसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै नेपालका निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य छिचोल्ने एक मात्र आधार थियो। समयक्रमसँगै मुलुकमा अन्य अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गरियो। यसको फलस्वरूप लुम्बिनीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर अन्तर्राष्ट्रिय उडानसमेत सञ्चालनमा आइसकेको अवस्था छ। यस्तै मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएर परीक्षण उडान प्रारम्भ गरिएको छ। यो पोखराको पर्यटकीय भविष्यसमेत हो। 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आर्थिक, भौतिक तथा प्राविधिक हरेक दृष्टिकोणले चुनौतीपूर्ण कार्य हो। निर्माण सम्पन्न भइसकेपछि विमानस्थल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्न प्राविधिक दृष्टिकोणले उपयुक्त छ छैन भन्ने परीक्षण हुनु पनि त्यत्तिकै जरुरी हुन्छ। अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्यान्डको एरो थाइ नामक कम्पनीको जहाजले विमानस्थलको सञ्चार, नेभिगेसन र निरीक्षणमा जडित उपकरणले काम गरे नगरेको विषयमा एक हप्तासम्म परीक्षण उडान गर्नेछ। परीक्षण उडानपछि कम्पनीले बुझाउने प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय उडान गरिनेछन्। मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानको अन्तिम चरणमा पुग्नु वास्तवमै मुलुकको हवाई उड्यनका लागि खुसी तथा गौरवको विषय हो। पोखराजस्तो अन्तर्राष्ट्रिय स्तरमा नै प्रख्यात पर्यटकीय गन्तव्यबाट अन्तर्राष्ट्रिय उडान हुनुले नेपालको पर्यटन क्षेत्रमा कोसेढुङ्गा मान्न सकिन्छ र समयक्रममा यो तथ्य वास्तविकताको कसीमा प्रमाणित हुने नै छ। यस अर्थमा विशेष गरी पोखरा अन्तर्राष्ट्रियले नेपालको अन्तर्राष्ट्रिय हवाई उडड्यनको इतिहासमा नयाँ आयाम स्थापित गर्ने तथ्यमा विश्वस्त हुन सकिन्छ। 

सरकारद्वारा अङ्ग्रेजी नयाँ वर्ष २०२३ को जनवरी १ देखि यस विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने निर्णय भइसकेको छ। यस अवस्थामा पर्यटकीय यो विमानस्थललाई व्यावसायिक दृष्टिकोणबाट उपयुक्त बनाउन सरकार, पर्यटन व्यवसायी, वायुसेवा कम्पनी आदिको समन्वय तथा सहकार्य अति महत्वपूर्ण हुने देखिन्छ। यसका निम्ति सम्बन्धित निकायले उत्कृष्ट नीति अख्तियार गर्नुपर्ने आवश्यक देखिन्। व्यावसायिक उडान सञ्चालनको महिनौं भइसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एउटै मात्र अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई सेवा सञ्चालन हुँदा अपेक्षित फाइदा लिन नसकिएको सर्वविदितै छ। सञ्चालन खर्चसमेत धान्न धौधौ परिरहेको अवस्था छ गौतमबुद्ध विमानस्थललाई। यस्तो अवस्थामा कुनै पनि परियोजनालाई लागत लाभको आधारमा कसरी अगाडि बढाउने भन्ने आर्थिक एवं वित्तीय योजना हुनु वाञ्छनीय छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरैले पाठ सिक्नुपर्ने हुन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि यस अवस्थामा अल्झिन नदिन स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्नु वाञ्छनीय छ। त्यस निम्ति उचित प्रचारप्रसार आवश्यकता पर्छ। विमानस्थलमा अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षण गर्ने स्पष्ट नीति र योजना बनाउन सङ्घ र प्रदेश दुवैतिर आवश्यक गृहकार्य जरुरी छ। बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बनारसमा उडान भर्ने तयारी गरिरहेको सुखद पक्ष पनि सार्वजनिक भइसकेको छ। 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय लाभका दृष्टिबाट समेत सञ्चालन गर्ने पक्ष निकै महत्वपूर्ण छ। यसका निम्ति यस विमानस्थललाई हरेक दृष्टिकोणबाट सुविधायुक्त, सुरक्षित तथा यात्रुमैत्री बनाउनुको विकल्प छैन। विमानस्थल नजिकै रहेको पोखराको ल्यान्डफिल्ड साइट अहिले टाउको दुखाइको विषय बनेको छ। यो विषयलाई पोखरा महानगरपालिकाले तत्काल उपयुक्त समाधान निकाल्न नसके भोलिका दिनमा कुनै भवितव्य नहोला भन्न सकिँदैन। ल्यान्डफिल्ड साइटका कारण हाल भइरहेको परीक्षण उडानसमेत प्रभावित हुने भएपछि उक्त क्षेत्रका चराको विचरण गतिविधिलाई नियन्त्रण गर्ने प्रयास गरिएको छ। यस विषयलाई दृष्टिगत गर्दा यो विषय सुरक्षाका दृष्टिकोणबाट कति संवेदनशील छ भन्ने देख्न सकिन्छ। मुलुकमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु आमनेपालीको निम्ति गौरव तथा खुसीको विषय भएकोमा कुनै दुई मत छैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित, चुस्त तथा आर्थिक दृष्टिकोणले फाइदाजनक रूपले सञ्चालन गर्न सक्षम हुनु नै आजको आवश्यकता हो। सम्भावनाले भरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयनमा निकै सकारात्मक योगदान पु¥याउने अपेक्षा गर्न सकिन्छ।