• १६ चैत २०८०, शुक्रबार

यूएईविरुद्ध एकदिवसीय क्रिकेट

नेपालको खराब सुरुवात

blog

एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा प्रतिस्पर्धा गर्दै नेपाल र यूएईका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, कात्तिक २८ गते । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा खराब सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि सुरु भएको सिरिजको पहिलो खेलमा नेपाल पाहुना टोली यूएईसँग ८४ रनले पराजित भएको हो । 

यससँगै तीन खेलको सिरिजमा नेपाल १–० ले पछि परेको छ । जितका लागि दुई सय ६४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रनमा समेटियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र अर्जुन साउदले अर्धसतकीय पारी खेल्नुभयो । 



ऐरीले ५४ रन बनाउनुभयो । ओपनर साउदले ५१ रन जोड्नुभयो । एकदिवसीय क्रिकेटमा नेपालका लागि डेब्यु गर्नुभएको साउदले पहिलो खेलमै अर्धसत्तक प्रहार गर्दै आफूलाई अब्बल साबित  गर्नुभएको छ । उहाँले टी–२० अन्तर्राष्ट्रियमा भने यसअघि नै नेपालको प्रतिनिधित्व गरिसक्नुभएको छ । यसै खेलबाट नेपालका लागि हरिशङ्कर शाहले पनि राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको छ ।

यस्तै गुल्सन झाले अविजित १९ र ओपनर आशिफ शेखले १२ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्न यूएईका आयन अफ्जल खानले चार विकेट लिनुभयो । बसिल हमेदले दुई तथा जाहोर खान, रोहन मुस्तापा र अहमेद राजाले एक एक विकेट झार्नुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६३ रन बनाएको थियो । यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन बनाउनुभयो । मुहमद वासिमले ४४, भ्रित्य अरविन्दले ४०, एलिसन साराफुले २९, अहमेद राजाले अविजित २७, आयन हफ्जल खानले २६ र बसिल हामिदले १४ रन बनाउनुभयो ।

बलिङमा नेपालका गुलशन झाले दुई विकेट लिनुभयो। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो । नेपाल र यूएईबीच तीन खेलको एकदिवसीय सिरिज आयोजना गरिएको हो । दुई टोलीबीच बुधबार दोस्रो र शनिबार तेस्रो तथा अन्तिम खेल हुनेछ ।