काठमाडौँ, फागुन १४ गते । दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई नौ विकेटले हरायो ।
दक्षिण अफ्रिका अपराजित रहँदै अन्तिम चार नजिक पुगेको हो । यसअघि समूह दुई बाट इङ्ल्यान्डले सेमिफाइनल यात्रा तय गरिसकेको छ ।
जितका लागि एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिणले १६.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
उहाँले ४६ बलका सात चौका र चार छक्का हान्नुभयो । यस्तै क्विन्टन डे ककले ४७, रायन रिकेल्टनले अविजित ४५ रन बनाउनुभयो । बलिङमा वेस्ट इन्डिजका रोस्टन चेसले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जेसन होल्डर र रोमारियो शेफर्डले सानदार साझेदारी गरेपनि टोलीको हार टरेन । दुवैले आठौँ विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गर्नुभएको थियो ।
शेफर्डले अविजित ५२ र होल्डरले ४९ रन बनाउनुभयो । यस्तै ब्रेन्डन किङले २१ र साई होपले १६ रन जोड्नुभयो । बलिङमा दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले तीन तथा कागिसो रबाडा र कोर्बीन बोस्चले दुई दुई विकेट लिनुभयो ।
सुपर आठमा दोस्रो जितसँगै चार अङ्क बनाएको दक्षिण अफ्रिका समूह एकको शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको वेस्ट इन्डिजको दुई अङ्क छ । एक एक खेल खेलेको भारत र जिम्बावेले खाता खोल्न सकेका छैनन् । भारत र जिम्बावे आफ्नो दोस्रो खेलमा आजै राति भिड्नेछन् ।