अनिल पराजुली
हेटौँडा, फागुन १६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन आउन पाँच दिन बाँकी रहँदा पनि मकवानपुरका दुई स्वतन्त्र उम्मेदवारले निर्वाचन खर्चका लागि अनिवार्य छुट्टै बैँक खाता खोल्न बाँकी छ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार मकवानपुरमा दल र स्वतन्त्र गरी कुल ४४ उम्मेदवार छन्। तर निर्वाचन क्षेत्र नम्बर–१ का स्वतन्त्र उम्मेदवार राकेश कुमार शर्मा र सुशिला सुवेदीले हालसम्म बैँक खाता खोल्न सिफारिस लिएका छैनन्। फोनमार्फत जानकारी माग्दा समेत उनीहरूले खाता सञ्चालन नगरेको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो।
मकवानपुरमा निर्वाचन क्षेत्र नम्बर–१ मा २३ र क्षेत्र नम्बर–२ मा २१ उम्मेदवारको उम्मेदवारी कायम छ। क्षेत्र नम्बर–१ मा विभिन्न दलबाट १३ जना र स्वतन्त्र १० जना उम्मेदवार छन्। क्षेत्र नम्बर–२ मा विभिन्न दलका १६ र स्वतन्त्र ५ जना उम्मेदवार छन्।
निर्वाचन आयोगको परिपत्र अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी सबै दल तथा स्वतन्त्र उम्मेदवारले निर्वाचनसम्बन्धी आर्थिक कारोबारका लागि छुट्टै बैँक खाता अनिवार्य रूपमा खोल्नुपर्ने व्यवस्था छ। आयोगले माघ २० गते स्वीकृत प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार बैँक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार उम्मेदवारलाई पत्राचार गरी खाता सञ्चालन गर्ने जानकारी गराएको थियो।
प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार राजनीतिक दलका उम्मेदवारले कार्यविधि लागु हुनुभन्दा अघि बैँक खाता खोलेर प्रचारप्रसार खर्च व्यवस्थापन गर्न सक्ने व्यवस्था छ। नयाँ खाता खोल्दा अघिल्लो खाताबाट प्राप्त रकम नयाँ खातामा सार्नुपर्ने छ। यसका लागि निर्वाचन आयोग मातहत प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सिफारिस अनिवार्य छ।