काठमाडौँ, माघ २९ गते । कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ । मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो ।
लगातार दोस्रो हार खेपेसँगै नेपालको सुपर आठ सम्भावना कमजोर बनेको छ । यसअघि पहिलो खेलमा नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै चार रनको हार खेपेको थियो ।
जितका लागि एक सय २४ रनको मध्यम लक्ष्य पछ्याएको इटालीले १२.४ ओभरमा विना विकेटको क्षति लक्ष्य पूरा गरेको हो । इटालीका लागि ओपनर दाजुभाईद्वय जस्टिन मोस्का र एन्थोनी मोस्काले एक सय २४ रनकै साझेदारी गर्नुभयो ।
जस्टिनले ६० र एन्थोनीले ६२ रन बनाउनुभयो । इटालीले दुई रन अतिरिक्त पाएको थियो । जितसँगै इटालीले समूह जस्टिन डी’ मा दुई अङ्क बनाएको छ । नेपाल अङ्कबिहीन छ ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाउनुभयो । उहाँले २४ बलमा तीन चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै कप्तान रोहित पौडेलले २३ रन बनाउनुभयो । उहाँले १४ बलमा दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
ओपनर आशिफ शेखले २० रन जोड्टा अर्का ओपनर कुशल भुर्तेल पाँच रनमा आउट हुनुभयो । यस्तै दीपेन्द्रसिंह ऐरीले १७ रन बनाउनुभयो । लोकेश बम र गुल्शन झा तीन तीन रन जोड्दै पेभेलियन फर्किनुभयो ।
त्यसपछि करण केसीले अविजित १८ रन बनाउनुभयो । सन्दीप लामिछाने पाँच रन तथा नन्दन यादव र ललित राजवंशी शुन्य रनमा रन आउट हुनुभयो । ललितले विश्वकपमा डेब्यू गर्नुभएको हो । अघिल्लो संस्करणमा नेपालको १५ सदस्यीय टोलीमा रहेपनि उहाँले खेल्न पाउनुभएको थिएन ।
बलिङमा इटालीका क्रिशन कालुगामेजले तीन विकेट लिनुभयो । बेन मनेन्टीले दुई तथा अलि हसन, जेजे स्मुथ र जसप्रित सिंहले एक एक विकेट लिनुभयो ।
टी–२० अन्तर्राष्ट्रियमा नेपाल र इटालीबिच पहिलो पटक भिडन्त भएको हो । यस्तै इटालीले पहिलो पटक टी–२० विश्वकप खेलेको हो । नेपाल र इटालीबिच १३ वर्ष अगाडि एक दिवसीय खेलमा भने प्रतिस्पर्धा भएको थियो । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन–३ को उक्त खेलमा नेपालले इटालीलाई आठ विकेटले हराएको थियो ।
नेपालसहित इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेको समूह ‘सी’ मा हाल वेस्ट इन्डिजले लगातार दुई खेल जित्दै चार अङ्क बनाएको छ ।
इङ्ल्यान्ड र स्कटल्यान्डको दुई दुई अङ्क छ । अब नेपालले फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वनखेडे स्टेडियममै खेल्ने छ ।
नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।