काठमाडौँ, माघ २७ गते । आइसिसी टी–२० विश्वकपमा यसअघि भारतसँग नखेल्ने घोषणा गरेको पाकिस्तानले आफ्नो निर्णय फिर्ता लिएको छ ।
यसअघि पाकिस्तान सरकारले भारतसँगको समूह चरणको खेल नखेल्ने घोषणा गरेको थियो ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बङ्गलादेशलाई विश्वकपबाट बाहिर राखेपछि पाकिस्तानले त्यसको विरोधमा भारतसँगको खेल नखेल्ने घोषणा गरेको थियो ।
आइसिसीले पाकिस्तानको निर्णयमा पूर्नविचार गर्न आग्रह गर्दै आएको थियो । अन्तिममा पाकिस्तान क्रिकेट बोर्ड, बङ्गलादेश क्रिकेट बोर्ड र आइसिसीबिचको त्रिपक्षीय छलफलपछि पाकिस्तान भारतसँगको खेल खेल्न सहमत भएको हो ।
दुई टोलीबिचको खेल फेब्रुअरी १५ तारिख श्रीलङ्काको कोलम्बोमा हुने छ । भारत र पाकिस्तान जारी विश्वकपको ‘ए’ मा रहेको छ । यस समूहमा नामिबिया, नेदरल्यान्ड्स र अमेरिका छ ।
यसअघि सुरक्षा चिन्ताका कारण बङ्गलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आइसिसीले बङ्गलादेशलाई विश्वकपबाट निष्कासित गरेको थियो ।
आइसिसीले विश्वकपमा बङ्गलादेशको स्थानमा वरीयताको आधारमा स्कटल्यान्डलाई मौका दिएको थियो । आइसिसीले विश्वकप बहिस्कार गरेको बङ्गलादेशलाई यसअघि कारबाही गर्ने जनाए पनि अन्तत: कारबाही नगर्ने भएको छ ।