• १६ फागुन २०८२, शनिबार

देशको भविष्य निर्धारण गर्ने निर्णायक शक्ति अब मधेश : जसपा अध्यक्ष यादव

blog

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव घरदैलोमा व्यस्त ।

सप्तरी, फागुन १६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भविष्य तय गर्ने दाबी गर्नुभएको छ ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले शनिबार घरदैलोको क्रममा आम मतदातालाई सम्बोधन गर्दै राज्यले विगत झै मधेशलाई उपेक्षा गरेर समृद्ध मुलुक बन्नै नसक्ने दाबी गर्नुभयो ।

‘‘मधेश केवल भौगोलिक क्षेत्र होइन, यो स्वाभिमान र अधिकारको ज्वलन्त आवाज हो,’’ अध्यक्ष यादवले भन्नुभयो, ‘‘अबको निर्णायक शक्ति मधेश हो र देशको भविष्य पनि मधेशले नै तय गर्ने छ ।’’’ मधेशको आन्दोलन, बलिदान र त्यागको स्मरण गर्दै मधेश बलियो भयो भने मात्र सङ्घीयता बलियो हुन्छ, देश पनि सुरक्षित र समृद्ध हुने बताउनुभयो ।

जसपा नेपालले नै मधेशको एजेन्डा, विभेद, उत्पीडन र पहिचानका सवाललाई गाउँगाउँदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याएको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘‘मधेशमाथिको ऐतिहासिक अन्याय र संरचनागत विभेद नस्वीकार्ने, नबुझ्नेहरू मधेशको हितैषी हुनै सक्दैनन् ।’’

विगतको सङ्घर्षलाई केवल इतिहास नभई भविष्यको आधार भएको भन्दै उहाँले मधेशलाई उपेक्षा गरेर विकास र समृद्धिको सपना केवल खोक्रो नारा मात्र हुने बताउनुभयो ।

‘‘जसको एजेन्डामा मधेशको समस्या र उत्पीडनको सवाल स्पष्ट छैन, उसले मधेशको नेतृत्व कसरी गर्छ ?’’ उहाँले भन्नुभयो, ‘‘केही शक्तिहरूको ध्यान केवल मधेशको भोटमा मात्रै केन्द्रित छ, तर मधेशले सदियौंदेखि भोग्दै आएको गरिबी, अशिक्षा, बेरोजगारी र राज्यको विभेदप्रति उनीहरूमा कुनै संवेदनशीलता छैन ।’’

जसपा अध्यक्ष यादवले यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्रै होइन, यो मधेशको सम्मान, अधिकार र भविष्य जोगाउने महत्त्वपूर्ण निर्णायक अवसर भएको बताउँदै आम मतदातालाई सचेत, एकताबद्ध र दृढ भएर मधेशको अस्तित्व र स्वाभिमानको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ । यो निर्वाचनबाट जसपा नेपाल एउटा निर्णायक शक्तिको रूपमा उदाउने अध्यक्ष यादवको दाबी छ ।