काठमाडौँ, फागुन १४ गते । आयोजक श्रीलङ्का आइसिसी टी–२० विश्वकपको सुपर आठबाट बाहिरिएको छ ।
कोलम्बोस्थित आर प्रेमादासा रङ्गशालामा बुधबार राति भएको खेलमा श्रीलङ्का न्युजिल्यान्डसँग ६१ रनले पराजित भयो । आयोजक श्रीलङ्का जारी विश्वकपमा सुपर आठबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । न्युजिल्यान्डका लागि कप्तान मिचेल स्यान्टेनरले सर्वाधिक ४७ रन बनाउनुभयो ।
यस्तै रचिन रविन्द्रले अलराउन्ड प्रदर्शन गर्दै ब्याटिङमा ३२ रन र बलिङमा चार विकेट लिनुभयो । कोल म्याकोन्चीले अविजित ३१, फिन अलेनले २३ र ग्लेन फिलिप्सले १८ रन बनाउनुभयो । बलिङमा श्रीलङ्काका दुश्मन्था चमिरा र महेश थिक्शेनाले तीन तीन तथा दुनिथ विल्लालागेले एक विकेट लिनुभयो ।
जितका लागिथ एक सय ६९ रनको लक्ष्य पछ्याएको श्रीलङ्का निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय सात रनमा समेटिएको थियो । श्रीलङ्काका लागि कमान्डु मेन्डिसले सर्वाधिक ३१ रन बनाउनुभयो । दुनिथ वेलेङ्गले २९, कुशल मेन्डीजले ११ र पवन रत्नायकेले १० रन बनाउनुभयो ।
बलिङमा न्युजिल्यान्डका रचिन रविन्द्रले चार तथा म्याट हेनरीले दुई, मिचेल सान्टनेर र ग्लेन फिलिप्सले एक एक विकेट लिनुभयो । यस जितसँगै सुपर आठको समूह दुईमा रहेको न्युजिल्यान्ड दुई खेलबाट तीन अङ्क जोड्दै दोस्रो स्थानमा छ ।
शीर्षस्थानमा रहेको इङ्ल्यान्डको चार तथा पाकिस्तानको एक अङ्क छ । जितबिहीन श्रीलङ्काले अङ्क जोड्न सकेको छैन ।