चौमाला (कैलाली), फागुन १५ गते । भारतको मुम्बईमा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी लोकेश बम र शेर मल्ललाई सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले नगदसहित सम्मान गरेको छ।
कलेजका विद्यार्थीसमेत रहनुभएका लोकेश बम तथा ब्रान्ड एम्बेस्डर शेर मल्ललाई कलेजले जनही एक लाख एक हजार रुपियाँ नगदसहित 'एसपीए सम्मान' प्रदान गरेको हो। कलेजको २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा दुवै खेलाडीलाई सम्मान गरिएको हो।
विश्वकपअन्तर्गत इङ्ल्यान्डविरुद्धको खेलमा लोकेशले २० बलमा चार चौका र दुई छक्काको मद्दतले ३९ रनको शानदार पारी खेल्नुभएको थियो। यस्तै, आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलको पहिलो बलमै शेर मल्लले फिल साल्टको विकेट लिनुभएको थियो।
समारोहका प्रमुख अतिथि एवं शिक्षाविद् डा. हेमराज पन्त तथा कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले खेलाडीलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो। लोकेश बम जय ट्रफी खेलिरहनुभएकाले उहाँको सम्मानपत्र आमा शान्तादेवी बमले ग्रहण गर्नुभएको थियो।
एसपीए कलेजमा दुई दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आबद्ध छन्। कलेजमा लोकेशसहित यू–१९ टोलीका नारायण जोशी, बसन्त कार्की, सिनियर महिला राष्ट्रिय टोलीका कविता कुँवर, ईश्वरी विष्ट तथा यू–१९ महिला राष्ट्रिय टोलीका लक्ष्मी साउद, यशोदा विष्ट, सुमन विष्ट, मनिषा चौधरी र मनिषा उपाध्याय अध्ययनरत् हुनुहुन्छ।
कलेजले आफ्नो विशिष्ट प्रतिभामार्फत समाज र देशलाई योगदान पुर्याउने व्यक्तित्वहरूलाई बर्सेनि 'एसपीए सम्मान' प्रदान गर्दै आएको छ।