• २८ माघ २०८२, बुधबार

टी–२० विश्वकप : इटालीलाई हराउने नेपालको लक्ष्य

blog

इटालीसँग खेल्नुअघि तयारी गर्दे नेपाली टोली । तस्बिरहरू : विकास द्वारे ।

काठमाडौँ, माघ २८ गते । तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपाल यसपटक पहिलो खेलमा टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै अन्तिमा चार रनले स्तब्ध बन्यो । 

पहिलो खेलमा सानदार प्रदर्शनसहित जित नजिक पुगेर हार खेपेको नेपालले समूहको दोस्रो खेल बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र इटालीबिचको खेल बिहीबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा ३:१५ बजे सुरु हुने छ ।

इङ्ल्यान्डसँगको खेलपछि नेपाली टोलीको प्रदर्शन क्षमता उच्च स्तरको रहेको भन्दै विश्व क्रिकेटमा चर्चा भई रहेको छ । इटाली टी–२० मा नेपालका लागि नयाँ प्रतिस्पर्धी हो ।

नेपालसहित इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेको समूह ‘सी’ मा इटाली तुलनात्माक रूपमा कमजोर मानिन्छ । हाल इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्डले एक एक खेल जित्दै दुई दुई अङ्क बनाएका छन् । नेपाल र इटाली अङ्कबिहीन छन् । 

पहिलो पटक विश्वकप खेलिरहेको इटाली अनुभवका हिसाबले पनि पछाडि छ । त्यसैले नेपालले इटालीसँग जितको लक्ष्य राख्नु स्वभाविक देखिएको छ ।

नेपाल र इटालीबिच १३ वर्ष अगाडि एक दिवसीय खेलमा प्रतिस्पर्धा भएको थियो । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–३ को उक्त खेलमा नेपालले इटालीलाई आठ विकेटले हराएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले इटालीसँगको खेल नेपालका लागि महत्त्वपूर्ण हुने बताउनुभएको छ । ‘‘पहिलो खेलबाट दबाबलाई थेग्न र कठिन अवस्थामा कसरी खेल्नुपर्छ भन्ने सिकेका छौँ । सुपर आठमा पुग्न अबका खेलहरु महत्त्वपूर्ण छन् । सबै खेलमा राम्रो खेल्ने छौँ । इटालीलाई हराएर अगाडि बढ्ने अबको लक्ष्य हो,’’ रोहितले भन्नुभएको छ । 

इटालीपछि नेपालले फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममै खेल्ने छ । 

नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।