• ५ जेठ २०८१, शनिबार

बाह्रै महिना फेसनेबल

blog

काठमाडौँ, कात्तिक २५ गते । फेसन हाम्रो जीवनशैलीको महत्त्वपूर्ण पाटो बनेको छ। फेसनमा युवा जगत्को रुचि बढ्दो छ। फेसन डिजाइनर काव्या शेरचन भन्नुहुन्छ, “फेसन समय मापन गर्ने माध्यम हो। ढुङ्गेयुगबाट सुरु भएको मानव सभ्यतामा फेसनले त्यो बेला खासै रूप लिन सकेको थिएन। लाज ढाक्ने कार्य रुखबिरुवाका पात–पतिङ्गरबाट जानी–नजानी भयो। सायद फेसनको प्रारम्भ र सुरुवात यसैलाई भन्न सकिन्छ। 

शरीर ढाक्न तथा लाज जोगाउन विभिन्न शैली र डिजाइनमा लुगा तयार गर्न जानेपछि नै फेसनले नयाँ गति लिएको मानिन्छ। यो गतिसँगै वर्तमान एक्काइसाैँ शताब्दीमा फेसनले ठूलो फड्को मारेको पाइएको छ। यसक्रममा विभिन्न फेसन डिजाइनर तथा फेसन व्यवसायीको फेसन बजारमा राम्रो उपस्थितिले समयानुकूल फेसनको विकास भएको भनिन्छ। नयाँ युगको पहिचान तथा समय मापनको माध्यमका रूपमा रहेको फेसनले नेपालमा पनि राम्ररी नै स्थान पाएको छ।


आर्थिक अवस्था त्यति राम्रो नभए पनि बाहिरी दुनियाँमा राम्रो लुगा लगाउनुपर्दछ भन्ने नेपाली मान्यताले चाँडै स्थान जमाउन सफल भएको पाइन्छ। अरू कुरामा नेपाली पछि परे पनि नेपालीहरू फेसनको मामिलामा अग्रपङ्क्तिमा नै देखिएको छ। जसले गर्दा केही समययता किराना दोकानजस्तै फेसनेबल फेन्सी पसलदेखि महँगो लगानीका बुटिकसमेत खेल्नेहरूबीच हानथाप नै भइरहेको देखिन्छ।

त्यसको अलावा नेपाली महिला तथा पुरुषहरूमा फेसनेबल बन्ने तीव्र प्रतिस्पर्धा भइरहेको पाइन्छन्। यही प्रतिस्पर्धाले कुनै बेला दसैँको बेलामा मात्र व्यस्त बन्ने फेसन व्यवसायीहरू हाल वर्षभरि नै व्यस्त बनिरहेका छन्। युवा पुस्ताबीचको यस्ता फेसनको कुरामा होडबाजी नै हुने गर्छ। मोडल एलिना शाक्य भन्नुहुन्छ, “बजारमा कस्तो फेसन चलेको छ, त्यसमा अपडेट हुनु जरुरी छ। हाम्रो जीवनशैली यही चलेको फेसनले नै गर्छ भने आत्मबल पनि बढाउन मद्दत गर्छ।” उहाँले अरू साथीहरू सबै अहिले चलेको फेसनमा सजिएको र आफू पुराना फेसनमै रहिरह्यो भने आफ्नो आत्मविश्वास घट्ने अनुभव छ। 

यस्तै पूर्वमिस नेपाल अश्मी श्रेष्ठले फेसनको नाममा मनपरीतन्त्रले समाजमा नकारात्मक असर पार्ने उचित नभएको बताउनुहुन्छ। हाम्रो जीवनमा फेसनको महत्त्व रहेको र आफू पनि फेसनको कुरामा अघि रहे पनि समाजमा विकृति भने लिएर आउनु नहुने बताउनुहुन्छ। श्रेष्ठ भन्नुहुन्छ, “फेसन भनेको शरीर सुहाउँदो शरीर ढाक्ने माध्यम हो। यसलाई सामाजिक आँच आउने किसिमले विरूप पार्नु अवश्य पनि हुँदैन।

फेसन सभ्य हुनुपर्दछ। गुलाफजस्तै हेर्दैमा सुन्दर हुनुपर्दछ। सुसंस्कृत बन्नुपर्दछ। यसो भएमा समाज मर्यादित बन्ने गर्दछ। उक्त मर्यादाले समाजले सामाजिक हुनुको मर्यादा एवं सही गति पाउनुको मज्जा महसुस गर्न पाउँछन्। अर्कोतर्फ समयानुकूल फेसनको परम्पराले विभिन्न मौसम तथा पर्वविशेषको आकलन हुने भएबाट सोहीअनुरूप डिजाइनरबाट डिजाइन हुनु आवश्यक छ। फेसन डिजाइनर नीलम मिरचण्डानीले समाजलाई नै भड्खालोमा पार्ने गरेर फेसनेबल गर्नु राम्रो नभएको बताउनुहुन्छ। 

उहाँले मोडलहरूले इलेक्ट्रोनिक्स तथा पेपर मिडियामा छाउँदा सकभर शालीन सुन्दरतामा सोहीअनुरूपका फेसनमा छाउन जान्नुपर्ने बताउनुभयो। आफ्नो शरीरअनुसारको फेसनलाई दरिलो रूपमा प्रस्तुत गर्न सक्नुपर्दछ। यिनै रोलमोडलहरूलाई आदर्श मान्ने उपभोक्तावादी संस्कारको बिस्तारै नेपालमा विकास हुन थालेको छ।