• १३ साउन २०८१, आइतबार

भूत प्रेत भगाउन लट्ठी नाच

blog

मेलामा सगाल नाच प्रदर्शन गरिदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने 

रुकुम–पश्चिम, कात्तिक २३ गते । रुकुम पश्चिमको प्रसिद्ध धार्मिकस्थल डिग्रे साईँकुमारी मन्दिर परिसरमा लाग्ने पाँच दिने ऐतिहासिक धार्मिक मेला सम्पन्न भएको छ । हरेक वर्ष हरिबोधिनी एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म परम्परागत रूपमा लाग्दैआएको मेला सम्पन्न भएको हो । मेलामा भूत प्रेत भगाउन लठ्ठी नाच प्रदर्शन गरिएको छ ।

द्वापरयुगको अन्त्यतिरबाट सुरु भएको मानिने मेलालाई दैवी शक्तिसँग जोडेर हेर्ने गरिन्छ । मन्दिरमा पूजापाठ, दर्शन तथा बोका बलि दिएमा मनले चिताएको पुग्ने धार्मिक जनविश्वास रहेको स्थानीयको भनाइ छ । सोही विश्वासका कारण यो मेलालाई प्रसिद्ध मेलाका रूपमा लिइन्छ । 

मेलाको चर्चित तथा मुख्य आकर्षण भनेको लट्ठी अर्थात् सगाल नाचलाई मानिन्छ । मन्दिरको पूर्वतिर पर्ने साँखु गाउँका मानिसहरू मेलाको अन्तिम दिन हातमा लट्ठी लिएर मन्दिर परिसरमा नाच्ने गर्छन् । साँखु गाउँका मान्छेहरूले यो नाच नाच्नेभएकाले यस नाचलाई सगाल नाच भनिन्छ ।    

साँखु गाउँबाटै बाजागाजासहित हातमा लट्ठी बोकेर नाच्दै डिग्रे मेलास्थल मुसिकोट ५ थर्पुसम्म पुग्ने गर्छन् । मन्दिरमा पुगिसकेपछि डिग्रे साईँकुमारी भगवतीको दर्शन गर्दै मन्दिर परिसरमा गएर नाच्ने गर्छन् । मन्दिर प्राङ्गणबाट पुनः मन्दिरमा पुगी दर्शन गर्दै चाच्ने गर्छन् । 

सो ठाउँमा साईँकुमारी भगवती प्रकट भएर यस ठाउँलाई धार्मिक तथा शक्तिपिठका रूपमा स्थापित गर्न लगाएपछि त्यस ठाउँका ब्राह्मणले साईँकुमारी भगवतीको मन्दिर स्थापना गरी पूजापाठ र मेलाको सुरुवात गरेको इतिहास रहेको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष लालबहादुर केसीले बताउनुभयो । 

प्राचिनकालमा दैवीशक्तिलाई भूत प्रेतबाट डर भएकाले मन्दिरको शक्तिलाई बचाउन लट्ठी नाचको सुरुवात गरिएको किंवदन्ती छ ।