• ९ मंसिर २०८१, आइतबार

वैकुण्ठ चतुर्दशी पशुपतिमा महास्नान

blog

काठमाडौँ, कात्तिक २१ गते । मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नान सोमबार हुने भएको छ। मल्लकालीन समयमा आफ्नो जायजेथा परोपकार तथा धर्मकर्ममा समर्पण गर्ने दाताका रूपमा मकै सुब्बाको इतिहासमा नाम छ। यसै मौसममा धर्तीमा उब्जेका सबै अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा महास्नान गर्ने यो पल्टको पालो मकै सुब्बाका सन्तति बत्तीसपुतली निवासी राजेश्वर जोशीको परेको छ।

पशुपति मन्दिरपरिसरको दक्षिणतर्फ दरबारका एक समयका भारदारको सालिक रहेको स्थानमा मकै सुब्बाको पनि सालिक छ तर यी सुब्बाको नाम र दर्जा भने प्रस्ट छैन। तत्कालीन राजा रणबहादुर शाहले भव्यतासाथ महास्नान गर्ने सुब्बाको ईष्र्या गर्दै सबै पूर्णिमाका दिन यस्तै महास्नान चलाएका हुन् भनिन्छ। मकै सुब्बाका सन्तति राजेश्वर जोशीले भन्नुभयो, “हामी हरेक वर्ष वैकुण्ठ चतुर्दशीका दिन पशुपतिमा महास्नान गर्छौं।” एक वर्ष घट्टेकुलोबाट र अर्को वर्ष बत्तीसपुतलीबाट महास्नानका लागि पूजा सामग्री र सामानहरू लगिन्छ। उहाँका अनुसार पशुपतिका शिवलिङ्गमध्ये दक्षिणतर्फका महादेव अलि रिसाहा मानिन्छ। त्यसैले महास्नान गराउन जाँदा दक्षिण ढोकाबाट गई पूजाका सरसामान मूल पुजारीलाई दिइन्छ। 

१० देखि १२ लाख रुपियाँसम्म लाग्ने महास्नानमा विभिन्न प्रकारका रोटी र लाखामरी चढाइन्छ। यस्तै ५० माना मह, ३३ किलो घ्यु, ३३ किलो सक्खर, ५० लिटर  दूध र ३३ लिटर दही मिलाएर पञ्चामृतले स्नान गराइन्छ। 


यो महास्नान कहिल्यै पनि रोक्न नहुने जानकारी दिँदै जोशीले महास्नान चलाउने घरमा कसैको मृत्यु वा सूतक परे पनि नरोकिने प्रस्ट पार्नुभयो। पञ्चामृतलाई २५/२५ वटा हाँडीमा विभाजन गरी महास्नानका लागि लगिने पनि उहाँले बताउनुभयो।  पशुपति मन्दिरबाट बाजा, झा बाजे (पुजारी) तथा आशा गुर्जा दण्डा पठाएपछि महास्नानका लागि घरदेखि पूजा सामग्री, फूल, हाँडी बोकेर पशुपति मन्दिरसम्म हिँडेर जानुपर्ने नियम रहेको जोशीले बताउनुभयो। पशुपति गुठी गोश्वारामा मकै सुब्बाको महास्नान भन्नेसम्म अभिलेख रहेको छ। पशुपतिलाई महास्नानपश्चात् महाभोग चढाइन्छ। महाभोग चढाउने क्रममा दक्षिणपट्टि रहेको ठूलो तामाको पातामा भातको थुप्रो लगाएर राखिन्छ। भातको थुप्रोवरिपरि दाल खन्याइन्छ। तरकारी पनि घुमाएरै राखिन्छ। अनि विभिन्न किसिमका रोटी, मिठाई राखिन्छ। रोटी, मिठाई राख्दा पनि कुन–कुन देवताका प्रतीक हो भन्ने थाहा हुन्छ। 

जपमाला र पुस्तकका रूपमा रोटीहरू राखिएको छ भने ब्रह्माको प्रतीक भनेर बुझिन्छ। शङ्ख, चक्र, गदा, पद्मका रूपमा रोटी राखिएको छ भने विष्णुको प्रतीक मानिन्छ। त्यस्तै त्रिशूल र डमरु आकारमा रोटी राखिएको छ भने महेश्वरको प्रतीक भनेर थाहा पाउन सकिन्छ। यसरी ब्रह्मा, विष्णु, महेश्वरको रूप पशुपति महादेव नै हुन् भनी थाहा पाइन्छ । मूल भट्ट देवालयमा बसी विधिपूर्वक पूजा गरिन्छ।

यसै सन्दर्भमा आचाजुद्वारा तान्त्रिक विधिअनुसार कीर्तिमुख भैरवको पूजा गरिन्छ। अनि पशुपतिको अघोर रूपलाई महाभोगमा पशुका (धागो) डुबाइन्छ। कीर्तिमुख भैरवलाई बोका बलि दिएर पूजा गरिन्छ। यसरी पूजा गरिसकेपछि तान्त्रिक महास्नानको विधि सिकाइन्छ।