• १० मंसिर २०८१, सोमबार

सानो गाउँको कथा ‘कान्तारा’

blog

काठमाडौँ, कात्तिक १३ गते । होम्बाले फिल्म्सको अर्को प्रस्तुति हो ‘कान्तारा’ । जुन चलचित्र वास्तवमा कन्नड भाषामा बनेको भए तापनि हाल हिन्दी डबसहित अघिल्लो हप्ता प्रदर्शनमा आएको छ। लोककथामा आधारित ‘कान्तारा’ चलचित्रले अहिले विश्वकै सिनेमाघरहरूमा प्रशंसा बटुलिरहेको छ। 

पूरै चलचित्रको कथा लोककथामा सुन्दा जति अनुभूति हुन्छ, त्यही सम्मोहन यस चलचित्रले दिन सफल भएको छ। निर्देशक ऋषभ सेट्टीले चलचित्रभित्र एउटा भिन्न संसार उत्पत्ति गर्नुभएको छ जसमा दर्शक भित्र छिर्छन् र त्यसै परिवेशमा रम्न बाध्य हुन्छन्। यसले जो–कोहीलाई पनि आश्चर्यचकित पार्न सफल भएको छ। कान्तारा हेर्दा कुनै पनि समय बेकार भयो भन्ने हुँदैन र चलचित्रभित्रको संसारलाई हेरिरहन मन लाग्छ। चलचित्रले जङ्गलको बीचमा रहेको एउटा सानो गाउँको कथा बताउँछ। ‘कान्तारा’को अर्थ अग्लो जङ्गल हो जसमा जङ्गलमा बस्ने मान्छेहरूको समृद्धि दिने देवताको मिथकउपर जनविश्वास रहेको हुन्छ। यसमा देवता ‘भूत कोला’को वार्षिक अनुष्ठान कथाको मुख्य तत्व हो। 

यहाँ भन्ने गरिन्छ कि शान्तिको खोजीमा भट्किरहेका राजाले देवतालाई ढुङ्गाका रूपमा जङ्गलमा भेट्टाए र त्यहीमाथि आफ्नो सर्त राख्न थाले। उनको सर्त यो हुन्छ कि भूमिको भाग गाउँलेहरूसँग रहन्छ र राजाले शान्ति पाउँछन्। यो अवस्थाको नियम जसले तोड्छ त्यसको ठूलो विनाश हुन्छ। चलचित्रको मुख्य पात्र शिव जसको परिवारले पुस्तौँदेखि जङ्गलका देवताको पूजा गर्दै आएको छ तर शिव एक पूर्णतया मनमोहक र भावुक केटा हुन् जो आफ्नै रमाइलो संसारमा बाँच्न रुचाउँछन्। ‘कान्तारा’को पहिलो ३० मिनेट ‘कम्बाला’ (भैँसी दौड)को दृश्यलाई रोचक ढङ्गबाट प्रस्तुत गरिएको छ जसले यो सङ्केत गर्छ कि शिव धेरै नै बहादुर छन्। चलचित्रको पहिलो भागमा शिव, उनका साथीहरू, वनसँग गाउँलेको सम्बन्धबारे देखाउन खोजिएको छ। 

कथामा सरकारका तर्फबाट वनको रक्षक मुरली (किशोर) वन अधिकृत हुन्छन्। उनका अनुसार वनमा गाउँलेको हस्तक्षेपले प्रकृतिलाई हानि पु¥याएको छ। यही अवस्थामा जङ्गललाई आफ्नो खेलमैदान मान्ने शिवसँग पनि उनी क्रोधित हुन्छन्। अर्कोतर्फ चलचित्रको कथामा राजाका वर्तमान वंशज देवेन्द्र सुतार (अच्युत कुमार)को पनि महत्वपूर्ण भूमिका छ। 

चलचित्रभित्र यो प्रश्न आउँछ कि गाउँलेको अब के हुन्छ ? के उनीहरूको जग्गा सरकारको हातमा जान्छ ? यो जमानामा जमिनका कारण घाँटी काट्न तयार हुँदा के राजाको वंशजले आफ्ना पुर्खाहरूले मानेको देवताको सर्त पूरा गर्नेछन् ? शिव र उहाँका पुर्खाहरूको वनका देवतासँगको सम्बन्धले सम्पूर्ण खेललाई कसरी असर गर्छ ? चलचित्र ‘कान्तारा’भित्र यी सबै कुराको जवाफ भेटिन्छ। 

प्राविधिक रूपमा चलचित्र निकै राम्रो बनेको छ। अरविन्द सेट्टीको छायाङ्कन निकै बलियो छ। चलचित्रमा ‘कम्बाला’को खेलदेखि भूत कोलासम्म र जङ्गलको सम्पूर्ण दृश्यलाई नयाँ ढङ्गबाट प्रस्तुत गरिएको छ।