• १० मंसिर २०८१, सोमबार

चलचित्र समीक्षा

सिकारीको कथा ‘दुई नम्बरी’

blog

काठमाडौँ, असोज २७ गते । दुई मिल्ने साथी छिरिङ (दयाहाङ राई), हिमाल (सौगात मल्ल) जो सधैँ जनावरको सिकार गर्न रुचाउनुहुन्छ। यही दुई सिकारीको कथा हो– चलचित्र ‘दुई नम्बरी’ । दुवै जङ्गली जनावर मारेर बेच्छन् र आ–आफ्नो जीविकोपार्जन चलाइरहेका हुन्छन्। चलचित्रमा छिरिङ हिमाललाई बन्दुक चलाउन सिकाउने गुरु पनि हुनुहुन्छ। पोखराको ल्वाङ गाउँमा छायाङ्कन गरिएको चलचित्रमा एउटा प्लेन दुर्घटनालाई चलत्रिचको मुख्य विषय बनाइएको छ। त्यही दुर्घटनालाई आधार बनाएर भुटानी नागरिक उगेन छोदेन चलचित्रमा देखिनुहुन्छ। यता पहिलाबाटै हिमालको प्रेमिकाका रूपमा बाली (उपासना सिंह ठकुरी)लाई देखाइएको छ। 

चलचित्रको कथा वन्यजन्तुको गैरकानुनी सिकारमा आधारित छ। चलचित्रको मध्यतिर आएपछि छिरिङ वन्यजन्तु बचाऊ अभियानमा लाग्नुहुन्छ भने यता हिमाललाई पैसाको आवश्यकताले गर्दा उहाँ आफ्नो पेसा छाड्न सक्नुहुँदैन। हिमालको बुवाको काम पनि सिकारीकै हुन्छ। छिरिङले हिमाललाई गैरकानुनी सिकार नगर्न कसरी सहायता गर्नुहुन्छ भन्ने कुरा पनि चलचित्रको मुख्य विषय हो। पैसा आवश्यकताको लोभले हिमालले के–कस्ता घटनाको सामना गर्नुपर्छ भन्ने कुरा पनि चलचित्रमा छ। 

एकातिर हिमाल र छिरिङको साथीत्व अर्कोतिर हिमालको आफ्नो प्रेमिकाको आवश्यकता परिपूर्ति गर्ने अठोट। वन्यजन्तु नाशले हिमालले आफ्नो प्राणभन्दा प्यारो भाइसमेत गुमाउनुपर्छ। यही कुराको सम्मिश्रण हो– चलचित्र दुई नम्बरी। ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’जस्तो सामाजिक कथावस्तुमा चलचित्र बनाउन माहिर निर्देशक दीपेन्द्र लामाले यस पटक पनि चलचित्र ‘दुई नम्बरी’बाट आफ्नो निर्देशकीय क्षमतामा बाजी मार्नुभएको छ। उहाँले चलचित्रमा वन्यजन्तुसम्बन्धी राम्रो विषयवस्तु उठान गर्नुभएको छ। 

चलचित्रमा कलाकार दयाहाङ राईको अभिनयमा खासै नौलोपन देखिँदैन। उहाँ पुरानै ढर्राको अभिनयबाट फुत्किन सक्नुभएको छैन। सौगात मल्लले आफ्नो अभिनय क्षमता निखार्दै लैजानुभएको छ। उहाँको चलचित्रमा बोल्ने शैली दर्शकले अवश्यै रुचाउँछन्। कलाकार बुद्धि तामाङ नै चलचित्रको मुख्य जड हुनुहुन्छ। मानिसलाई उक्साउने र बिगार्ने भूमिकामा तामाङलाई एकदमै सुहाएको छ। 

नायिका उपासना सिंह ठकुरी र भुटानी नागरिक उगेन छोदेनको अभिनय ठिकठाक छ। प्रहरीको भूमिकामा देखिनुभएकी सुष्मा निरौलाको अभिनय राम्रो छ। उहाँको भूमिकाले पनि चलचित्रको कथामा धेरै कुरा उजागर गर्छ।  समग्रमा चलचित्रले वन्यजस्तु मास्नुहुँदैन भन्ने सन्देश दिन खोजेको छ। चलचित्र हेरिसकेपछि यस्तो लाग्छ कि निर्देशकले एकातर्फ चलचित्रको कथा बेजोड बनाउन खोज्नुभएको छ भने अर्कोतर्फ कलाकारका भूमिकामा खासै ध्यान दिन खोज्नु नभएको हो कि जस्तो महसुस हुन्छ।