• १० मंसिर २०८१, सोमबार

सासू–बुहारीको कथा चलचित्र ‘आमा’

blog

काठमाडौँ, ८ गते । ‘आमा’ शब्दले जोकोहीको मनमा पनि आत्मीयता जगाउँछ। आमालाई आदर गर्नु भनेको भगवान्लाई पुजेसरह हो। समाज एउटा पाठशाला हो। समाजमा विद्यमान सासू र बुहारीबीचको मनोवैज्ञानिक अन्तरद्वन्द्व, भ्रम र यथार्थको सम्मिश्रण हो छोटो चलचित्र, ‘आमा’ । आमा सासू र बुहारीबीचको द्वन्द्व हो। सानो परिवार जो खुसियाली जीवन बाँचिरहेछ तर अचानक त्यो परिवारभित्र कलह तब आउँछ जब बुहारीले आफ्नो सासूलाई अनेकन लाञ्छना लगाउन थाल्छिन्। चलचित्र ‘आमा’को कथा पनि यही वरिपरि घुमेको छ।

बुहारी निर्जलाको सपना एउटा गाडी किन्ने छ तर घरको ऋणले गर्दा उनको श्रीमान् घनश्याम सधैँ उनलाई पहिला घरको ऋण तिरौँ, त्यसपछि सोचौँला भनेर टारिरहेका हुन्छन्। यता आमासँग भएको केही जग्गा बेचेर नै भए पनि गाडी किन्न जोडतोड गर्छिन् निर्जला तर उनका श्रीमान् भने यो कुरामा सहमत हुँदैनन्। यसपछि घरभित्र सुरु हुन्छ बुहारीले सासूलाई गर्ने निरीह व्यवहार। बुहारी आमालाई घरमा राख्न चाहन्नन् तर छोरा भने आमालाई छोड्न चाहँदैनन्। चलचित्रमा नाति र हजुरआमाबीचको सम्बन्धलाई पनि उजागर गर्न खोजिएको छ। हजुरआमाको नातिप्रतिको मायामोह कस्तो हुनुपर्छ भन्ने कुरा पनि चलचित्रमा समेट्न खोजिएको छ। 

चलचित्रमा दुई आमाबीचको अन्तरद्वन्द्वलाई देखाइएको छ। घरको बुहारी पनि एउटा बच्चाकी आमा हुन् र सासू पनि आमा नै हुन्। बुहारीले सासूलाई गर्ने व्यवहारले घरमा बच्चाको दिमागमा कस्तो मनोविज्ञानको प्रभाव पर्छ भन्ने कुरालाई पनि चलचित्रमा समावेश गरिएको छ। श्रीमान् अफिसबाट थकित भएर घर फर्किन्छन् र घर फर्कनेबित्तिकै उसले सधैँ श्रीमतीको कचकच सुन्नुपर्छ। श्रीमान्को तनाव र समस्यालाई पनि चलचित्रमा चित्रण गरिएको छ। एउटी आमाले आफ्नो छोराको परिवारलाई जोगाउन के कस्तो त्याग गर्छिन् भन्ने कुरालाई पनि चलचित्रमा भिन्न ढङ्गबाट प्रस्तुत गरिएको छ। आफ्नो सुखदुःख लुकाएर उनी कसरी वृद्धाश्रममा बस्न पुग्छिन् ? तर, यो प्रश्न जवाफ पनि चलचित्र वेदनादायी तरिकाले देखाएको छ। सबैको घरमा सासू–बुहारीबीच झगडा हुँदैन, कसै–कसैकोमा मात्र यस्तो स्थिति आउँछ, यी सबै कुराको मिश्रण हो चलचित्र ‘आमा’ । 

आमाको कथाले धेरैको मुहारमा आँसु ल्याउँछ। निर्देशकीय हिसाबले हेर्ने हो भने निर्देशक हिमाल उप्रेतीले साधारण कथामा राम्रो विषय उठान गरेका छन्। निर्देशकले चलचित्रमा समाजमा सधैँ भइरहने कथालाई प्रस्ट्याउन खोजेका छन्। लेखक भूपेन्द्रकुमार खड्काको लेखकीय पक्ष अब्बल छ। चलचित्रमा खोट देखाउनुपर्ने ठाउँ खासै भेटिँदैन। आमाको भूमिकामा लक्ष्मी गिरीलाई सुहाएको छ। उनको अभिनय बेजोड नै छ। चलचित्र उनीभित्र नै घुमेको छ। 

कलाकार घनश्याम गिरी र निरजला अधिकारीको भूमिकालाई पनि हामीले बिर्सन हुँदैन। बालकलाकार अभि घोरासैनीको अभिनय उत्कृष्ट छ। अन्य कलाकार किशोर बुढाथोकी, कञ्चन सापकोटा, अनिता दङ्गाल, मैया सापकोटा, गङ्गाप्रसाद घिमिरेलाई पनि हामीले भुल्नुहुँदैन।