• १६ चैत २०८०, शुक्रबार

भिजिट भिसा बन्यो मानव तस्करीको द्वार

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ९ गते मध्यरात जजिरा विमानबाट भिजिट भिसामा दुबई जान लागेकी झापाकी ३१ वर्षीया सम्झना लिम्बू (नाम परिवर्तन) लाई प्रहरीले विमानस्थलबाट फर्कायो । हातमा पासपोर्ट, टिकट, बैङ्किङ कागजसहित २५० अमेरिकी डलर बोकेर विदेश उड्न लागेकी सम्झनासहित ३९ जना महिला भिजिट भिसाको आवरणमा इराक पु-याइँदै थिए । रोजगारको प्रलोभन देखाएर नेपाली युवतीलाई खाडी मुलुक पु-याउने र यौनजन्य क्रियाकलापमा लगाउनका लागि बेचबिखन हुने गरेको छ । 

मकवानपुरकी २७ वर्षिया सुनिता परियार (नाम परिवर्तन) भिजिट भिसामा कुवेत हुँदै दुबई जाने विमानस्थल पुग्छिन् । प्रहरीले सोधपुछ गर्दा सुनिताले आफू जान लागेको खाडी मुलुकको नामसमेत बताउन सकिनन् । 

प्रहरीले विमान कम्पनीबाट उनको उडान तालिका मगायो । कुवेतबाट दुबई जानुपर्ने सुनिताको दुबईतर्फको टिकट अन्तिम समयमा रद्ध गरेको पाइयो । मानव बेचबिखनमा संलग्न सङ्गठित गिरोहले सुनितालाई दुबई जाने भनेर सिरिया पु-याउन लागेको देखियो । 

यी केही प्रतिनिधि घटना मात्र हुन्, नक्कली कागजपत्र तयार गरी भिजिट भिसाको आवरणमा मानव तस्करको सङ्गठित गिरोहले नेपाली महिलालाई खाडी मुलुकमा पु¥याएर पशुसरह खुलेआम बिक्री वितरण गर्ने गरेको पाइएको छ । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट नै दैनिक सयौँ युवा विभिन्न प्रलोभनमा परी खाडी मुलुक जाने र उतै अलपत्र पर्ने गरेका घटना बढ्न थालेपछि त्रिवि विमानस्थल सुरक्षा कार्यालयको प्रहरीले विशेष अपरेसन सुरु ग-यो ।

यही भदौ ८ गतेदेखि विमानस्थल प्रहरीले भिजिट भिसामा खाडी मुलुक जानेमाथि कडाइ सुरु गरेको छ । प्रहरीको पछिल्लो विशेष अपरेसनमा ३८८ जना विमानस्थलबाट फर्काइएका छन् । जसमध्ये १५५ जना महिला इराक, इरान, साउदी अरब, कुवेतमा पु¥याएर यौनजन्य क्रियाकलापका लागि बेचबिखन गर्न लागेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले समेत यसका पुष्टि गरेको छ । 

नेपालबाट महिला तथा बालबालिकालाई विभिन्न प्रलोभनमा पारी तथा झुक्याएर भारत पु¥याउने र वेश्यालय (कोठी) हरूमा बेचबिखन हुने गरेको थियो । महिला तथा किशोरीहरूलाई विवाह गरेको नाटक गर्ने र भारत लगेर बेचबिखन गर्ने गरेका घटना नियन्त्रण र निगरानी गर्न चुनौतीपूर्ण थियो । आफन्त भेट्ने भन्दै भारत पु¥याइएका कतिपय महिला वेश्यालयमा बिक्री गरिएको थियो । 

यस्ता घटनामा नेपालीकै संलग्नता बढी हुने गरेको थियो । भारतका कतिपय वेश्यालय नेपाली महिलाबाट नै सञ्चालन हुने र उनीहरूको माध्यमबाट दुर्गमका महिला तथा किशोरीहरूलाई सम्पर्क गरी विभिन्न प्रलोभन देखाएर भारतका कोठीसम्म पु-याउने गरेको पाइएको थियो । 

प्रलोभन देखाएर परिबन्दमा पारी भारतका वेश्यालयमा पु-याइएका तथा पु-याउन लागिएको अवस्थामा ५० हजारभन्दा बढी महिला तथा किशोरीलाई माइती नेपालले उद्धार गरी नेपाल फर्काएको छ ।  माइती नेपालकै तथ्याङ्कअनुसार नेपालबाट प्रत्येक वर्ष २० हजार महिला तथा बालिबालिका बेचबिखनमा पर्ने गरेका छन् । करिब तीन हजार जनालाई मात्र उद्धार गरी पुनस्र्थापना गरिएको छ । 

मानव तस्करमा सङ्गठित गिरोह 

नेपालबाट किशोरी तथा महिलाहरू भारतमा मात्र होइन, खाडी मुलुकमा पनि अहिले सङ्गठित रूपमै बेचबिखन हुन थालेको छ । अन्तर्राष्ट्रिय विमानस्थबाट नै मानव तस्करीमा सङ्गठित गिरोह सक्रिय भएको र मानव तस्करीको गन्तव्य र शैलीसमेत परिवर्तन भएको छ । गिरोहले राज्यको आँखा छलेर एक/दुई जना होइन, दैनिक सयाैँ महिलालाई खाडी मुलुक पु-याएर खुलेआम बेचबिखन गर्न थालेको छ । गिरोहले अध्यागमन र विमान कम्पनीका कर्मचारीलाई प्रभावमा पारेको देखिन्छ ।

विमानस्थलबाट फर्काइएकी झापाकी सम्झना लिम्बूका सम्पूर्ण कागजपत्र झापाकै पुष्प बिकले तयार गरेको खुलेको छ । बिकले लिम्बूसँग डेढ लाख रुपियाँ लिएर सम्पूर्ण कागजपत्र तयार गरी बुझाएपछि सम्पर्कविहीन बने । मुगुकी युवती रमिता बस्नेत (नाम परिवर्तन) को डबल भन्ने दलालले पासपोर्टसहित सम्पूर्ण कागजपत्र तयार गरी अध्यागमनको विमानस्थलको बी–२ काउन्टरमा पठाएर मोबाइल अफ गरे । झापा र मुगुका यी दुई युवतीको बैङ्किङ कारोबारदेखि अन्य कागजपत्रसमेत नक्कली र हुबहु मिल्दो छ ।

दुबई पुगेका ३९ हजार ६३० जना, कतार पुगेका एक हजार ३८६ जना, साउदी अरब एक हजार ८१ जना, ओमन ७९६ जना, कुवेत ५२८ तथा बहराइन पुगेका ३०४ जना मानव तस्करीमा परेको हुनसक्ने आकलन गरिएको छ । दुबई, इरान, इराक, सिरिया, कुवेतमा अलपत्र परेका घटनाबाट यसको पुष्टि हुन्छ । 

धादिङकी एक युवतीलाई दुबईमा टुर एन्ड ट्राभल्स सञ्चालन गर्दै आएका पोखराका एक व्यक्तिले बनावटी कागजमा नक्कली बाबुको स्पोन्सर देखाएर दुबई पु¥याउने चाँजोपाँजो मिलाएको पनि पाइयो । 

यी घटना बाहिर आएपछि गृह मन्त्रालयले अध्यागमनका प्रमुख नै परिवर्तन गरी भिजिट भिसामा कडाइ सुरु गरेको छ । भिजिट भिसाको दुरुपयोग गरी खाडी मुलुक पुगेका अधिकांश अलपत्र परेका छन् । कतिपय खाडी मुलुक पुगेका युवा घरेलु कामदारको रूपमा बन्धक बन्ने गरेका छन् । भिजिट भिसाको दुरुपयोग गरी खुलेआम मानव तस्करी भएको गुनासोपछि सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लागायो । सत्यतथ्य पत्ता लगाई उक्त समस्या समाधान गर्न कार्यदल पनि बन्यो । कार्यदलले खाडी मुलुक पुगेर अध्ययन गरी प्रतिवेदन बुझायो । सोही आधारमा अध्यागमन विभागले कार्यविधि तयार गरी भिजिट भिसामा खाडी मुलुक जानेका लागि मापदण्ड बनायो, जसमा वार्षिक न्यूनतम आय छ लाख रुपियाँ आम्दानी, कम्तीमा तीन लाख रुपियाँ बैङ्क ब्यालेन्स भएको तथा मासिक ५० हजार आम्दानी भएकाले मात्र खाडी मुलुक जाने पाउने उल्लेख गरियो । अन्य मुलुक घुमेको, खाडी मुलुकमा आफन्त वा परिवार भएको, जाने देशको भाषाको ज्ञान भएकाले मात्र अध्यागमनको अनुमति पाउने गरी १८ बँुदे कार्यविधि नै जारी भयो । विडम्बना उक्त कार्यविधि लागू भएको पाँच महिनामा अध्यागमनको स्वीकृतिमा ५३ हजार खाडी मुलुक पुगे । उनीहरूले पेस गरेका कागजपत्र अधिकांश नक्कली रहेको पाइयो । यही माध्यमबाट दुबई पुगेका ६० महिला र ३० पुरुष युएईको दुर्गम मरुभूमिमा अलपत्र परेका छन् । भिजिट भिसाको आवरणमा मानव तस्करको फन्दामा परी इराक र इरानमा एक सयभन्दा बढी अलपत्र परेका छन् । द्वन्द्वग्रस्त मुलुक सिरियामा नेपाली महिलालाई बन्धक बनाइएको पनि पाइएको छ । 

माइती नेपालकी संस्थापक अनुराधा कोइराला खुला सिमानाबाट भारतको बाटो हुँदै नेपालका महिला तथा किशोरीहरू मानव तस्करीमा पर्ने गरेकोमा पछिल्लो समय त्रिवि विमानस्थलबाट खुलेआम खाडी मुलुक पु¥याएर बेचबिखनमा पर्नु चिन्ताको विषय रहेको बताउनु हुन्छ ।

कोइरालाका अनुसार खाडी मुलुक पु-याइएका नेपाली महिलाको खुलेआम मानव तस्करी हुनु डरलाग्दो विषय भएको र यस्ता मुलुकबाट बेचबिखनमा परेका महिलालाई उद्धार तथा स्वदेश फिर्ता चुनौतीपूर्ण हुन्छ । 

यौन क्रियाकलाप र मानवअङ्गको तस्करी 

खाडी मुलुक पु-याइएका महिलालाई खुलेआम बिक्री गर्ने गरेको पाइएको छ । महिलाहरू बेचबिखनमा पर्ने गरेका घटना बाहिर आएपछि अवस्था बुझ्न संसदीय टोलीले नेपालीहरू रहेका विभिन्न खाडी मुलुकको भ्रमण गरेको थियो ।  

अनुगमनका क्रममा साउदी अरबमा पु-याइएका नेपाली महिला खुलेआम बेचबिखन हुने गरेको पाइएको थियो । प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक समितिका सदस्य तथा सांसद दुर्गा श्रेष्ठले भिजिट भिसाको आवरणमा दुबई पु-याइएका युवतीलाई साउदी अरब, इराक, इरानलगायत मुलुकमा पु-याएर बोलकबोलमा बिक्री हुने गरेको समितिलाई जानकारी गराउनु भएको थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी खाडी मुलुक भ्रमणका क्रममा देखेको दृश्य कहाली लाग्दो र ओमनमा त नेपाली युवती खुला रूपमा बिक्री हुने गरेको आफ्नै आँखाले देखेको बताउनु हुन्छ । 

केसीले यस्ता घटनाले आफू अत्यन्तै दुःखी र मुलुकप्रति नै हीनाताबोध भएको अनुभव सुनाउनुभयो । उहाँले बेचबिखनमा पर्ने महिलाका कागजपत्र पासपोर्ट खरिदकर्ताले नियन्त्रणमा लिने गरेका कारण दूतावासको सम्पर्कमा आएका पीडितलाई समेत नेपाल फर्काउन नसक्ने अवस्था रहेको दृश्य आफूले देखेको अनुभव सुनाउँदा सभा हल नै स्तब्ध भएको थियो ।परराष्ट्र मन्त्रालयअन्तर्गत खाडी मुलुकलगायत ४० देशमा दूतावास तथा नियोग छन् । ती निकायमार्फत न प्रभावकारी सूचना सम्प्रेषण हुन सकेको छ, न बेचबिखनमा परेकाहरूको समयमै उद्धार हुन सकेको छ ।

नेपालबाट हराएका बालबालिकालाई भारत पु-याइ मानव अङ्ग निकाल्ने र बेचबिखन गर्ने गरेको समेत पाइएको छ । गत वर्ष वैशाखमा नुवाकोट शिवपुरीका एक युवकलाई झुक्याएर भारत लगी बेहोस बनाएर मिर्गौला निकाली बिक्री गरेको पाइएको छ ।  नुवाकोट शिवपुरी गाउँपालिका–७ का बादरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार र सुवास नेपालीले ती युवकलाई भारतमा ५० हजार तलबमा मःम पसलमा काम लगाइदिने भन्दै काँकडभिट्टा हुँदै कलकत्ता पु-याएका थिए । बेहोस बनाई कलकत्ताको मुकुन्दपुरस्थित रविन्द्रनाथ टैगोर अस्पतालमा पु-याइ छ लाख रुपियाँमा मिर्गाैला बिक्री गरिएको थियो । पीडितले गत साउन ७ गते मानव बेचबिखन ब्युरोमा दिएको उजुरीपछि पक्राउ परेका चारै जना गत भदौ १९ गते पुर्पक्षका लागि जेल चलान भएका छन् ।

मानव तस्करीको अवस्था भयावह

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो तथा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाका अनुसार मानव तस्करीको अवस्था भयावह रूपमा वृद्धि हुँदै गएको छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार गत फागुन २७ गतेदेखि भदौ १० गतेसम्म भिजिट भिसामा खाडी मुलुक गएका ५३ हजार ५४ जनामध्ये अधिकांश फिर्ता भएका छैनन् । 

यो अवधिमा दुबई पुगेका ३९ हजार ६३० जना, कतार पुगेका एक हजार ३८६ जना, साउदी अरब एक हजार ८१ जना, ओमन ७९६ जना, कुवेत ५२८ तथा बहराइन पुगेका ३०४ जना मानव तस्करीमा परेको हुनसक्ने आकलन गरिएको छ । दुबई, इरान, इराक, सिरिया, कुवेतमा अलपत्र परेका घटनाबाट यसको पुष्टि हुन्छ । ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक अनुराग द्विवेदी खाडी मुलुक पुगेका युवतीलाई दलालहरूले यौनजन्य क्रियाकलापसँगै घरायसी कामका लागि बन्धक बनाउने गरेको पाइएको बताउनु हुन्छ । भिजिट भिसामा जाने अधिकांश महिलाको कागजपत्र नक्कली हुनु र रात्रिकालीन उडानमार्फत दैनिक सयौँ सङ्ख्यामा पठाउँदा सङ्गठित गिरोहको संलग्नता रहेको अनुमान गरिएको छ । 

बालिकालाई वयष्क बनाउन सुई 

२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पु¥याइएको थियो । कक्षा ४ मा पढ्दै गरेकी ११ वर्षकी टिना तामाङ र ५ कक्षाकी १३ वर्षकी रिना तामाङ (दुवैको नाम परिवर्तन) लाई सुईबाट वयस्क बनाई देहव्यापारमा लगाइएको खुलेको छ ।

कपनको आकाशे धारास्थित एक खाजा घरमा बोलाएर नुवाकोट दुप्चेश्वर–५ की २६ वर्षीया अनिशा तामाङ 

‘फूलमाया’ ले कोकाकोलामा बोहोस हुने औषधि खुवाएर दिदी बहिनीलाई भारत पु¥याएकी थिइन् । भारतको कोठीमा पु¥याएर तीन–तीन लाखमा बिक्री गरिएका नाबालिका दिदी बहिनीलाई वयस्क देखाउन ‘ग्रोथ हर्मोन’ र ‘एस्ट्रोजोन हर्मोन’ युक्त सुई दिइएको थियो । यो हर्मोनले बालिकाहरूको यौनाङ्ग, छाती र अन्य प्रजनन अङ्गको छिटो विकास हुन्छ । बेचबिखनमा परेकी बालिका टिनालाई उद्धार गरी नेपाल ल्याइएको छ । दिदीको अवस्था अज्ञात छ । काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ परेकी फूलमायालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक तथा बालरोग विशेषज्ञ डा.आशा सिंहका अनुसार यस्ता हर्मोन प्रयोग भएका बालबालिका दीर्घ रोगी भई अल्पायुमै मृत्यु हुने गरेको पाइएको छ । 

आर्थिक अवस्था कमजोर बढी पीडित 

आर्थिक अवस्था कमजोर भएका बालबालिका तथा किशोरीहरू बढी बेचबिखनमा पर्ने गरेका छन् । विभिन्न कारणबाट सानै उमेरमा अभिभावक गुमाएका बालबालिका बेचबिखनमा पर्ने गरेको पाइएको छ । माइती नेपालले उद्धार गरी संरक्षणमा राखेका र पुनस्र्थापना गरेका अधिकांश कमजोर आर्थिक अवस्थाका, स्कुलको शिक्षा लिन नपाएका र अभिभावक गुमाएका रहेका छन् ।गरिबी, अशिक्षा र अभिभावक गुमाएका बालबालिका, किशोरी तथा महिला रोजगारीका लागि सहरमा आउने गर्छन् । सजिलै काम पाउने हुनाले खाजा घर, डान्सबार रात्रिकालीन व्यवसाय, क्लब तथा क्याबिन रेस्टुरेन्टमा काम गर्न थाल्छन् । यी असुरक्षित स्थानमा काम गर्ने क्रममा महिला, किशोरी यौन शोषणमा पर्ने गर्छन् । मानव तस्करको गिरोहले उनीहरूलाई आकर्षक जागिरको प्रलोभन देखाएर बेचबिखन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्का माइती नेपालले उद्धार गरेका अधिकांश किशोरी र महिला आर्थिक अवस्था कमजोर रहेका र शिक्षाबाट वञ्चित रहेका बताउनु हुन्छ ।गरिबीका कारण जीविकोपार्जन गर्न समस्या भएका बालबालिका विभिन्न माध्यमबाट सहरमा प्रवेश गर्छन् । कतिपय अभिभावकविहीन बालबालिका संरक्षणको नाममा सहरमा ल्याउने गरिएको छ । परिवारले सोधखोज नगर्ने र स्थानीय निकायले समेत यस्ता बालबालिकाको अवस्थाबारे खास चासो नदिने गरेका कारण गरिबीको चपेटामा परेका बालबालिका सजिलै बेचबिखनमा पर्ने गरेका छन् ।

कानुनी जटिलता 

मानव बेचबिखनमा संलग्नलाई कानुनी दायरामा ल्याउन आफैँमा चुनौतीपूर्ण छ । मानव तस्करीमा संलग्न गिरोहले अध्यागमनका कर्मचारीदेखि कानुन कार्यान्वयन गर्ने निकायका व्यक्तिसँगको अदृश्य मिलेमतो हुने गरेको पाइएको छ । सङ्गठित गिरोह र मानव बेचबिखनमा संलग्न व्यक्तिको पहिचान गर्नु नै चुनौतीपूर्ण छ । पहिचान भएर मात्र कानुनी कारबाही अघि बढ्न सक्दैन, जबसम्म पीडितले किटानी जाहेरी र उजुरी दिँदैनन् । 

मानव बेचबिखनमा परेकाहरूलाई गिरोहबाट हुने डर त्रास र पीडितहरूलाई राज्यको तर्फबाट सुरक्षा र पुनस्र्थापनको ग्यारेन्टी हुन नसक्दा कतिपय पीडितले अदालतमा पुगेपछि बयान परिवर्तन गर्ने गरेको पाइएको छ । 

महान्याधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता लोकराज पराजुलीका अनुसार मानव बेचबिखनका मुद्दा अदालत पुगेपछि पीडितले बयान परिवर्तन गर्ने घटना वृद्धि हुँदै गएको बताउनु हुन्छ जसले बेचबिखनमा संलग्नलाई थप बल पुग्ने गरेको छ । यसलाई निरुत्साहित गर्न पीडितको सुरक्षाको ग्यारेन्टी राज्यले लिनुपर्छ । प्रविधिको विकाससँग परिवर्तन भइरहेका मावन बेचबिखनका घटना रोकथाम गर्न कानुन परिमार्जन गर्न आवश्यक रहेको महान्यायाधिवक्ताको ठहर छ । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव तथा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिका अध्यक्ष डिल्लीराम शर्माले नेपालका १० जिल्लाबाट महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेको बताउनुभयो । उहाँले मानव बेचबिखनविरुद्ध जनचेतना नै प्रभावकारी हुने भएकाले निर्वाचनमा सबै राजनीतिक दलले आगामी निर्वाचनको घोषणापत्रमा यसलाई समावेश गर्नुपर्ने बताउनुभयो । 

जनचेतनासँग रोजगारी आवश्यक 

माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्का मानव बेचबिखन रोक्ने प्रभावकारी माध्यम भनेको जनचेतना नै रहेको बताउनुहुन्छ । उहाँले बालबालिका र महिला कसरी बेचबिखनमा पर्छन् भन्नेबारे प्रभावकारी जनचेतना पु¥याउन सके मानव बेचबिखन कम हुने बताउनुहुन्छ । साथै उहाँले मानव बेचबिखनको प्रमुख कारण अशिक्षा र बेरोगारी रहेकाले राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनु हुन्छ । पछिल्लो समय मानव तस्करीमा सङ्गठित गिरोह नै सक्रिय रहेकाले नियन्त्रणका लागि सरकारी संयन्त्र बढी चनाखो हुनुपर्ने उहाँले जोड दिनुभयो ।  शक्ति समूहका अध्यक्ष चरिमाया तामाङ मानव तस्करको गिरोह गाउँगाउँसम्म पुगेको बताउनु हुन्छ । उहाँका अनुसार विभिन्न दलालको सेटिङ र चङ्गुलमा परी विमानास्थलसम्म पीडितले अनेक हण्डर खाने भएकाले गाउँघरबाट नै यसको नियन्त्रण हुनु पर्छ । महिला तथा बालबालिकाको बेचबिखन तथा तस्करी रोक्न स्थानीय तहलाई नै बढी जिम्मेवार बनाई बसाइँसराइ तथा आवतजावतलाई अभिलेख राख्नुपर्ने आवाज शक्ति समूहले उठाउँदै आएको छ । बेचबिखनमा परी उद्धारपछि पुनस्र्थापना गर्न राज्यको खासै ध्यान नपुगेका कारण पुनः बेचबिखन हुने गरेका छन् । यसलाई रोक्न पीडितहरूलाई समाजमा पुनस्र्थापना गर्नुअघि सीपमूलक तालिममार्फत स्वरोजगार बनाउनु आवश्यक छ ।

पूर्व गृह सचिव गोविन्द कुसुमले मानव तस्करीको गिरोहमार्फत खाडी मुलुकलगायत युरोप र अमेरिका जाने क्रममा नेपाली युवा अनेकौँ दुःख पाउने, ठगिने र अलपत्र परी ज्यानैसमेत गुमाउने घटना वृद्धि भएकाले यसको नियन्त्रणका लागि प्रभावकारी जनचेतना आवश्यक रहेको बताउनु भयो । 

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल मानव तस्करीमा अध्यागमनका कर्मचारी र विमान कम्पनीको समेत मिलेमतो रहेको देखिएकाले यसको नियन्त्रणका लागि अध्यागमन तथा सीमा नाकाहरूमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समेत परिचालन गर्नुपर्र्ने बताउनुहुन्छ ।

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा मानव तस्करीमा कतिपय सरकारी कर्मचारीको समेत संलग्नता देखिएकाले उनीहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सके मानव बेचबिखन रोकथाम हुने धारणा व्यक्त गर्नुहुन्छ ।