काठमाडौँ, भदौ २९ गते । नवयुवा (जेनजी) ले गरेको प्रदर्शन हिंसात्मक भई तोडफोड र आगलागीबाट ध्वस्त पारिएका प्रहरी युनिटहरू पुनर्स्थापनाका लागि स्वयं स्थानीय नै जुट्न थालेका छन् ।
प्रदर्शनकारीले जलाएर पूर्ण रूपमा क्षतिग्रस्त पारिएको काठमाडौँको बसुन्धारास्थित प्रहरी चौकी सफाइ गरी पुनर्स्थापनाका लागि विभिन्न टोल सुधार समितिलगायत स्थानीय जुटेका छन् ।
स्थानीय समाजसेवी लोकबहादुर टण्डन, कृष्णबहादुर पुन, कर्ण खड्का, श्रीकृष्ण नगर विकास संस्थाका अध्यक्ष शिव कणेलसहित स्थानीयहरू नै चौकी सरसफाइ गरी पुरानै अवस्थामा फर्काउने अभियानमा जुट्नुभएको छ ।
स्थानीय अगुवाहरूले वसुन्धरा चौकी पुनर्स्थापनामा समिति गठन गरी पुनर्स्थापनाका लागि जुटेपछि समाजसेवी लोकबहादुर टण्डनले व्यक्तिगत रूपमा तीन लाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
शान्ति सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा पारिएको अकल्पनीय क्षति प्रहरी सङ्गठन र राज्य एक्लैले तत्कालै सम्हाल्ने अवस्था नदेखिएपछि आफूहरू स्वस्फूर्त रूपमा प्रहरी चौकी पुनस्र्थापनामा जुटेको बताउँदै टण्डनले भन्नुभयो, “प्रहरी नै नहुँदा आपराधिक गतिविधि झनै बढ्ने र त्यसको प्रत्यक्ष असर समाजमा पर्ने भएकाले त्यस्तो नहोस् भनी तत्कालै प्रहरी कार्यालय स्थापनाका लागि जुटेका हौँ ।”
उहाँले सबैलाई निःस्वार्थ रूपमा यस्तो कार्यमा हातेमालो गर्न पनि आग्रह गर्नुभयो । क्षतिग्रस्त उक्त प्रहरी चौकी झन्डै एक दशकअघि आफूलगायत स्थानीयहरूको सहयोगमा निर्माण भएको पनि उहाँले बनाउनुभयो । उहाँले यसपछि क्रमशः महाराजगन्ज प्रहरी वृत्त, नयाँ बसपार्क समाखुसीलगायतका क्षतिग्रस्त प्रहरीचौकीहरू पुनस्र्थापनाका लागि जुटिने पनि बताउनुभयो ।
यसै गरी स्थानीय कर्ण खड्काले सुरक्षा निकायको अनुपस्थितिमा समाजमा आपराधिक र अराजक गतिविधि हुन सक्ने भएकाले पनि तत्कालै प्रहरी चौकी मर्मत गरी चौकी पुनस्र्थापना गर्न लाग्नुपरेको बताउनुभयो ।
श्रीकृष्ण नगर विकास संस्थाका अध्यक्ष शिव कणेल जनताको सुखदुःखको साथी प्रहरीचौकी नै ध्वस्त भई विस्थापित नै हुने अवस्था भएपछि आफूहरू पुनस्र्थापनाका लागि जुट्नुपरेको बताउनुभयो ।
त्यसै गरी कोटेश्वर र नयाँ बानेश्वर क्षेत्रमा जलाइएका प्रहरी कार्यालयहरू पुनस्र्थापनका लागि पनि स्थानीयहरू जुटेका छन् । स्थानीय उत्तम भण्डारी नेतृत्वमा बागमती प्रदेश सभा सदस्य सुनिल कुमार केसी, दीपनगर टोल सुधार समितिका अध्यक्ष नानीकाजी केसी, निखिलेश्वर महादेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हंशराज वाग्ले पूर्वएआइजी भीम ढकाल, समाजसेवीहरू कृष्णमुरारी कोइराला, वैजु भट्टराई, धनेज थापासहितका अगुवा विस्थापित प्रहरी चौकी पुनस्र्थापनमा जुट्नुभएको छ ।
प्रहरीको मनोबल बढाइ सुरक्षा व्यवस्था पुरानै अवस्थामा फर्काउने प्रयास स्वरूप आफूहरू जुटेको बताउँदै बागमती प्रदेश सभा सदस्य सुनिल केसीले भन्नुभयो, “प्रहरीको अनुपस्थितिमा समाजमा अवाञ्छित गतिविधि नहोस् र शान्ति सुरक्षाको अवस्था पुनः सुदृढ होस् भन्ने उद्देश्यले हामी एकजुट हुँदै छौँ ।” संयोजक भण्डारीका अनुसार प्रथम चरणमा तीनकुने र केटेश्वरस्थित प्रहरी युनिटको पुनर्निर्माण र क्रमशः अन्य युनिटहरूको पुनर्निर्माण गर्ने योजना छ । उहाँले यस कार्यका लागि स्थानीयबाट स्वतस्फूर्त रूपमा रकम सङ्कलन कार्य पनि सुरु भएको जानकारी दिनुभयो ।
प्रदर्शनकारीहरूले ध्वस्त पारेका संरचनाहरू सफाइ गरी दैनिक कामकाज सञ्चालन गर्न प्रहरीहरू पनि जुटेका छन् । यसै क्रममा दरबारमार्ग प्रहरीवृत्तलगायत काठमाडौँका मात्र १६ वटा प्रहरी युनिटहरू जलेर खरानी भएपछि फोहोर हटाएर सञ्चालन गर्ने प्रयास सुरु भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले मातहतका अधिकांश प्रहरी युनिट तोडफोड र आगजनी गरी ध्वस्त पारिएको बताउनुभयो । खनालले भन्नुभयो, “क्षतिग्रस्त प्रहरी संरचनाहरू आफ्नै सम्झेर सफाइ र मर्मतमा स्थानीयहरू जुट्दा हामीलाई थप ऊर्जा प्राप्त भएको छ । हामीले यसलाई अत्यन्तै सकारात्मक रूपमा लिएका छौँ ।” उहाँले सबैको सकारात्मक सहयोगबाट मातहतका प्रहरी युनिटहरू छिट्टै पूर्ण रूपमा सञ्चालन हुने विश्वास पनि व्यक्त गर्नुभयो ।