इलाम समाचारदाता
पशुपतिनगर (इलाम), कात्तिक ३ गते । इलामको माईजोगमाई गाउँपालिकाका जनप्रतिनिधिको १५ दिनको भत्ता तथा कर्मचारीको दुई दिनको तलब बराबरको रकम स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिने भएको छ ।
गत असोज १८ गते रातिको बाढीपहिरोमा परी प्रभावित भएका पीडितको राहत, पुनस्र्थापना तथा भौतिक संरचनाको पुनर्निर्माणका लागि गाउँपालिकाका जनप्रतिनिधिको १५ दिनको भत्ता तथा पालिकाभित्रका सबै कर्मचारीको दुई दिनको तलब बराबरको रकम पालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको हो । पालिकामा आइतबार बसेको कार्यपालिका बैठकले ३४ जना जनप्रतिनिधिको १५ दिनको भत्ता बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनुभयो ।
पालिकाका लेखा प्रमुख प्रशान्त भट्टराईका अनुसार ३४ जना जनप्रतिनिधिबाट दुई लाख ४५ हजार रुपियाँ कोषमा जम्मा हुन्छ । यस्तै कर्मचारीको हकमा तलबस्केल अनुसार रकम जम्मा हुने लेखा प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
बाढीपहिरोले माईजोगमाई–६, प्याङमा दुई परिवारका आठ जनाको मृत्यु भएको थियो । यस्तै पालिकाभित्र ४७ घरपरिवार पूर्ण रूपमा र ८० घरपरिवारको आंशिक क्षति भएको कार्यालयले जनाएको छ । पालिकाको मुख्य प्रशासनिक भवनमा माथिबाट झरेको पहिरो पसेर एक करोड रुपियाँभन्दा बढीको क्षति भएको जनाइएको छ । पालिकाका अधिकांश सडक सञ्जालमा पहिरोले क्षति गरेको छ । पालिकाले मुख्य सडक सञ्चालनमा ल्याएर अहिले ग्रामीण सडक सञ्चालनका लागि काम गरिरहेको छ ।