कालीकोट समाचारदाता
कालीकोट, कात्तिक ३ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिका बाढीपहिरोका हिसाबले सुरक्षित क्षेत्र मानिन्छ । जिल्ला विपत् प्रतिकार्य योजना पुस्तिकामा रास्कोट नगरपालिका–७ र ८ बाहेक अरू क्षेत्र सुरक्षित छ भनेर उल्लेख छ । नगरपालिका–३ को साँगाटिया बस्ती भने पहिरोको उच्च जोखिममा रहेको २०७९ असोजमा आएको हिउँदे झरीले पुष्टि गरिसकेको छ ।
त्यतिबेला असोज १९ देखि २४ सम्म परेको अविरल वर्षाले जिल्लाभरिका हकमा रास्कोट नगरपालिकामा धेरै क्षति पु¥याएको थियो । मानवीय क्षति नभए पनि रास्कोटमा भौतिक क्षति धेरै भयो । नागरिकका घर भत्किए, खेतीयोग्य जमिन भासियो, बाढीले खेत पुरेर लग्यो भने पहिरोले खेत बगरमा परिणतसमेत गरेको थियो । सबैभन्दा बढी क्षति जमिन भासिँदा गाउँ नै उच्च जोखिममा रहेकाले साँगाटियाको बस्ती स्थानान्तरण गराउनुपर्ने अवस्थासम्म पुगेको थियो ।
सरकारले भने तत्काल त्रिपाल दिएर बासको व्यवस्था गरेको थियो । त्यसपछि कर्णाली प्रदेश सरकारले घर मर्मतका लागि सहयोग गरेसँगै उही बस्तीमा घर मर्मत गरेर नागरिक जोखिम स्थानमै बस्न बाध्य भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले जोखिम देखिन आए स्थानीय सरकारले सङ्घ, प्रदेश सरकारलाई सिफारिस गरेर बस्ती राख्ने ठाउँ यकिन गरी बस्ती सार्नेसम्मको अधिकार छ ।
अहिलेसम्म कालीकोटको नरहरिनाथ गाउँपालिकाबाहेक अरू कुनै पनि स्थानीय तहले बस्ती स्थानान्तरणको प्रयास गरेका छैनन् ।
नरहरिनाथ गाउँपालिकाले भने आर्थिक वर्ष २०७६/७७ को वर्षाले क्षति पु¥याएका परिवारका लागि सुगुरखाल भन्ने ठाउँमा बस्ती निर्माण गरेको थियो । अन्य स्थानीय तहले आफ्ना नागरिकको सुरक्षाका लागि खासै चासो देखाएको पाइँदैन । रास्कोटको साँगाटिया बस्तीका विषयमा रास्कोट नगरपालिका अहिले बेखर जस्तै छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले पछिल्लो समय जोखिम नदेखिएकाले थप प्रक्रिया सुरु नभएको बताउनुभयो ।
स्थानीय मेगे दमाईंले आफ्नो भर्खरै निर्माण भएको घर बाढीले क्षति गराएको बताउनुभयो । पछि सरकारले सहयोग गरेर मर्मत गरेको भन्दै उहाँले अन्य जाने ठाउँ नभएको उल्लेख गर्नुभयो । यस्तै समस्या पचालझरना गाउँपालिकाको खाददुगाउँ, शुभकालिका–८ र रास्कोट–७ का केही बस्तीमा छ । सरकारी क्षेत्रबाट पहल नहुँदा भने नागरिक भगवान् भरोसामा बस्दै आएका छन् ।