• १० मंसिर २०८१, सोमबार

श्रीगणेश ‘ज्ञान–पुष्प’बाट ‘ऋतंभरा’मा इतिश्री

blog

२०७९ भदौ १८ गते आइतबार राति ९:३५ मा साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले एउटा फोटोसहितको सूचना फेसबुकमा सार्वजनिक गर्नुभयो । फोटो थियो आफू, राष्ट्रकवि माधवप्रसाद घिमिरेकी पत्नी महाकाली घिमिरे र साझाकै कर्मचारी होमनाथ भट्टराई तीन जना एउटै सोफामा बसेको र अगाडिको टेबुलमा रातो डायरीले थिचेर एउटा पाण्डुलिपि राखिएको । मैले हेर्न झण्डै १० मिनेट ढिला भएछ । कुरो थियो, “राष्ट्रकवि माधव घिमिरेको चिरप्रतीक्षित महाकाव्य ‘ऋतंभरा’ साझा प्रकाशनबाट छापिने भयो । आगामी असोज ७ गतेसम्म प्रतीक्षा गर्न‘होला ।”

त्यो छोटो सन्देश पढिनसक्दै के गरौँ कसो गरौँ भयो अझ कुराएको छ आधा महिनाभन्दा बढी । मैले हेर्दा बधाइ तथा शुभकामनाका केही टिप्पणी आइसकेका थिए । सामाजिक सञ्जालको धर्मकर्म बेग्लै छ । मैले पनि कर्मकाण्ड पुरा गरेँ ‘गजब भयो । बधाइ !’ लेखेर । लेख्दा ९:४३ बजेको रहेछ । 

खासमा मैले लेख्नुभन्दा फोन गरेरै बधाइ दिन आतुरी लागेको थियो । साथै, केही अनुरोध गर्न पनि मन लागेको थियो । समय विचारेँ, अलि अबेर भइसकेको थियो । उहाँ साझाको महाप्रबन्धक नियुक्त भएको बेलाको सूचना पनि त्यस्तै बेला पाएको थिएँ । तर फोन गरेको थिएँ बधाइ दिन । फोन गर्दा ब्युँझाउनु नै परेको थियो । कुरा सकिएपछि लाग्यो भोलिपल्ट कुरेरै बधाइ दिएको भए पनि त हुन्थ्यो नि । त्यही सम्झेर यस पटक फोन गरिन । 

चित्र १ 


भोलिपल्ट दिउँसो (सोमबार) दुई पटक फोन गरेँ तर लागेन । पछि कामको चापाचापमा बिर्सेंछु । मङ्गलबार बिहानमात्र कुरा भयो । बधाइ दिनुभन्दा पनि मनमा लागेको कुरा गरेँ । ‘ऋतंभरा’ पुस्तककाकार रूपमा सार्वजनिक हुनुअघि नै त्यसको केही अंश गोरखापत्रमा दिन पाए हुने भनी प्रस्ताव गरेँ ।  माधवप्रसाद शर्मा (पहिले घिमिरे नलेखी शर्मा लेख्ने गरेको) को पहिलो कविता ‘ज्ञान–पुष्प’ विसं १९९२ भदौ १४ गतेको गोरखापत्र साप्ताहिक (अहिले दैनिक)मा नै छापिएको थियो । (चित्र १ हेर्नुहोस्) महाकाव्य त गोरखापत्रले छाप्ने कुरा भएन । त्यसैले ‘ऋतंभरा’को एउटा अंश दिएर राष्ट्रकविको काव्यिक श्रीगणेश गरेको गोरखापत्रमा नै उहाँको काव्यिक इतिश्री गर्न पाउनु गोरखापत्रका लागि गौरवकै विषय हुन्थ्यो । 

सायद उहाँ पनि गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्य भइसक्नु भएकाले होला उहाँलाई पनि प्रस्ताव ठिकै जँच्यो । उहाँले दिउँसो अफिस पुगेर थप कुरा गर्ने बताउनु भयो । भदौको घाम चर्को नै भए पनि मनमा बेग्लै न्यानो भयो । कार्यालय पुग्दा ‘ऋतंभरा’को एक गीतिपुष्प प्राप्त भइसकेको थियो ।

माधवप्रसाद घिमिरेलाई आफ्नो जीवनकालमा नै एउटा महाकाव्य नेपाली साहित्यलाई दिने हुटहुटी थियो । तर धेरै फुटकर कविता, खण्डकाव्य, गीत, गीति नाटक लेखेर १०१ वर्ष पुग्दा पनि उहाँको जीवनकालमा महाकाव्य प्रकाशन सम्भव भएन । घिमिरेले शतायुमा रहेको जीर्ण शरीरमा पनि युवा मन भरेर महाकाव्य तयार चाहिँ पार्नुभयो । तर परिष्कारलाई आफ्नो काव्यिक साधनाको शक्ति बनाउनुभएका उहाँले पूर्ण परिष्कार गरिनसक्दा नै कालले जित्यो । विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा यस धर्तीमा आएको भौतिक देह त्याग गरी उहाँ २०७७ भदौ २ गते कीर्तिशेष हुनुभयो । त्यही महाकाव्यिक शेष कृति साझालाई छाप्न घिमिरेका परिवारले अनुमति दिएका रहेछन् । 

चित्र २ 


घिमिरेका ज्वाइँ प्रा. डा. हेमाङ्ग राज अधिकारीका अनुसार “कविजी परिष्कारमा यति सचेत हुनुहुन्थ्यो कि लेखेको कुनै कुरामा आफैलाई चित्त बुझेन भने च्याति हाल्नुहुन्थ्यो ।” सम्भवतः उहाँको परिवारलाई राष्ट्रकवि घिमिरेको त्यो परिष्कार सार्वजनिक गर्न मन लाग्यो र साझालाई ससर्त छाप्ने अनुमति दिएका हुन् । साझाका महाप्रबन्धक पोखरेलका अनुसार त्यसैले घिमिरेका अरू कृतिभन्दा भिन्न यो महाकाव्य बेग्लै किसिमले छापिँदैछ । ‘ऋतंभरा’ घिमिरेकै हस्ताक्षर र त्यसको टङ्कण रूप दुबैमा छापिँदैछ । त्यसो गर्दा पृष्ठ अलि बढी भएको छ चार सय पृष्ठ छन् ‘ऋतंभरा’मा ।

गोरखापत्रले पनि राष्ट्रकवि घिमिरेको परिष्कारकला हाम्रा पाठकले देख्न पाउनु पर्छ भन्ने ठानेर एक पाना उहाँकै हस्तक्षर र सोही पानाको मुद्रित सामग्री दिने योजना बनायौँ । (हेर्नुहोस् चित्र २ र ३) महाप्रबन्धक पोखरेल भन्नुहुन्छ, “यो आर्ष प्रयोग हो ।” 

उहाँका अनुसार १६ सर्गको योजना बनाएर लेख्न थालिएको भए पनि १३ सर्गको बनेको छ महाकाव्य । ‘ऋतंभरा’लाई महाकवि घिमिरेले चाहिँ गीतिमन्त्र महाकाव्य भन्न रुचाउनु भएको छ । महाप्रबन्धक पोखरेलका अनुसार यो जानकारी माधव घिमिरे र गौरीकी पहिलो सन्तान शान्तिबाट प्राप्त भएको हो । शान्ति आफै गायनकलामा हुनुहुन्छ । महाकाव्यमा त्यसै अनुसार श्लोक संरचित छन् । दुई हरफको स्थायीपछि चार/चार श्लोकका अन्तरा उत्तर छन् हरेक सर्गमा । सबैमा छन्दको अपरिहार्यतासाथ गीति झङ्कार रहेको छ । जस्तै, ऋतंभराको ६/२/८ मा प्राप्त स्थायी र उक्त पृष्ठको अन्तिम श्लोक यस्तो छ :

स्थायी

उषा उदाइन् जब शैल चूडमा

यज्ञाग्नि धप्क्यो अनि यज्ञकुण्डमा 

अन्तिम श्लोक

आलोक अग्लो उभियो अघिल्तिर 

बलेसरी याज्ञिक अग्नि भर्भर

आकार देखेँ ऋषिका कुमारको 

झुुके नदेख्दै तिनको मुहार त्यो ।

यही पृष्ठको माधव घिमिरेका हस्तलिखित पानामा उहाँको परिष्कार केही केरमेट र एउटा हरफलाई तलमाथि गरेको सङ्केत चिह्नसहित देखिन्छ । (चित्र २)

माधव घिमिरेका अरू पनि कविता वा काव्य अप्रकाशित रहेका हुनसक्लान् तर महाकाव्यका रूपमा चाहिँ यो नै उहाँको पहिलो र अन्तिम हो । यसअघि पनि उहाँले गोविन्द शीर्षकमा महाकाव्य लेख्दै गरेको सुन्नमा आए पनि त्यो प्रकाशित भएन । घिमिरेकी छोरी उषा अधिकारीका अनुसार “त्यो महाकाव्यका रूपमा थिएन, बरु खण्डकाव्य जस्तो थियो, तर त्यसको अवस्था अज्ञात छ ।”

साझाले ‘ऋतंभरा’ सार्वजनिक गर्न दिएको मिति असोज ७ भनेको माधव घिमिरेको जन्मोत्सवको मिति हो । विविध कारणले थिलथिलिएको साझा प्रकाशनलाई राष्ट्रकवि घिमिरेको हस्ताक्षरसहितको महाकाव्य प्रकाशनले विशेष ऊर्जा मिल्ने नै छ । 

त्यसैका लागि साझाले त्यसदिन विशेष कार्यक्रमको आयोजना गरेर ‘ऋतंभरा’ ल्याउने योजना बनाएको छ । तर त्यसअघि नै ‘ऋतंभरा’को बनोट र बुनोटबारे केही जानकारी दिन पाउनु र दिनु दुबै गोरखापत्रका लागि सौभाग्यको विषय हो । घिमिरेको पहिलो कविता ‘ज्ञान–पुष्प’ प्रकाशन गरेको गोरखापत्रले पहिलो तथा अन्तिम महाकाव्य ‘ऋतंभरा’बारे सामग्री दिन पाएको छ । बाँकी महाकाव्य पुरै पढेपछि ।   

चित्र ३