कपालमा बेरेको रिबनको फूल जस्तै
सुन्दर छिन् हमिदा
स्कुलको ‘बस्ता’ बोकेर
जब नागबेली गोरेटो नाप्दै–उफ्रिँदै हिँड्छिन् उनी
संसारको सबभन्दा सुन्दर दृश्य कोरिन्छ,
‘सुरमा’ लतपतिएको एउटा गाजलु आँखामा
सुरमा सँगै बगेको खुसीको आँसु पुछ्छिन्
हमिदाकी आमा
उनको अन्तसमा छापिन्छ एकै पटक
राष्ट्र हाँक्ने भण्डारी र मुर्मुको चित्र
हकिम साहिबा, मास्टरनी मैयाँ
र स्वयंसेवी रामदुलारी दिदीको चित्र
मानौँ, नागबेली गोरेटोमा
यत्रतत्र
फुल्न थाल्छ नयाँ पालुवाहरू
शिक्षाको याममा
हमिदा जस्तै बस्ता बोकेर जब हिँड्छिन्
फुलो सादा र बेली मल्लिकहरू
रिबनका अनेक सेता नीला फूलहरू
हावामा लहराउँछन्
पाखाभरि
ततमा, चमार र डोम बस्तीभरि
कुनै अमूर्त चित्र जस्तै
कति मोहक देखिन्छन् ती दृश्य
तर,
दलनको युगदेखि
दलनको युगसम्म
‘कखरा’ रट्नै नपाई
अन्धकारमा धकेलिएको
एउटा युगले
राँको बालेको कथा
हिजो जस्तै लाग्छ मुनिया दुसाधलाई
आखिर कहिलेसम्म
ज्योतिलाई छोप्न सक्थ्यो र कुनै ग्रहणले ?
बेली झैँ पवित्र
बेली मल्लिक डोममा
के छ र अन्तर अरूभन्दा ?
जहाँ फुले पनि फुल्नु न उसको धर्म हो
तर थुप्रै थुप्रै याम
यत्तिकै बितेर गए
तिनले फुलाउन सकेनन्
उन्मुक्त फूलहरू
बाबु–भैयाहरूले विद्यालयलाई
दरबार बनाइदिएपछि
बस्ता बोक्न दिइएन मुनिया दुसाधहरूलाई
हिँड्न दिइएन ती बाटाहरू
जहाँबाट हुन्थ्यो सम्भवतः नवोदय
भारी बोक्ने हातमा
शिक्षाको सूर्योदय
देख्न कहाँ सक्थे र माइबापहरूले ?
त्यसैले त
सबै वर्जनालाई तोड्दै
गर्जेको थियो मुनियाभित्रको सिंह
हजार गर्जनहरूको नादले
उनले फुलाएकी थिइन् बेली र फुलोहरू
जसको सुवास फैलिएको छ
पाखाभरि
घाँस काट्ने हमिदा र मुनियाहरूको हातमा
हँसिया र खुर्पा देखेको थिएन समयले
यद्यपि बिसाएकी छैनन् उनले हतियार
किनभने वर्जनाका अनेक पर्खाल भत्काउँदै
आमन्त्रण गर्नु छ अझै
अनेक याम
र फुलाउनु छ फूलहरू
रिबनका सेता नीला फूलहरू ।।