शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रातः समय
केही जोडी परेवा
मेरो पिँडीमा आएर लगातार
माक माक घुर गर्छन्
म त्यसो नगरिदिऊन् भन्छु
एकाबिहानै
कागहरू मेरो घरको छतमा बसेर
काग काग आवाज निकाल्दै
कराउँछन्
म नकराऊन् भन्ने ठान्छु
प्रभातको समय
चञ्चल पुतलीहरू
फूलबारीको गमलामा उडिरहन्छन्
म नउडून् भन्ने सोच्छु
तर
उनीहरूलाई थाहा नै नहुँदो रहेछ
खल्बलिन्छ भन्ने
मेरो मौनताको एकालाप
उनीहरू उनीहरूको मनमौजीमा
आफ्नो स्वतन्त्रताको सङ्गीत बजाउन
माहिर हुँदा रहेछन्
तर महोदय !
मेरा लागि उनीहरूभन्दा पनि खतरा
मान्छेहरूबाटै छ
किनकि
मान्छे सधैँ उद्यत हुन्छ
मौनताको एकालाप बिथोल्न ।