• २९ कात्तिक २०८२, शनिबार

रुट एन्ड रिफ्ल्याक्सन मौलिकताको प्रतिविम्ब

blog

यो विशाल मेलाका रूपमा भएको  प्रदर्शनीमा १५४ कलाकारका २७३ वटा कला राखिएका थिए । कला प्रदर्शनीमा समसामयिक कलादेखि लोककला, परम्परागत कला रहेकाले पनि कलाकारका लागि मात्र होइन; भावकलाई समेत हुने गरी कलात्मक यात्राका रूपमा यसलाई हेरिएको थियो ।

नेपाल आर्ट काउन्सिलमा सेप्टेम्बर ६ मा ‘रुट एन्ड रिफ्ल्याक्सन’ शीर्षक अन्तर्गत समूहगत कला प्रदर्शनी गरिएको थियो । यो कला प्रदर्शनी मूलतः ‘आर्ट एन्ड कल्चर’ समेटेर मेलाकै रूपमा आयोजना भएको थियो अर्थात् संस्कृतिमाथिको कला भने जस्तो पनि बोध हुन्थ्यो । ‘कल्चर’ लाई कलाकारको सिर्जनशीलतासँग गाँस्ने उपक्रममा देखा परेको यो कला प्रदर्शनीमा अनेक जात्रा, चाडपर्व, संस्कृति, संस्कार वा प्राकृतिक सौन्दर्य भरपूर रूपमा समेटिएको थियो । समग्रमा नेपाली मौलिकता, हाम्रै कुराहरू, हाम्रै पहिचानको कला प्रदर्शनी जस्तो पनि देखिन्थ्यो । अनि विषयवस्तुका रूपमा देवीदेवता, मठमन्दिर, मुखुण्डो, लाखेनाच आदि देखा परेका थिए । 

बगुन्द्रो दृश्यचित्र देखिनु पनि यो कला प्रदर्शनीको विशेषता बन्न गएको थियो । यसपल्ट प्रयोगात्मक कामहरू कम देखा परेका थिए । यथार्थदेखि अभिव्यञ्जनासम्म, आधुनिकदेखि उत्तरआधुनिक शैली र प्रवृत्ति समातेका कलामा नेपाली मौलिक परम्परालाई कहीँ न कहीँ समातेकै देखिन्थ्यो । मूलतः यही नै यो कला प्रदर्शनीको मूल ध्येय पनि थियो । अझ अचम्मलाग्दो कुरा त धर्ममा वा देवीदेवतामा बढी बन्ने गरेको मिथिला लोककलामा समेत आजको दिनचर्या र आजको परिवर्तित संस्कार पनि गाँसेर देखा परेको थियो ।  

यो विशाल मेलाका रूपमा भएको कला प्रदर्शनीमा १५४ कलाकारका २७३ वटा कला राखिएका थिए । कला प्रदर्शनीमा समसामयिक कलादेखि लोककला, परम्परागत कलाहरू रहेकाले गर्दा पनि कलाकारका लागि मात्र होइन; भावकलाई समेत हुने गरी कलात्मक यात्राका रूपमा यसलाई हेरिएको थियो । सम्भवतः आयोजकबाट एउटा विषयमा आबद्ध हुन आग्रह गरिँदा पनि यी कलामा हाम्रा देवीदेवताका अनेक रूप अनि आजको सन्दर्भलाई पनि सम्बोधन गर्दै देखा परेको थियो । मूलतः परम्परागत कला तर आधुनिक स्वरूपमा देखिँदा पनि यसले एक अलग्गै आकर्षण दिएको थियो । यही पनि यो कला प्रदर्शनीको थप विशेषता बन्न गएको देखिन्थ्यो ।   

प्रदर्शन कक्षको तलका दुईवटा खण्डमा समसामयिक कलाहरू राखिँदा माथिल्लो खण्डमा चाहिँ अलि महत्वका र महँगा पौभा चित्रहरू राखिएका थिए । विशेष महत्व चाहिँ चोरी भई हराएका चित्र, जुन अहिले नेपाल फर्काइएको छ । यस्ता दुई वटा चित्रको प्रतिकृति (क्यानभास प्रिन्ट) पनि राखिएको थियो । चोरी भएर अमेरिका पु¥याइएको यो चित्र ४५ वर्षपछि नेपालले फिर्ता पाएको थियो । मूल चित्र चाहिँ इटुम्बहालको नेपालको सबैभन्दा पुरानो महाविहारमध्ये एक, केशचन्द्र क्रित पराभार्त महाविहारमा राखिएको छ । पहिला यो चित्र यसै महाविहारबाट चोरी भएको थियो । यो १७ औँ शताब्दीको चित्र भएको हुँदा पनि यसको अलग्गै महत्व छ । अर्को कुरा यसबेलाको कलागत शैली, प्रवृत्तिहरू जान्न बुझ्न पनि यसले थप मद्दत गथ्र्याे ।

चिन्तामणि लोकेश्वरको यो चित्र राम्रो र उम्दा त छँदै छ, यो चित्रमा पात्रहरूको चयन अनि संयोजन एउटा अर्थका साथ गरिएको देखिन्छ । विशेष गरेर अनेक देवदेवीका साथै देवचिन्तामणि लोकेश्वरको स्वरूप अङ्कन गरिएको थियो । भक्तले इच्छाएका वस्तुहरू भगवान्ले भक्तलाई दिइरहेको दृश्यलाई पनि अङ्कन गरिएको छ । मूलतः यी भगवान्ले भक्तले जे इच्छा गरेर भक्तिभाव दर्शाउँछन्, भगवान्ले पु¥याइदिन्छ भन्ने जनविश्वास छ । यसैले गर्दा पनि यी देवलाई चित्रण गर्दा पछाडिपट्टि कलात्मक कल्पवृक्ष (जे कल्पना गरे पनि सोही कुरा दिने वृक्ष) राखेर संयोजन गर्ने गरिन्छ । यस्तो चित्रमा चित्रण भएको कल्पवृक्ष, कलाकार अनुसार आआफ्नै ढङ्गले अनेक वस्तुले सजाएर प्रस्तुत गर्ने गरिन्छ । कतिपय चित्रमा चाहिँ झट्ट हेर्दा बुट्टा जस्ता पनि देखिन्छन् । यहाँ देखिएका दुई वटा चिन्तामणि लोकेश्वरमा चाहिँ हाँगामा उछलकुद गर्दै गरेका बाँदरलाई समेत देखाइएको छ । यस्ता चित्रमा सहयात्री देवी–तारालाई पनि साथैमा देखाउने चलन छ । 

पहिले पहिले देवदेवीलाई मात्र चित्राङ्कन गरिने यस्ता पौभा चित्रमा १७/१८ औँ शताब्दीदेखि चाहिँ भक्तहरू पनि गाँसिन थालेको इतिहास छ । यसो हुँदा चित्र आफैँ पनि अलि अलग्ग शैलीसाथ देखा पर्दै आएको छ । देवीदेवताका साथ भक्तहरू पनि चित्रण गरिने यस्तो चित्र बनाउन लगाउने राजा वा व्यक्तिविशेषलाई पनि चित्रमा समावेश गर्ने प्रचलन यसैबेला भएको थियो । विशेष गरेर चित्रपटको तल्लो भागमा देवीदेवताका साथ भक्तजनहरू भक्तिभाव जनाइरहेको देखाउने प्रचलन यसैबेलादेखि बनाउन थालिएको हो । यसबाहेक यसबेला भारतको मुगल कलाको शैलीले पनि प्रभाव पार्दा यसबेलादेखि परम्परात कलामा अलग्ग विशेषता देखिन थालेको थियो । यो चिन्तामणि लोकेश्वरको चित्रमा यी दुवै विशेषतालाई अङ्गीकार भएको देखिन्छ । यसैले पनि प्रदर्शनीमा यो चित्र विशेष रूपमा देखा परेको छ । 

यो चित्रमा आकाशउँदी बादलका ढफ्फाभित्र विभिन्न आसनमा देवीदेवता सिरानमा रहेको महात्मा बुद्धलाई भक्तिभावसाथ पूजाअर्चना गरिरहेका देखिन्छन् । बिचको मूल भागमा चाहिँ चिन्तामणि लोकेश्वर सहयात्री तारासाथ देखा परेका छन् । मुनिको भागमा चाहिँ सामान्य भक्तजनहरू देखा परेका छन् । यही चित्रमा ‘डेकोरेटिभ फर्म’ मा राखिएका सिङ्गो रुख, लटरम्म भएका फूल पात लहराका अनेकानेक वस्तुहरू, काल्पनिक बुट्टाहरूका रूपमा रहेको नौलो संरचनालाई पनि यहाँ प्रस्तुत गरिएको थियो । पुरानै शैलीलाई अनुशासनबद्ध भएर विधिविधान अनुसार गरिने यस्ता चित्र अहिले पनि बनाउने परम्परा छ । तथापि अहिले चाहिँ समय अनुसार थोरै नौलोपन देखिन थालेको छ । आजको यस्ता परम्परागत कलाको विशेषता हो । यस्ता थुप्रै चित्र वा मूर्तिहरू चाहिँ प्रदर्शनीमा राखिएको थियो । 

विशेष गरेर १० लाख ६२ हजार मूल्य राखिएको रवीन्द्र शाक्यको गणेशको मूर्ति अब्बल रूपमा देखा परेको मूर्ति हो । वाहन मुसामाथि विभिन्न आयुधहरूसाथ उभिएका शहस्त्र हातहरूको कल्पना गरेर बनाइएको यो देवगणेश साँच्चि नै अद्भुत छ । ‘फुल गोल्डेन प्लेट’ ले बनाइएको सुनौलो यो गणेशको मूर्ति अति चम्किलो रूपले जाज्वल्यमान भइदिँदा पनि अवलोकन गर्ने भावकहरूको त्यहाँ बाक्लो भिड देखिन्थ्यो । यसबाहेक पौभा कलाको विशिष्ट कलाकार मुक्तिसिंह थापाको १८ लाख ७५ हजार मूल्य राखिएको ‘भवचक्र’ नामक चित्र पनि त्यहाँ राखिएको थियो । समसामयिक चित्रतर्फ वरिष्ठ चित्रकार, मूर्तिकार प्रमिला गिरीको बढेमाको चित्र ‘इमेज अफ भैरव’ (लगभग छ फुट बाई १२ फुट) पनि प्रदर्शनमा राखिएको थियो । यो चित्र गाढा निलोलाई घेर्दै चहकिलो रातो, पहेँलो र सेता रङहरूमा संयोजन भएर देखा परेको छ । यो ‘मूर्तिनुमा–चित्र’ को बिचो भाग चाहिँ अमूर्त भैरवको विम्बलाई (मेटलको मूर्ति) राखिएको छ । यसरी चित्रपटको बिचोबिच भागमा मूर्तिलाई टाँसेर प्रयोग गर्ने नेपाली कलाकार उनी मात्रै हुन् । यो भैरवको शृङ्खलामा अनेकौँ काम उहाँले गरिसक्नुभएको छ । यसै शृङ्खलाको यो एउटा थप काम हो । ६० को दशकदेखि (६५ वर्षभन्दा बढी) आजसम्म पनि निरन्तर काम गरिरहने मूर्तिकारका रूपमा पनि उहाँलाई लिनुपर्ने हुन्छ । मूर्तिकला निर्माण गर्न जटिल छ, खर्च पनि बढी लाग्ने हुँदा यति लामो समयसम्म अन्य कसैले पनि यसरी निरन्तर कलाको निर्माण गर्न सकेको देखिँदैन । लोकचित्रकारको टाइटलबिनाको अर्को ठुलो चित्र यो कला प्रदर्शनीको अर्को आकर्षण थियो । सम्भवतः यो कला प्रदर्शनीमा सबैभन्दा ठुलो चित्र (लगभग सात बाई १३ फिट) पनि यही नै हो । नामबिनाको परम्परागत चित्र बनिनु पनि यो पहिलो पल्ट नै हुनु पर्छ । आधुनिक चित्र अनि सँगै पम्परागत चित्रहरू अवलोकन गर्न पाउनु यो कला प्रदर्शनीको विशेषता थियो ।   

यसबाहेक उत्कृष्ट कामहरूमा विशेष गरेर सबिता डङ्गोलको काम देखा परेको थियो । आफ्नै एक अलग्ग डेकोरेटिभ शैलीमा पहिचान बनाइसकेका सबिताले यसपल्ट अझ चाखलाग्दो काम गर्नुभएको थियो । ‘स्याक्रेड कम्यासन इन दी ल्यान्ड अफ हार्मोनी’ शृङ्खलाको यो एउटा काम हो । पृष्ठभूमिमा खैरो रङले डाँडाकाँडा, मन्दिर आदि बनाइसकेपछि अग्रभागमा खाइलाग्दो हरिणको जोडी (भालेपोथी) लाई प्रस्तुत गरिएको थियो । शृङ्गारपटार गर्ने उहाँको शैलीगत विशेषता भएकाले गर्दा पनि हरिण तलदेखि माथिसम्म बुट्टाले भरिएको छ । सबिताकोे अर्को विशेषतामा उहाँले सुरुका दिनदेखि नै महिलाको ‘स्यान्डल’ लाई महिलाको प्रतीकात्मक विम्बका रूपमा प्रयोग गर्दै आउनुएभको छ । उहाँले सुरुका दिनदेखि नै महिलाको मुद्दालाई उठाउँदै आउनुभएको छ । यसर्थ यहाँ पनि हरिणका खुट्टाहरूमा जुत्ताले ठाउँ पाएको देखिन्छ । भेस्टसहित गलबन्दी बाँधेको पुरुष हरिण जसरी आकर्षक देखिन्छ, त्यसरी नै चोलीमाथि गरगहनाले झपक्कै बेरिएर स्त्री हरिण पनि सुन्दर भई देखा परेको छ । स्वैरकाल्पनिक रूपमा लोग्नेमान्छे र स्वास्नीमान्छेको अलग अलग जुत्ता अनि अलग अलग वस्त्रसमेत लगाइदिएर स्त्री अनि पुरुष जातिको पहिचानलाई पृथक् रूपमा देखाउन खोजेको देखिन्छ ।

जहिले पनि जोडीलाई देखाउने कलागत संयोजन उहाँको आफ्नै शैली हो । उहाँको अर्को लक्ष्य चाहिँ महिला पुरुष बराबरी हुन् भन्ने अर्थका साथ पनि यो कलागत संयोजन देखिन्छ । उहाँका चित्रमा देखिने प्राकृतिक झारपात आदि चाहिँ उहाँले नैसर्गिक प्रकृतिसँग मानवलाई जोडी आफ्ना भाव र विचारलाई पस्कँदै आउनुभएको छ । यसपल्टका चित्र पनि यसभन्दा फरक छैन । अझ प्रगाढ माया देखाउने क्रममा दुवैको जिउमा ज्वलन्ह्याक र सिनमुलाई पनि अङ्कन गरिदिएर मान्छे र पशुको जीवनलाई एउटै सतहमा उभ्याएको अनुभूत हुन्छ । नेवार जातिमा बिहेको बेलामा यी वस्तु नभई नहुने अवयव हुन् । डिटेलमा बुट्टाबुट्टैले भरिएका यी हरिणहरू कोमल सुन्दर अनि खाइलाग्दो पाराले चित्रण गरिएको छ । 

डा. सीमा साह बौद्ध धर्ममा विशेष गरेर स्तूपामा वरिपरि बेरिएर सजाउने गरेको ‘माने’ राखेर चित्रहरू बनाउने गर्नुहुन्छ । उहाँको यस्तो खाले संयोजन पुरानै तरिका हो । प्रिन्ट कलामा विशेष दक्खल राख्नुहुने सीमाका यस्ता प्रिन्ट मेकिङ कला सयौँ बने होलान् । प्रिन्ट मेकिङ कलामा औधी डिटेल खेल्न सक्ने सीमाका चित्रहरूले जहिले पनि हाम्रो संस्कृति र धर्मका विषयलाई टिप्ने गर्छन् । यो उहाँको कलागत स्वभाव यसपल्ट पनि देखा परेको छ । एससी सुमनको आफ्नै स्थापित शैलीलाई प्रयोग गरी मिथिला लोककला बनाइएका छन् । बेला बेलामा समसामयिक कलाको सुगन्ध छाम्न सकिए पनि उहाँको कलामा झट्ट हेर्दा खासै फरक देखिन्न । बरु निखिलबहादुर शाक्यको चाहिँ थोरै परम्परागत ट्रेन्डभन्दा फरक भएर कला देखा परेका छन् । उहाँको आधुनिक संयोजनमा बनेको परम्परागत कलामा ‘आर्य ग्रिन तारा’ मूलतः समसामयिक–परम्परागत कलाका रूपमा देखा परेको छ । यसर्थ पनि यो थोरै परम्परागत संयोजनभन्दा केही अलग्ग पाराले आएको पर्छ । १२ लाख ५० हजार दाम राखिएको यो उहाँको चित्रमा माध्यमका रूपमा पनि थोरै अलग्ग थियो । उहाँले यो चित्र बनाउन पोस्का मार्कर एक्रेलिक कलर अनि गोल्डेन पेन्ट्स प्रयोग गर्नुभएको थियो ।  

आधुनिक पाराका बुट्टाहरू पृष्ठभूमिमा राखेर मध्य भागमा चाहिँ ‘ग्रिन तारा’ लाई संयोजन गरिएको छ । चहकिलो हरियो अनि पहेँलोको बाहुल्य रहेको यो चित्र थोरै अलग्ग देखा परेको छ । सामान्यतः यस्तो सपाट अनि चहकिला रङ पौभा कलामा कम प्रयोग गरिन्छ । परम्परागत कलामा पृष्ठभूमिको प्रतीकात्मक विम्बका रूपमा घरका ढोका, जमिन, कमलका फूल आदि सपाट रूपमा नितान्त आधुनिक फर्ममा प्रयोग भएका छन् । यसैमा पनि उहाँले देवीको शरीरभरि अनेकौँ थप बुट्टाहरू थपेर अमूर्त वा आधुनिकताको झल्कोसमेत दिन पुग्नुभएको छ । पौभा चित्रमाथि यो गजबको प्रयोग हो । अनिल महर्जनको ‘नीलवाराही’ परम्परागत हुँदै गर्दा पनि आधुनिकताको लेपन भएको अनुभूत हुन्छ । विनयबहादुर रिमालको ‘वराह अवतार’ चाहिँ साह्रै घतलाग्दो पाराले देखा परेको छ । मूर्तिको चित्र आकर्षक अनि एउटा एक्सनमा देखा परेको यो चित्रमा आयुधहरू शङ्ख अनि कम्मरमा भिरेको अनौठो पाराको छुराले फेरि आधुनिकताकै भान गराउँथ्यो । परम्परागत चित्रहरू बनाउँदाबनाउँदै आधुनिकतामा प्रवेश गर्ने चाह राखेको प्रवृत्तिले आजको कलाको स्वरूप देखाउँछन् । किनकि आजका यस्ता देवीदेवता चित्र वा मूर्तिहरू बढी मात्रामा बिक्री हुने गर्छन् । यसैले गर्दा पनि त्यहाँ अलिकता नेपाली मौलिक सुगन्ध अनि थोरै आफ्नै प्रकारको सिर्जनशीलता जोडेर देखा पर्ने आजको विशेषता बन्ने गरेको छ । विधाताको ‘फ्रेस होल्ड’ पनि उहाँको आफ्नै पुरानै शैली (अमूर्त) मा देखा परेको छ । विशेष अर्थका साथ देखिँदै आएको विधाता यथार्थ अवस्था अनि वस्तुलाई नितान्त अमूर्त खेलाइबस्ने कलाकार हुनुहुन्छ । सपाट रङ्गीय संरचना उहाँलाई मन पर्ने कुरा हो । अमूर्तमा पनि यथार्थ देखा पर्ने उहाँको कलागत विशेषता हो । 

यस पटक ज्योति प्रकाशको दृश्यचित्र पनि एकतमासको देखा परेको छ । मूलतः दृश्यचित्रका रूपमा देखा परेको यो चित्रले धेरै कुरा बोल्दैन, मात्र एकप्रकारको सौन्दर्यलाई छर्ने काम गर्छ । तथापि उहाँ राम्रो व्यक्तिचित्र बनाउने अनि उत्तरआधुनिक कलामा प्रयोगवादी कलाकार पनि हुनुहुन्छ । उहाँका सेतोमाथि सेतो सिरिजका यस्ता कलाहरू एकताका निकै चर्चाको शिखरमा पुगेको थियो । 

‘डिभाइन युनियन’ नाममा मुकेश श्रेष्ठका दुई वटा काम यस प्रदर्शनीमा थिए । उहाँको आफ्नै शैलीगत पहिचान छ । उहाँले यस पटक पनि भगवान्को रूपलाई नितान्त आधुनिक पारामा पस्कनुभएको थियो । दुई भगवान् एउटै भएर पस्कने (खप्टिएर) उपक्रम यस पटक पनि प्रस्तुत गरेको देखिन्छ । छ वटा हातसहित दुई वटा देव बनाउनु पनि देवत्वको प्रतीक नै हो । हातहरूले खासै कुनै आयुध समातेको छैन तर वगुन्द्रो कमलको फूल देख्नु देखाउनु पनि गजबको संरचना देखिन्छ । कमलकै पूmलमा बस्नु अनि कमलकै फूलमा उभिनु उभ्याउनु आदि आदि । अलि गाढा पहेँलो (एल्लो–अक्कर) सपाट पृष्ठभूमिमा कालो रेखाङ्कनबाट बनेका यस्ता चित्र सदैव शक्तिशाली देखिन्छन् । शिवजीको ताण्डव नृत्यमा दुई शिवजी एउटैमा मिसिएर देखा पर्दा पनि साँच्चिकै गजब देखिन्छ ।

ईशान परियारको ‘दी डिभाइन सेरेनिटी ओरिजन अफ फेवा लेक’ अलि नौलो पाराले देखा परेको छ । यो चित्रमा माछापुच्छ«े पनि देखिन्छ । फेवातालको लेकमा जोडी सवार भई कतै जाँदै गरेको पनि देखिन्छ । अनि अनायासै देववाराही चर्को आक्रोशका रूपमा पनि देखिन्छ । पारिपट्टि गाउँबस्ती पनि देखिन्छ । उहाँका चित्रमा अपनत्वबोध गराउन पनि माछापुच्छ«े सधैँ हुने गर्छ किनकि उहाँ त्यतैका हुनुहुन्छ । जोडी देखाउने उहाँको सुरुदेखिकै ‘एप्रोच’ हो अनि देवीदेवताका मूर्तिहरू बिदेसिँदै गएको उहाँलाई चासो र चिन्ता छ । यी र यस्तायस्तै उहाँको अवधारणाले उहाँका हरेक जसो चित्रलाई निर्देशित गरिरहेकै हुन्छ । यसपल्ट सुदर्शनविक्रम राणाको गजबको रेखाङ्कन कला देखा परेको छ । देवीको रूपलाई अद्भुत अनि रहस्यमय तरिकाले अङ्कन गर्नु उहाँको यसपल्टको मूल विशेषता देखिन्छ । श्वैत–श्यामको लुकामारी खेल्दै जन्मेको चमक उहाँको कलामा देखिन्छ; जसलाई भावकले घोइरेर अवलोकन गर्दा पनि पत्ता पाउन गाह्रो जस्तो भएर देखा पर्छ । मनिकाकुमारी शाहको ‘रुट्स एन्ड लाइन’ नामक गजबको मिथिला कला पनि राखिएको थियो । स्वर्णी शाक्यको ‘रिननसिएसन’ नामक चित्र धार्मिक ‘न्यारेटिभ आर्ट’ का रूपमा देखिँदादेखिँदै पनि आधुनिक शैलीमा आउँदासमेत यसले आकर्षण थपेको थियो । यसैमा सिङ्गो एक पातो ग्रन्थ आलेख (रञ्जना लिपि) मा समेटिएकाले गर्दा पनि यो चित्रमा रौनक थपिएको देखिन्थ्यो ।