तानसेन समाचारदाता
तानसेन, पुस ९ गते । पाल्पा दरबार सङ्ग्रहालयपरिसरमा चित्रकला तथा फोटो प्रदर्शनी गरिएको छ । तानसेन गुठीको आयोजनामा दरबारपरिसरमा चित्रकला तथा फोटो प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा तानसेनका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विषयवस्तु समेटिएका फोटो र चित्रकला राखिएका छन् ।
स्थानीय भाषा, कला, संस्कृति र वेशभूषालाई समेत चित्रकला तथा फोटो प्रदर्शनीमा महत्व दिइएको छ । प्रदर्शनीले आन्तरिक तथा बाह्य पर्यटकलाई तानसेनमा आकर्षित गर्न सहयोग पुग्ने तानसेन गुठीका अध्यक्ष जीवनज्योति वज्राचार्यले बताउनुभयो ।
तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले यस्ता प्रदर्शनीले तानसेनको इतिहास, सभ्यता र पर्यटन सम्भावनालाई प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । फोटो प्रदर्शनीले स्थानीय कला र संस्कृतिलाई संरक्षण गर्दै पर्यटन प्रवर्धनमा सहयोगी हुने श्रेष्ठको विश्वास छ ।
तानसेन सहर, जीवन्त संस्कृति बोकेको स्थान भएकाले यसको प्रचारप्रसार आवश्यक रहेकोमा तानसेन पर्यटन समितिका संयोजक सागरमान महर्जनले बताउनुभयो । फोटो प्रदर्शनी जस्ता सिर्जनात्मक कार्यक्रमले पर्यटकलाई लामो समयसम्म तानसेनमा बस्न प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । तानसेन गुठी पाल्पाका अध्यक्ष शकुन्तला वज्राचार्यले चित्रकला तथा फोटो प्रदर्शनीमार्फत तानसेनको इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यलाई एकै स्थानमा प्रस्तुत गरिएको बताउनुभयो ।