करुण अर्याल
बेइजिङ, पुस ९ गते । नेपाल र चीनबिच व्यापार, लगानी, पूर्वाधार विकास, पर्यटन, शिक्षा, कृषि, स्वास्थ्य र प्रविधिको क्षेत्रमा पर्याप्त सम्भावना रहेको बताउँदै विज्ञहरुले भविष्यमा यि क्षेत्रमा थप सहकार्य गर्न सकिने औंल्याएका छन् ।
बेइजिङस्थित नेपाली दूतावास र चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीज (सीआईआईएस)द्वारा मङ्गलबार संयुक्त रुपमा आयोजना गरिएको नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवः ‘समिक्षा तथा सम्भावना’ विषयक विचार गोष्ठीमा नेपाल र चिनियाँ विज्ञहरुले आर्थिक, राजनीतिक, सामाजिक, ऐतिहासिक र सांस्कृतिक माध्यमबाट नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने विभिन्न माध्यमबारे प्रकाश पारेका थिए । विज्ञहरुले दुई देशबिचको सम्बन्ध आपसी सम्मान, अहस्तक्षेप, समानता, जनस्तरीय सम्बन्ध, व्यवहारिक सहयोग, लगानी तथा व्यापार उच्चस्तरीय भ्रमणलगायतबाट बलियो बन्दै गएको चर्चा पनि गरेका थिए ।
नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले ऐतिहासिक कालदेखि नेपाल र चीनबिच घनिष्ठ सम्बन्ध रहदै आएको बताउँदै दुई देशबिच व्यापार, लगानी, ऊर्जा, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र जनस्तरीय सम्बन्धले विकासका क्षेत्रमा सहयोग पुर्याएको बताउनुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहदै आएको बताउँदै पछिल्लो समय दुबै देशबाट भएका उच्चस्तरीय राजनीतिक भ्रमणले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको उल्लेख गर्नुभयो । बीआरआई फ्रेमवर्कमा हस्ताक्षरपछि आपसी सम्बन्धको नयाँ चरण सुरु भएको बताउँदै कार्यवाहक राजदूत खनालले प्रमुख व्यापारिक साझेदारका रूपमा चीनले नेपाली वस्तुका लागि निःशुल्क भन्सार सुविधा दिएको भन्दै चीनले नेपाल भ्रमण वर्ष २०२५ मनाइरहेको बताउनुभयो ।
सीआईआईएसका उपाध्यक्ष लिउ छिङले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई बहुआयामिक सम्बन्धको प्रमुख विशेषताको रूपमा स्पष्ट पार्दै पछिल्लो समयमा उच्चस्तरीय राजनीतिक भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ उचाइ थपेको बताउनुभयो । उहाँले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवधिमा भएका सहमतिहरूको कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपालको दोस्रो ठुलो व्यापारिक साझेदारका रूपमा चीनले नेपालसँग सीमापार कनेक्टिभिटीमार्फत् साझा फाइदाको अवधारणा अघि सारेको पनि बताउनुभयो ।
गोष्ठीमा नेपालस्थित परराष्ट्र मामिला जानकारहरूले भर्चुअल माध्यमबाट दृष्टिकोण राखेका थिए । चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई, थाइल्यान्डका लागि पूर्व नेपाली राजदूत एवम् नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारी, त्रिभुवन विश्वविद्यालयका रेक्टर डा. खड्ग केसीलगायतले नेपाल चीन सम्बन्धको विश्लेषण गर्दै भविष्यमा हुन सक्ने आपसी सहकार्यका बारेमा चर्चा गर्नुभएको थियो । गोष्ठीमा इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको नेपाल अध्ययन केन्द्रका अनुसन्धाता सरोज गौतम, हपेइ युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजनेसअन्तर्गत नेपाल अध्ययन केन्द्रका निर्देशक चाङ सुपिन, सीआईआईएसअन्तर्गत अन्तर्राष्ट्रिय रणनीति अध्ययनका लागि सहायक अनुसन्धानदाता याङ छाओयुए, वरिष्ठ अनुसन्धानदाता थाङ छिफाङ, चाइनिज एकेडेमी अफ सोसल साइन्सकी अन्तर्राष्ट्रिय रणनीति प्रतिष्ठानकी एसोसिएटेड अनुसन्धानदाता याङ स्याओफिङलगायतले नेपाल– चीनका बहुपक्षीय सम्बन्ध र आयामबारे प्रस्तुति दिनुभएको थियो ।
उहाँहरुले बेल्ट एण्ड रोड इनिसिएटिभ र नेपाल र चीनबिचका अन्य संयन्त्रहरूमार्फत साझा विकासको सम्भावनामाथि प्रकाश पार्नु भएको थियो । उहाँहरुले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न साझा समृद्धि, पारस्परिक हितका लागि दुई देशका नेताहरूले गरेको सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नेपाल र चीनका, शिक्षाविद्, थिंक ट्याङ्क, प्राध्यापक, विद्यार्थी, पत्रकारका उपस्थिति रहेको थियो ।