रामकृष्ण बोहरा
बागलुङ, पुस ९ गते । भारतको उत्तरप्रदेश पर्यटन विभागका सह–निर्देशक दिपक कुमारले बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेस्थित शालीग्राम संग्राहलय घुमेपछि आफ्नो क्षेत्रका पर्यटकलाई पठाउने बताउनुभयो । घरमा एक–दुई शालीग्राम पुज्ने गर्नुभएका कुमार एक लाख १५ हजारभन्दा बढी शालीग्राम देखेपछि दङ्ग पर्नुभयो ।
पोखरा पर्यटन परिषदको अगुवाइमा उहाँसँगै भ्रमणमा आउनुभएका ट्राभल एजेन्सीका अगुवा अनिरुद्र रावतले त पोखरा आउँदा बागलुङ छुटाउनै नहुने गन्तव्य रहेको सुनाउनुभयो । गत साता पर्यटन भ्रमणमा आउनुभएका उहाँहरु त प्रतिनिधि पात्र हुनुहुन्छ । उहाँहरुले देखे–भोगेको विषयलाई भारतमा गएर प्रचारप्रसार गर्ने र भारतिय पर्यटकलाई पठाउने काममा लाग्ने बताउनुभयो ।
धार्मिक रुपमा महत्त्वपूर्ण मानिने शालीग्रामको दर्शनले धार्मिक पर्यटकलाई लोभ्याउने गरेको छ । धार्मिक भ्रमणको यात्रामा आएकादेखि अन्य कामले आउने भारतीय भक्तजनले शालीग्राम संग्राहलय रोज्ने गर्नुभएको छ ।
सुरुङभित्र राखिएको शालीग्राम हेर्न आउनेहरुले अनौठो मान्ने गरेको संग्राहलयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताउनहुन्छ । ‘‘मुक्तिनाथ जानेहरुले त यहाँ अनिवार्य दर्शन गर्नुहुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘शालीग्रामको महत्त्व भारत वर्षमा धेरै छ ।’’ नेपालको मधेश प्रदेश र मिथिला सभ्यतामा समेत शालीग्राम दर्शनको महत्त्व बढी भएकाले सो क्षेत्रका पर्यटक बढी आउन थालेको उहाँको भनाइ छ ।
एक लाख १५ हजार शालीग्राम दुई सय मीटर लामो सुरुङभित्र राख्ने सङ्कल्पपछि ऋषि प्रपन्नाचार्य तराइ र भारतका सहर पुग्दा प्रचार गर्नुभएको थियो । अहिले कतिपय भारतीयहरु नेपालको पुर्वदेखि पश्चिमसम्म स्थान घुम्न ७ देखि १० दिनको प्याकेज बनाएर आउनुहुन्छ । त्यसका लागि संग्राहलय र बागलुङ कालीका मन्दिर गन्तव्य बनेका हुन् । ‘‘हामीले पर्यटक भनेका छैनौं, भक्तजनहरु धेरै नै आउनुभएको छ’’ उहाँले भन्नुभयो, ‘‘आएका भक्तजनलाई एकरात राखेर बिदाइ गर्छौ ।’’
बागलुङको प्रतिकको रुपमा संग्राहलयको गेटलाई बाघको मुखाकृति बनाइएको छ । हालै संचालनमा आएको इला कम्फर्टले पनि शालीग्राम संग्राहलयलाई प्रचारको रुपमा जोड्ने गरेको छ । कतिपय भारतीय पर्यटक उक्त होटलमा बस्न पुग्ने गर्नुभएको छ । दक्षिण भारतको केरला, आन्द्रप्रदेश, गुजरात लगायतका स्थानबाट बढी भारतीय आउने गरेको संग्राहलयकै तथ्याङ्कमा उल्लेख छ ।
भारतबाट आउनेले जनकपुर, लुम्बिनी, पशुपति र मुक्तिनाथको यात्रामा शालीग्राम संग्राहलयलाई प्राथमिकतामा पार्नुभएको हो । भक्तपुरका बरुण गोपाल श्रेष्ठले पहिलो पटक शालीग्रामको संग्रह देख्न पाउँदा अद्भूत लागेको बताउनुभयो । ‘‘अब आफ्ना टोल छिमेकीलाई पनि शालीग्राम संग्राहलय घुम्न पठाउने हो’’ श्रेष्ठले भन्नुभयो ।
साहसिक पर्यटनसँगै धार्मिक सर्किटमा जोड्दा बागलुङले पर्यटक भित्र्याउन सक्ने भएपछि बागलुङ नगर पर्यटन समितिले पनि धार्मिक पर्यटकलाई प्राथमिकता दिने अध्यक्ष राजु खड्का बताउनुहुन्छ । यो अभियानलाई आफ्नै पर्यटन नारा, लोगो र महत्वपूर्ण गन्तव्यलाई क्युआर कोर्डमा दर्ता गरिएको छ । बागलुङ कालीका भगवती, शालीग्राम संग्राहलय, सर्वसिद्वीधाम पञ्चकोट, भैरवस्थान, मालिका, लामो झोलुङ्गेपुल, भकुण्डे, कालीगण्डकी र बञ्जीजम्पलाई क्युआरमा राखिएको हो ।