नवीनराज कुइँकेल
लमजुङ, पुस ९ गते । सदरमुकाम बेंसीसहरमा नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा लमजुङ प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
बेंसीसहर नगरपालिका–८ ठाडोलाइनमा किराना पसल तथा होटल सञ्चालनको आडमा नाबालिकालाई अनैतिक क्रियाकलापमा संलग्न गराएको आरोपमा पसलकी सञ्चालिका ४५ वर्षीया कोपिला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले उजुरीका आधारमा ती महिलालाई पक्राउ गरिएको बताउनुभयो । प्रहरी टोलीले उक्त पसलबाट तीन जना नाबालिकाको उद्धार गरेको समेत जनाएको छ । उद्धार गरिएका नाबालिकालाई आवश्यक संरक्षणका लागि संरक्षण गृहमा राख्न पठाएको उहाँले बताउनुभयो ।
पक्राउ परेका श्रेष्ठविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मङ्गलबार लमजुङ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट आर्थिक अवस्था कमजोर रहेका नाबालिकालाई कामको प्रलोभन देखाई पसलमा राख्ने र पसलको पछाडिपट्टि छुट्टै कोठा व्यवस्था गरी यौन व्यवसायमा संलग्न गराएको खुलेको छ । नाबालिकालाई अनैतिक क्रियाकलापमा संलग्न गराई यसबाट आर्थिक लाभ लिइएको प्रमाण फेला परेपछि श्रेष्ठलाई सोमबार नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।