• १६ भदौ २०८१, आइतबार

सिरियल किलरको कथा ‘कटपुतली’

blog

काठमाडौँ, भदौ २२ गते । बलिउड अभिनेता अक्षय कुमार अभिनीत ‘कटपुतली’ सस्पेन्सले भरिएको चलचित्र हो। चलचित्रले दर्शकलाई अन्त्यसम्म नै उत्साहित बनाउँछ। चलचित्रमा अक्षयसँगै रकुल प्रीत सिंह, चन्द्रचुर सिंह, सरगुन मेहताको पनि अभिनय देख्न सकिन्छ। चलचित्रलाई ज्याकी भगवानीले निर्माण गरेका हुन् भने रञ्जित एम तिवारीले निर्देशन गरेका छन्। चलचित्र २०१८ को तमिल साइकोक्राइम थ्रिलर ‘रत्सासन’को रिमेक हो।

चलचित्र एउटा डरलाग्दो सिरियल किलरको कथा हो जसले सिङ्गो कसौली सहरलाई हल्लाएको छ। चलचित्रमा अक्षय एक पुलिस अफिसरको भूमिकामा देखिएका छन्, जसले सिरियल किलरलाई ट्रेस गर्ने काम गर्छन्। सिरियल किलरले धेरै स्कुलका छात्राको हत्या गरिसकेका हुन्छन्। जो युवतीहरू १५ देखि १६ वर्षका छन्। अक्षय र उनको पुलिस टोलीले हत्यारालाई खोजिरहेका हुन्छन्। रकुल प्रीत सिंह एक स्कुल शिक्षिकाको भूमिकामा देखिएकी छिन् र उनी अक्षयलाई सिरियल किलरको खोजी गर्नमा मद्दत गरिरहेकी हुन्छिन्। 

अक्षय र उनको टोली सिरियल किलर पक्रन सफल हुन्छ कि हुँदैन भन्ने कुरा नै चलचित्रको मुख्य विषय हो। चलचित्रको विशेषता नै यो हो कि चलचित्रले दर्शकलाई सिनेमा घरमा अन्त्यसम्म बाँधेर राख्न बाध्य बनाउँछ। 

यस चलचित्रमा पनि अक्षय कुमारले सधैँझैँ आफ्नो शतप्रतिशत दिएका छन्। रकुलको अभिनयलाई पनि ठिकै भन्नुपर्छ। चलचित्रमार्फत निर्देशक तिवारी दर्शकलाई सिनेमा घरमा साढे दुई घण्टासम्म बाँधेर राख्न सफल भएका छन्। सस्पेन्स सिरियल किलरको कथालाई अवश्य नै दर्शकले रुचाउनेछन्।