• १७ असार २०८१, सोमबार

सडक विस्तारको एक वर्ष म्याद थप

blog

नारायणगढ–बुटवल सडक विस्तार हुँदै, तस्विर– मीना कँडेल

मीना कँडेल 

कावासोती, भदौ १६ गते । नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएको निर्माण कम्पनीको एक वर्ष म्याद थप गर्ने तयारी गरेको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम ९० दशमलव ६६ प्रतिशत अर्थात् सडक विस्तारको अधिकांश काम सक्नुपर्नेमा तर सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेट लिमिटेडले जम्मा १८ दशमलव ४४ प्रतिशत मात्र काम सकेको छ ।

कम्पनीले काम गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेको बेला चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेट लिमिटेडले एक वर्ष म्याद थप गर्ने तयारी गरेको हो । कम्पनीले निर्माण व्यवसायीबाट निर्माण आरम्भमा ढिलाइ गर्नु, रुख कटान गर्नुपर्ने सङ्ख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनु आदि कारण देखाएर काम ढिलो हुनुको कारण पेस गरेको छ । 

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख रमेशकुमार दिष्टीले लक्ष्यभन्दा ७८ दशमलव २२ प्रतिशत कम काम भएको बताउनुभयो । सडक विस्तारमा ढिलो हुनुका कारणलाई खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, वर्षाको पानी निकासको समस्या, काठ दाउरा हस्तान्तरणमा समस्यालगायतका कारण पनि अगाडि सारेको छ । 

ठेक्का सम्झौताअनुसार काम रोकिएको समयावधि गणना गर्दै त्यस अवधिको म्याद थप गरिएको स्रोतको भनाइ छ, जसअनुसार पूर्वी खण्डमा ३८६ र पश्चिम खण्डका लागि ३६५ दिन म्याद थपिएको छ ।

नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत राखिएको छ ।  ६४ दशमलव ४२५ किलोमिटर सडक खण्ड रहेको नवलपुरमा १७.६ किलोमिटर ६ लेन, ४२.७ किलोमिटर ४ लेन, ४.१ किलोमिटर ३ लेन (दाउन्ने खण्ड) को सडक विस्तार हुने बताइएको छ ।  दुई खण्ड गरेर कुल ठेक्का रकम १६ अर्ब ९९ करोड रुपियाँ छ । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनसँग गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । 

सडक विस्तार ढिलो हुँदा एक देखि सवा एक घण्टामा पार गर्न सकिने नवलपुर सडक खण्ड पार गर्न तीन घण्टा बढी लाग्ने गरेको छ । जसले गर्दा यात्रुहरूलाई निक्कै सास्ती हुने गरेको छ । त्यसै गरी ठाउँ–ठाउँमा जीर्ण भएका सडकहरू मर्मत नहुँदा धुलोको प्रदूषणले यात्रुहरूले सास्ती खेप्नु परेको छ ।