• ७ जेठ २०८१, सोमबार

खोलामा पुल नहुँदा विद्यार्थीलाई सास्ती

blog

विशुवा खोला तरेर विद्यालय जाँदै बालबालिका । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, भदौ ९ गते । खोलामा पुगल नभएपछि विद्यालय पुग्न विद्यार्थीलाई सास्ती भएको छ । विजयनगर गाउँपालिकाको शिव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो सास्ती भोग्नुपरेको हो । 

“विद्यालय पुग्न खोला पार गर्नुपर्छ । खोलामा पुल छैन । पानी पर्दा भेल आउँछ । खोला पार गर्दा ओर्लिने ठाउँ चिप्लो छ । त्यसैमा चिप्लिएर पटक पटक लडिन्छ” एक विद्यार्थीले दुःख व्यक्त गर्नुभयो । कैयौँ पटक किताब झोला भिज्छ, साथीहरु चोट पटक लागेर घाइते हुने गर्नुभएको छ” कक्षा १० मा अध्ययनरत रन्जु कुर्मी ले पीडा सुनाउनुभयो । 

कपिलवस्तुको विजयनगर गाउँपालिका ५ देवीपुर डालपुर जोडने विशुवा खोलामा साना २ थान ह्युम पाइप राखिएको छ । सानो डाइभर्सनजस्तो देखिने ह्युमपाइप वरिपरिको माटो समेत यस पटकको वर्षाले बगाएको छ । वडाको करिब सात टोलका बालबालिका अध्ययन गर्ने एकमात्र विद्यालय पुग्न विद्यार्थीले खोला पार गर्नुपर्छ । 

खोला पारिका करिव २५० बालबालिका विद्यालयमा अध्ययन गर्ने विद्यालयका शिक्षक बालजी कलवारले बताउनुभयो । वर्षा भयो भने बाढीका कारण बालबालिकाहरु जोखिम मोल्दै विद्यालय पुग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।  

विजयनगरका ठाकुरापुर, देवीपुर, दत्तपुर, कटानियालगायतका बस्तीलाई जोड्ने खोलामा पुल नहुँदा बालबालिका मात्र नभई स्थानीयले सास्ती खेप्दैआएका छन् । पुल नहुँदा वर्षायाममा आउजाउ गर्न सास्ती खेप्नुपरेको छ । पुल नहँुदा विद्यालय जाने क्रममा हिलोमा चिप्लिएर केही विद्यार्थी घाइते भएको विद्यालय की छात्रा पूर्णिमा विश्वकर्माले बताउनुभयो ।  

नगरपालिकाले डीपीआर निर्माण गरी पुल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गरेको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । पुल नहुँदा केही बालबालिका खोलामा डुवेर मृत्यु भएको अध्यक्ष थापाले बताउनुभयो । सो स्थानमा १५० मिटर लामो मोटरेवल पुल आवश्यक परेको हुँदा गाउँपालिकाको बजेटले अपुग हुने हुँदा संघीय सरकार र प्रदेश सरकारसँग माग गरेपनि सुनुवाई नभएको अध्यक्ष थापाले गुनासो गर्नुभयो ।