• २७ वैशाख २०८१, बिहिबार

अनधिकृत संरचना धमाधम भत्काइँदै

blog

काठमाडौँ, भदौ ९ गते । काठमाडौँ महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । नक्सा पास नगरी अनधिकृत रूपमा निर्माण गरिएका तथा नक्सा पास भए पनि त्यसविपरीत बनाइएका संरचना भत्काउने कार्यलाई महानगरले अभियानका रूपमा सुरु गरेको हो । यसरी अनधिकृत रूपमा निर्माण गरिएका टहरा भत्काउने कार्य महानगरमा धेरै समयपछि पुनः थालिएको छ ।

महानगरले स्वीकृत नक्साअनुसार भूमिगत पार्किङको ठाउँमा सञ्चालन गरिएका पसलहरूलाई समेत हटाउने कामको थालनी गरेको छ । महानगर प्रमुख बालेन्द्र शाह र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहितको टोली सम्बन्धित स्थलमै उपस्थित भएर अनधिकृत संरचना हटाउन सुरु गरिएको छ ।

महानगर प्रमुख शाहका सचिवालय सदस्य सुनिल लम्सालले अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत बुधबार सुन्धारास्थित काठमाडौँ मलमा तथा खिचापोखरीस्थित आरबी कम्प्लेक्सअगाडिका संरचना पनि भत्काइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनधिकृत संरचना हटाउने अभियान बुधबारदेखि सुरु भएको हो । यो निरन्तर चलिरहन्छ ।”

पार्किङ सञ्चालनको नक्सा पास गरी निर्माण गरिएको क्षेत्रमा पसल सञ्चालन गर्दै आएका घरधनी तथा अन्य घरधनीलाई पसल हटाई पार्किङ सुरु गर्न तथा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन ३५ दिने म्याद दिइए पनि त्यसको पालना नभएपछि हटाउन सुरु गरिएको सचिवालय सदस्य लम्सालले बताउनुभयो । काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजु पाण्डेले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गामा यती समूहद्वारा निर्माण गरिएको कम्प्लेक्सको बेसमेन्ट खाली गराउने काम सुरु गरिएको जानकारी दिनुभयो ।  

नक्सा पासअनुसार सो कम्प्लेक्समा पार्किङ सञ्चालनका लागि बेसमेन्ट तयार गरिए पनि त्यहाँ रक्सीको बार सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, “बेसमेन्टका केही भौतिक संरचना महानगरले भत्काइदिएको छ । बाँकी संरचना भत्काउन र हटाउन दुई दिनको समय दिइएको छ । कम्प्लेक्स धनीले नहटाएमा महानगरले हटाउनेछ ।” यसअघि महानगरपालिकाले सोमबार नयाँ बानेश्वरमा स्वीकृत नक्साअनुसार भूमिगत पार्किङको ठाउँमा सञ्चालन गरिएका पसलहरू हटाएको थियो ।

सबै बराबरी

महानगर प्रमुख शाहले कानुन सबैलाई लाग्ने र बराबरी हुने बताउँदै काठमाडौँ जिल्ला अदालत परिसरमा अनधिकृत संरचना निर्माण गरेको भए त्यसलाई समेत हटाइने स्पष्ट पार्नुभयो । महानगरले अदालतलाई समेत अनधिकृत संरचना आफैँले हटाउन समय दिइसकेको छ । 

महानगरले बबरमहलमा रहेको काठमाडौँ जिल्ला अदालतलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । पार्किङसहितको नक्साअनुसार निर्माण भएका भवनमा पार्किङ सञ्चालन गरिएको अवस्थामा महानगरभित्रको २५ प्रतिशत पार्किङको समस्या समाप्त हुने उहाँको भनाइ छ । व्यावसायिक भवनका लागि जमिनको २० प्रतिशत र शैक्षिक संस्थाका लागि १५ प्रतिशत जमिन पार्किङका लागि छुट्याउनुपर्ने प्रावधान छ ।

भवन मापदण्डअनुसार व्यावसायिक सार्वजनिक भवन (तारे होटल, सिनेमा हल, थिएटर, व्यापारिक कम्प्लेक्स, नर्सिङ होम, पोलिक्लिनिक, सरकारी, अर्धसरकारी कार्यालय)का लागि जमिनको २० प्रतिशत भागमा पार्किङको व्यवस्था हुनुपर्छ । त्यसैगरी विद्यालय, क्याम्पसजस्ता शैक्षिक संस्थाका लागि १५ प्रतिशत भाग छोड्नुपर्छ । नक्सा स्वीकृत हुँदा यही मापदण्डका आधारमा भएको हो । 

कारबाहीको सूची

महानगरपालिकाका अनुसार पार्किङका लागि बनाइएको भूमिगत तलालाई व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्नेे करिब तीन सय भवन कारबाहीको सूचीमा छन् । घरधनीहरूले भूमिगत तलामा पार्किङको व्यवस्था गर्ने उल्लेख गरी नक्सा पाससहित घर बनाए पनि भूमिगत तलालाई पार्किङका लागि नभई पसल, क्याफे सञ्चालनलगायत व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएपछि महानगरपालिकाले कारबाही सुरु गरेको जनाइएको छ ।