• २३ वैशाख २०८१, आइतबार

तीज गीत विशेष : चरी जेलैमादेखि कारमा चढाएरसम्म

नयाँ नयाँ गीतमा छमछम नाचौं बरि लै...

blog

काठमाडौं, भदौ ७ गते । हिन्दु नेपाली नारीको महान् पर्व हरितालिका तीजको शुभकामनासहित लोकप्रिय गायक गायिकाले हरेक वर्ष विभिन्न तीज गीत कोसेली ल्याउने गरेका छन्। तीजमा लोक भाका र गीतले थप रमाइलो र उत्साह थप्ने गरेको पाइन्छ । हरेक वर्ष सयौं तीजका नयाँ भाका बजारमा आउने गर्छन्। 

तीजको दिन शिव मन्दिर र शिवालयमा दर्शनार्थीको भीड हुन्छ। पार्वतीले शिवजीलाई वरका रुपमा प्राप्त गर्न तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास छ। तीजमा गीत संगीतको कुरा गर्दा परम्परागत शैलीका मौलिक गीत हराउँदै गएको पाइन्छ। तीज गीतको भाकामा अश्लील अनि दुई अर्थ लाग्ने गीतले चर्चा पाइरहेका छन्। 

कस्ता छन् त यसपालि तीजका गीत 

अघिल्लो वर्ष विष्णु माझीको स्वरमा सजिएको ‘चरी जेलैमा’ गीतले चर्चा पाएको थियो। यो वर्ष पनि विष्णु माझीको तीज गीतको प्रतीक्षामा कैयौं नेपाली महिला थिए। तीज विशेषका लागि गायिका विष्णु माझीले यसपालि ‘चरी जेलैमा २’ ल्याउनुभएको छ। गीतमा विवाहित महिला तीजमा माइत जान नपाएको दुः खलाई देखाइएको छ। गीतमा महिलालाई एक जेलमा रहेको चरीको रुपमा प्रस्तुत गरिएको छ। जो माइत जान नपाएको दुः ख व्यक्त गर्दै गरेको देखिन्छ।

 ‘नाच्न त मन थियो राधा पियारी, पाउमा पाउजु छैन बरी लै’ बोलको गीतमा प्रियंका कार्की र सृष्टि श्रेष्ठको नृत्य देख्न सकिन्छ। सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर समावेश गीतलाई कालीप्रसाद बाँस्कोटाले सङ्गीत भर्नुभएको हो।  

यो गीत फिल्म ‘राधा’ को तीज गीत हो। श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने महिलालाई लक्षित गर्दै र साउन महिनाको पहिलो सोमबार यो गीत सार्वजनिक गरिएको हो। गायिका रेखा शाहले यसपालि तीजका लागि ‘छमछम पातली कम्मर’ तीज गीत ल्याउनुभएको छ। गीतको भिडियोमा नीता ढुङ्गाना र गायिका शाहकै नृत्य र अभिनय देख्न सकिन्छ। यस तीज गीतको म्युजिक भिडियोमा स्मृति तिमिल्सिनाको निर्देशन र कोरियोग्राफी छ। गीतमा टेकेन्द्र नेपालीको शब्द र सङ्गीत तथा पुष्कर खत्रीको सङ्गीत संयोजन छ।

लोकप्रिय गायिका प्रीति आले र गायक राजेश बर्देवाले यसपालि तीज विशेष ‘भेलु बाजे डान्स’ को म्युजिक भिडियो प्रस्तुत गर्नुभएको छ। गीतमा दिदीबहिनी जम्मा भएर तीजमै रंगिने र नाच्न पाइने देखाइएको छ। तीजको दिन दिदीबहिनी मिलेर रमाइलो गरी नाच्दा दुःख बिर्सने कुरालाई गीत मार्फत् प्रस्तुत गरिएको छ। यसबाहेक गीतको भिडियोमा सबैका चाहनालाई देखाइएको छ। अरुको नक्कल नगरी तीजमा आफूसँग जे छ त्यसमै रमाइलो गर्नुपर्ने सन्देश गीतले दिएको छ। 

प्रतिभा शर्माको शब्द, प्रिय कुमारको सङ्गीत र केशव बाबुको एरेन्ज रहेको गीतलाई नयाँ ढङ्गले प्रस्तुत गरिएको छ। 

गायिका प्रिती र गायक राजेश बर्देवाको सहकार्यमा गीतको भिडियो तयार भएको हो। भिडियोमा वर्षमा एक पटक आउने तीजले हराउँदै गएको कला संस्कृति नेपालीको चिनारी जीवित राख्नुपर्ने सन्देश दिएको छ। 

प्रवासको कोसेली ‘माइती आँगन’ 

यसबाहेक सम्पूर्ण नारीमा प्रवासमा रहेका नेपालीको तर्फबाट उपहार स्वरुप तीज गीत भिडियो ल्याउनुभएको छ। प्रवासमा रहेका नेपाली नारीको तर्फबाट तीजको शुभकामना प्रस्तुतिमा प्राश्ना शाक्यको स्वर रहेको ‘माइती आँगन’ बोलको गीतमा मन्जु खनालको शब्द रचना तथा सुनिल मास्केको सङ्गीत छ। माइती आँगनमा तीजमा माइत नगएसम्म तीजको रौनक अधुरो हुने कुरालाई उल्लेख गरिएको छ। 

शान्तिश्री परियार र सारिका घिमिरेको स्वर रहेको गीतमा रश्मि भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, सङ्गीता श्रेष्ठ, आरती थापामगर, सुस्मिता पौडेल, सपना रिमाल, माया लगायतले अभिनय गर्नुभएको छ। 

यस्तै, हरेक वर्ष तीज उपहार स्वरुप दर्शकमाझ नयाँ गीत ल्याउँदै गरेका गायिका सिन्धु मल्लको ‘देवरज्यूको बिहे’ बोलको गीत ल्याउनुभएको छ। गीतमा भाउजू र देवर बीचको प्रेम र सद्भावलाई देखाइएको छ। गीतमा सिन्धु मल्ल आफ्नो देवरको बिहेमा रमाउँदै गरेको देख्न सकिन्छ। 

योबाहेक, २०७९ तीज विशेष साङ्गीतिक उपहारको रुपमा अर्जुन सापकोटा र स्मृति तिमिल्सिनाको ‘डिजेलको भाउ बढ्यो’, खुमन अधिकारी र सुनीता बुढा छेत्रीको के ‘गर्यो रुपैले’, शान्ति श्री परियारको ‘माझी दाइ’, पशुपति शर्मा र निशा केसीको ‘डालीमा चिल बस्यो’, पशुपति शर्मा र सम्झना भण्डारीको ‘मै राम्रो छैन’, मेलिना राई र अन्नु चौधरीको ‘नाचौं छमछम’, टीका पुनको ‘कर्मैले घुमायो’, राधिका हमाल र भीम कुसरीको ‘कारमा चढाएर’ लगायत तीज गीत बजारमा आएका छन्।