• २६ चैत २०८२, बिहिबार

सल्यानमा पाँचतले गुफासम्म पुग्ने पदमार्ग निर्माण

blog

सल्यानको छत्रेश्वरी गाउँपालिका–३ स्थित पाँचतले गुफासम्म पुग्न निर्माण गरिएको पदमार्ग। तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, चैत २६ गते ।
दुर्गम भूगोल र कमजोर पूर्वाधारका कारण ओझेलमा परेको सल्यानको छत्रेश्वरी गाउँपालिका–३, लैंसेस्थित पाँचतले गुफा क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने पहल थालिएको छ।

गुफासम्म सहज पहुँचका लागि ५२७ मिटर लामो पदमार्ग निर्माण सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत निर्माण गरिएको उक्त पदमार्गमा ३७ मिटर आरसीसी ढलानसमेत गरिएको छ। रोजगार संयोजक पवन खत्रीका अनुसार १४ लाख ५५ हजार रुपियाँ लागतमा सम्पन्न यस योजनाले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै पर्यटन पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

निर्माण अवधिभर ४५ जना स्थानीय श्रमिक प्रत्यक्ष संलग्न भएका थिए। गाउँपालिकाका अनुसार यस योजनाबाट करिब ८७५ जना लाभान्वित भएका छन् भने ८७ घरधुरीले प्रत्यक्ष सुविधा पाएका छन्।

यसअघि जोखिमपूर्ण र कठिन बाटोका कारण गुफासम्म पुग्न कठिनाइ हुने गरेको स्थानीयवासीको गुनासो थियो। नयाँ पदमार्ग निर्माणसँगै अब यात्रा सुरक्षित र सहज बनेको छ, जसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

मंगलबार गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीसहित प्राविधिक टोलीले पदमार्ग तथा वडा नं. ३ को कार्यालय भवनको स्थलगत अनुगमन गर्नुभएको थियो।

अनुगमनका क्रममा उपाध्यक्ष खत्रीले श्रममुखी पूर्वाधार योजनाले बेरोजगारी न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। “दुर्गम क्षेत्रमा साना, तर प्रभावकारी पूर्वाधार योजनाले विकासको आधार तयार पार्छन्,” उहाँले भन्नुभयो।

गाउँपालिकाले पाँचतले गुफा क्षेत्रको थप प्रचार–प्रसार, संरक्षण र अन्य पूर्वाधार विस्तारको आवश्यकतालाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकास गर्ने लक्ष्य राखेको जनाएको छ।