• २८ चैत २०८२, शनिबार

छोटो अवधिमा उत्पादन हुने धानको परीक्षण सुरु

blog

छोटो अवधिमा उत्पादन हुने धानको परीक्षण गर्न बिरुवा रोप्दै पल्लवी सिंहलगायत स्थानीय । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 
ढल्केबर, चैत २६ गते ।
धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले छोटो अवधिमा उत्पादन हुने धानका विभिन्न जातको परीक्षण सुरु गरेको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथले कोपिया परियोजनाअन्तर्गत धनुषाको बटेश्वरमा परीक्षण सुरु गरेको हो ।

नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक डा. पल्लवी सिंहले जलवायु परिवर्तनका कारण खेती प्रणालीमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै छोटो अवधिमा पाक्ने तथा उच्च उत्पादन दिने धानका जातको खोजी तथा परीक्षण थालिएको बताउनुभयो । उहाँले परीक्षण सफल भएमा उत्पादन वृद्धि मात्र नभई समयमै बाली भित्रियाउन सकिने भएकाले किसानलाई प्रत्यक्ष लाभ पुग्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘परीक्षणमा किसानको अनुभव समेट्न बटेश्वरमा धानका बिरुवा रोपिएको हो ।’’ उहाँका अनुसार यो परीक्षणमा किसानलाई प्रत्यक्ष सहभागि गराइएको छ ।

सहभागी किसानले आफ्नै खेतमा विभिन्न धानका जात रोप्ने, तिनको वृद्धि विकास, उत्पादन क्षमता तथा रोगप्रतिरोधी अवस्थाको अवलोकन गर्नुहुन्छ । उहाँहरुले आफ्ना अनुभव, आवश्यकता र प्राथमिकताका आधारमा उत्कृष्ट जात छनोट गर्न गरिनेछ । स्थानीय हावापानी र भौगोलिक अवस्थाअनुसार उपयुक्त धानका जात पहिचान गर्न सके उत्पादन वृद्धि गर्न महत्त्वपूर्ण सहयोग सिंहको भनाइ छ ।

अनुसन्धान कार्यक्रम हर्दिनाथका सूचना अधिकारी तथा वरिष्ठ प्राविधिक रबेन्द्रप्रसाद साहले हालसम्म कम अवधिमा उत्पादन हुने धानमध्ये हर्दिनाथ–१ जातको धान रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सो जातका धान करिब १०५ दिनमा पाक्ने गर्छ । यसभन्दा पनि कम अवधिमा तयार हुने धानको पहिचान गर्नका लागि अहिले यो परीक्षण सुरु गरिएको हो ।

साहले अनुसन्धान केन्द्रको परिसरका साथै चयन गरिएका किसानका खेतमा पनि धानका विभिन्न जातका धान रोपेर परीक्षण भइरहेको बताउनुभयो । यसले प्रयोगशालामा सीमित अनुसन्धानलाई खेतसम्म विस्तार गर्दै किसानको व्यवहारिक अनुभवलाई समेत अनुसन्धान प्रक्रियासँग जोड्ने काम गर्ने उहाँको भनाइ छ । उहाँका अनुसार स्थानीय हावापानी सुहाउँदो, कम पानीमै उत्पादन दिन सक्ने तथा जलवायु परिवर्तनअनुकूल धानका जात पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

साहले विशेषगरी चैते धानको उत्पादन बढाउन जोड दिइएको बताउँदै यसले वर्षभरि धान उत्पादन प्रणालीलाई सुदृढ बनाउँदै खाद्य सुरक्षामा टेवा पु¥याउने र किसानको आम्दानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।