• २८ चैत २०८२, शनिबार

ढुटोमा लुकेको स्वास्थ्यको कथा

blog

विक्रम संवत् २०३२ तिरको कुरा हो । ललितपुर जिल्लाको चापागाउँ पुग्दा पोषणविज्ञ मिरियम दिदीले प्रायः त्यहाँका महिला र पुरुषको मुखको कापमा खटिरा भएको, जिब्रोमा बिमिरा भएको देखिन् । मिरियम दिदीले कारण पत्ता लगाउँदै जाँदा त त्यहाँ एक वर्षअगाडि एउटा बिजुलीले चल्ने मिल आएको रहेछ । मानिस “सेतो चामल राम्रो हुन्छ” भनेर त्यही मिलमा चामल कुट्न जान थालेछन् । पहिले–पहिले ढिकीले कुट्दा चामल रातो हुन्थ्यो । पोषण पनि रहन्थ्यो तर सेतो चामल खाँदा त सबै पोषण खत्तम भएछ । मिलमा कुटेको चामलको ढुटो गाईबस्तुलाई दिने गरेछन् । चामलको ढुटोमा रहेको विभिन्नथरीका भिटामिनबारे गाउँलेलाई थाहा थिएन । त्यसैले मिरियम दिदीले गाउँलेलाई त्यसबारे बुझाएर त्यही मिलबाट, उनीहरूको चामलबाट निस्केको ढुटो दुई/तीन प्याकेट दिनुभयो । बिहान बेलुका तरकारी र दाल पकाउँदा हालेर खान सल्लाह पनि दिनुभयो । १०/११ दिनपछि ढुटो खाएपछि मुखका खटिरा ठिक भए । 

ललितपुरमा मिरियम दिदीले माया गरेर गाउँलेको मुखको खटिरा समाप्त पार्न चामलको ढुटो दिएकी थिइन् । गाउँलेको साथमा रहेको खानेकुरा गाउँलेलाई नै फिर्ता दिइन् । ज्ञानसहित फिर्ता दिएपछि पो गाउँलेको आँखा खुलेछ । ढुटोमा रहेको विभिन्न किसिमका भिटामिन पो उनीहरूको औषधी रहेछ । कस्तूरी मृगले आफ्नै नाभीमा रहेको कस्तूरीबारे थाहा नपाएर यता र उति खोज्दै हिँड्छ । त्यो बेलाका ललितपुरका बासिन्दाझैँ अहिले पनि हामीहरू आफैँसँग भएका खानेकुरबारे थाहा नपाएर विभिन्न समस्याको सिकार भइरहेका छौँ । 

एउटा कथा सानो छँदा पढ्थ्यौँ– एकजना दिदी र भाइ बस्दारहेछन् । आमाको मृत्यु भइसकेकाले भाइको हेरचार गर्ने दिदी थिइन् । एक दिन दिदीको पनि विवाह भयो र उनी परदेश लागिन् । भाइ एक्लै भए, रोए । अनि दिदीको न्यास्रो लागेर एक दिन परदेश भेट्न दिदीकहाँ गए । गरिब भाइलाई देखेर दिदी खुसी भइनन् । उनलाई बाहिर आँगनमा सुताइन् र घरमा रहेको अजङ्गको भोटेकुकुरलाई खोले पकाउँदा, त्यसैमा चामलको ढुटो हालेर भाइलाई दिइछन् । दिदीले चामलको ढुटो आफूलाई हेपेर दिएको थाहा पाएपछि आफू रुँदै गाउँ फर्केछ । यस्ता कथा पढ्दा मेरो चित्त दुख्थ्यो । कसरी दिदीले चामलको ढुटो भाइलाई खान दिन सकेकी होलिन् भनेर ती कथाकी दिदीसँग रिस पनि उठ्थ्यो । अहिले त्यही कथा पढ्दा लाग्छ, दिदीले त थाहै नपाएर होला, हेपेरै भए पनि बडो पोषणयुक्त खानेकुरा पो दिएकी रहिछन् त भन्ने लाग्न थालेको छ । 

ठुल्ठूला भोजन बनाउने कम्पनीले हामीलाई आफ्नै स्थानमा पोषणबारे जानकारी दिएर, त्यसको प्रयोग गर्न लगाउनुको सट्टा बाहिरबाट खानेकुरा पठाएर हामीलाई परजीवी बनाइदिएको छ । यसका दुःखद उदाहरण हो– कर्णाली र सुदूरपश्चिमका बासिन्दाको खानेकुरामा आएको परिवर्तन । 

“त्यहाँ मानिस गरिब छन्, खाद्य असुरक्षा छ” भनेर चामल पठाउने सरकारले त्यहाँका खानेकुरालाई विस्थापित गरेको छ । अछाममा गहुँ फलेर रोटी खाने चलन थियो । “गहुँ त्यहाँबाट बाहिर निर्यात पनि हुन्थ्यो” आजभन्दा दस वर्षअघि त्यहाँका प्रमुख जिल्ला अधिकारीले भनेका थिए, “अहिले त सरकारले चामल पठाएर, मानिस चामल मात्रै खोज्छन्, गहुँ पनि छर्न छोडे ।” 

त्यस्तै अवस्था मैले मुगुमा देखेकी थिएँ । मुगुको रारातालनजिकै गाउँमा गएर वृषबहादुरको घरमा बस्दा उहाँले मलाई भातै खुवाउनुभयो । फापर र कोदोको रोटी खुवाउनोस् भन्दा त “कहाँ हजुर अब त कोदो र फापरै रोप्न छोड्यौँ । खाद्य संस्थानले धनगढीमा चामल ल्याउँछ, त्यहीँ लिन जान्छौँ । खान्छौँ । आलु र फापर त अति गरिब मानिसले मात्रै खान्छन् । उनीहरू पनि पाएसम्म चामलै खोज्छन् ।” चामल खाए ठुलो मान्छे भइन्छ भन्ने जनतालाई परेको छ । काठमाडौँबाट जाने सबै सरकारी कर्मचारी चामल मात्रै खान्छन् । “ठुलाबडाको देखासिकी गर्ने त हो नि स्थानीय कर्मचारीले,” वृषबहादुरले भन्नुभएको थियो । 

चार जना छोराछोरीका बाबु वृषबहादुका सन्तान सबै कुपोषित थिए । “फापर र कोदो, आलु, सिमी अलि अलि गर्दै दिनमा चार–पाँचचोटि खुवाए यिनको कुपोषण बिस्तारै हराउँछ” मैले भनेको सुनेर वृषबहादुर फिस्स हाँस्नुभयो मात्रै । उनले सायद मेरो कुरा विश्वास गरेनन् । म स्वास्थ्यकर्मी हो भन्ने थाहा पाएर पनि मेरो विश्वास नगर्नुका कारण थियो– “ठुल्ठुला संस्था र सरकारले खाद्य गोदाममा दिएको चामल । यही कोदो, फापर, आलु, सिमी, सिस्नो राम्रो पोषणयुक्त भोजन हुँदो हो त सरकारले यहाँ यति धेरै सजिलैसँग फल्ने कोदो र फापरै खाऊँ भन्थ्यो होला नि” सायद वृषबहादुरले विचार गर्नुभयो होला । उहाँले मुखले केही नभने पनि अनुहारको आशय यही भएको बुझिन्थ्यो । किनकि सुदूरपश्चिमका डोटी, अछाम, कैलालीमा मैले स्थानीय मानिस र स्थानीय स्वास्थ्य कार्यकर्तालाई आलु, कोदो, फापर, गहुँको महत्व र बिस्कुट, चाउचाउ जस्ता प्याकेटका खानेकुराले स्वास्थ्यमा पर्ने हानिबारे बताउँदा उनीहरू सिधै प्रश्न गर्छन्, “तर अरू डाक्टरले र सरकारले त यस्तो भन्दैन । तपाईंले भनेको कुरा साँचो हो भने खोई स्वास्थ्य मन्त्रालयका मानिसले हामीलाई भनेको छ ?” उनीहरूको प्रश्न पनि जायज छ । “एक्लो वृहस्पति झुट्टा हो” भनेझैँ बारम्बार गाउँमा गएर मैले स्थानीय खानेकुराको महत्वबारे भनेर मात्र मानिसले किन विश्वास गर्लान् त ?

नेपालका विभिन्न ठाउँका पोषण विशेषज्ञ, बालरोग विशेषज्ञले स्थानीय खानेकुराको महत्वबारे भनिरहनुभएको छ । डा. रमेशकान्त अधिकारी र मिरियम दिदीले किताबै लेख्नुभएको छ । ‘बाल स्वास्थ्य र पोषण’ भनेर र उहाँहरूले अनुसन्धान गरेरै लेख्नुभएको छ– साग, सिस्नो, पाइसाग, गिट्ठा, भ्याकुर, कोदो, फापर, जौ, गहुँ, चामलको ढुटो, भटमास र मकै आदि पोषणका कसरी राम्रा स्रोत हुन् त ? प्याकेटका खानेकुरा, बालबालिकालाई दिइने सेरेलेक, हर्लिक्स, नेस्ले आदिको सट्टामा सर्वोत्तम पिठो बनाएर खुवाए धेरै पैसा बचत त हुन्छ नै साथै बच्चाले बट्टाको खानेकुराभन्दा धेरै गुणा बढी पोषण पाउँछ । 

स्वस्थ रहन चक्की खानु पर्दैन, गुन्द्रुक र ज्वानो खाए हुन्छ । शरीरमा लौहशक्ति तत्व बढाउन कर्कलो, भट्ट, मस्यौरा र गुन्द्रुकको प्रयोग उत्तम हुन्छ भनेर उहाँहरूले लेख्नुभएको छ । त्यसैका आधारमा मैले सबैलाई भन्दै आएकी छु । आफूले त जीवनमा जहिले पनि प्रयोग गरिरहेकी छु । अभिभावकले आफ्ना, शिशु र छोराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरूलाई धेरै नयाँ नयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरूको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनु पर्छ । साना शिशु र बालबालिकाको स्वास्थ राम्रो पार्न र उनीहरूलाई रोगसँग लड्ने शक्ति दिलाउन बाहिरका प्याकेटका खाना, सिसीमा राखेका महँगो खाना, उचाइ र बुद्धि बढाउने भनेर विज्ञापन गरिएका गलत खाना होइन, आफ्नो भान्सामा जे छ, त्यसैलाई शिशुको रुचि अनुसार र उसले खान सक्ने गरी बनाएर दिनु पर्छ । 

बालबालिकालाई आमाबुबाले माया गरेर बाहिरका खानेकुरा दिएको देख्दा दुःख लाग्छ । यसले बच्चाको स्वास्थ्यमा नराम्रो असर पार्छ, अर्कोतिर बच्चाले जीवनभरका लागि घरको खानाभन्दा बाहिरको खाना उत्तम हुन्छ भन्ने सिक्छ । युवावस्था नपुग्दै उच्च रक्तचाप, मधुमेहको सिकार हुन्छ । प्याकेटका खानेकुरालाई राम्रोसँग सुरक्षित राख्न बढी नुन र चिनी दुवै हालेको हुन्छ । बच्चाको सानो मृगौलामा त्यसले नराम्रो असर पर्छ ।