नारद कोहार
तौलिहवा (कपिलबस्तु), चैत २८ गते । लागु औषध मुद्धामा अदालतबाट सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले १० वर्षपछि पक्राउ गरी कारागार चलान गरेको छ ।
जिल्लाको बाणगङ्गा नगरपालिका–३, गङ्गोलिया निवासी ३७ वर्षीय प्रकाश अधिकारीलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले आफ्नै घरबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
अधिकारीलाई कपिलवस्तु जिल्ला अदालतको २०७१ मङ्सिर २४ गतेको फैसला अनुसार दुई महिना कैद र दुई हजार रुपियाँ जरिवाना तोकिएको थियो । अदालतको उक्त फैसला कार्यान्वयनका लागि फरार रहेका उनलाई यही चैत २६ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अधिकारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि कपिलवस्तु जिल्ला अदालतमा पेश गरिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक सिंहले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिइएको बताउनुभयो । उहाँले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन यस्ता अभियान निरन्तर सञ्चालन गरिने बताउनुभयो ।