काठमाडौँ, चैत २८ गते । नेपालका उदयीमान खेलाडी निहाना श्रेष्ठले फिडे वर्ड स्कूल टिम चेस च्याम्पियनसिपअन्तर्गत एशियन कन्टिनेन्टल स्टेजको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रजत पदक जित्नुभएको छ ।
उहाँले सात खेलबाट ५.५ अङ्क जोड्दै आफ्नो व्यक्तिगत चौथो वोर्ड समूह स्पर्धामा रजत जित्नुभएको हो । पदक जित्ने क्रममा निहानाले अष्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तानत र सिङ्गापुरका खेलाडीमाथि सानदार जित निकाल्नुभएको थियो । उहाँले चीनविरुद्ध बराबरी तथा पाकिस्तानसँग एक मात्र हार खेल्नुभयो ।
यस प्रतियोगितामा नेपाली टोलीले भने मिश्रित खेल प्रस्तुत गरेका छन् । काजकिस्तानको अल्माटिमा सम्पन्न आठ चरणको टिम प्रतिस्पर्धामा नेपाली टोलीले तीन जीत, एक बराबरी तथा चार खेलमा पराजित हुँदै सात अङ्क बनायो ।
नेपालबाट राष्ट्रिय विजेता मार्भलस इङ्गलिस बोर्डिङ्ग स्कूलका ब्रिजनन्दन दास, कृष्टि रिजाल, आकाश शरन कुँवर, निहाना श्रेष्ठ र सुहानी सिंहले सहभागिता जनाउनुभएको थियो ।
नेपाली टोलीको व्यवस्थापकमा नेपाल बु्द्धिचाल महासङ्घका सदस्य निरञ्जन प्रजापति तथा प्रशिक्षकका रुपमा रिजेन्द्र राजभण्डारी हुनुहुन्थ्यो । एशिया, अफ्रिका, अमेरिका र युरोप गरी चार महादेशीय छनोट चरण पश्चात् प्रत्येक चरणको विजेता चार राष्ट्रिय टोलीले टोली डिसेम्बरमा ग्रान्ड फाइनलमा खेल्ने छ । जसमा एशियावाट उज्बेकिस्तानको विज्डम स्कूलले शीर्ष स्थान बनाएको छ ।
काजकिस्तान चेस फेडेरेशनसँगको दौत्य सम्बन्धलाई बलियो बनाउन नेपाल बुद्धिचाल महासङ्का महासचिव धरमबहादुर लामा आमन्त्रित डेलिगेट बनेर पुरस्कार वितरण एवं समापन कार्यक्रममा उपस्थित हुनुभएको थियो ।