• २८ चैत २०८२, शनिबार

आदिबासी समुदायको सशक्तिकरणमा कार्यक्रम लक्षित गर्न सुझाव

blog

कार्यक्रमका सहभागीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं,  चैत २७ गते । डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम) नेपाल परियोजनाको राष्ट्रिय सञ्चालन समिति (एनएससी) को बैठक शुक्रबार सम्पन्न भएको छ । एनएससीका सहअध्यक्ष नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) का नवनिर्वाचित अध्यक्ष निमा लामा ह्योल्मोलाई बधाई तथा निवर्तमान सहअध्यक्ष तथा नेफिनको निवर्तमान अध्यक्ष गेल्जे लामा शेर्पालाई धन्यवादसहित विदाई गरिएको छ । 

बैठकमा रुरल रिकन्स्ट्रक्सन नेपाल (ग्रामीण पुनःनिर्माण नेपाल) का कार्यकारी निर्देशक डा. नेत्र तिम्सिनाले नवनिर्वाचित महासंघका अध्यक्ष ह्योल्मोलाई बधाई तथा निवर्तमान अध्यक्ष शेर्पालाई विदाई एवम् शुभकामना व्यक्त गर्नुभयो । 

विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालनमा रहेको डिजिएम नेपाल तथा आरआरएन परियोजनाको अहिलेसम्म सम्पन्न भएको कार्यक्रम तथा आगामी कार्ययोजनाबारेमा छलफल भएको छ । सो बारेमा डिजिएम नेपालका टिम लिडर डा. रत्न कार्की, कार्यक्रम संयोजक साधना लिम्बुले सञ्चालनमा रहेको कार्यक्रम र भावी कार्ययोजनाबारेमा जानकारी गराउनुभएको थियो । 


आदिबासी जनजाति र स्थानीय नागरिकको सशक्तिकरण तथा क्षमता अभिबृद्धि गर्ने लक्ष्य लिएको सो कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ । मधेस र लुम्बिनी प्रदेश गरी दुई प्रदेशमा सञ्चालनमा रहेको परियोजनाको कार्यक्रमलाई लक्षित समुदायमुखी बनाउन सञ्चालक समितिका सदस्यहरुले सुझाव दिनुभयो । 

एनएससीका सहअध्यक्ष निमा लामा ह्योल्मोले संस्था चलाउने काम जिम्मेवारीको भारी बोक्ने काम भएकाले आफूले त्यसलाई इमान्दारितापूर्वक निर्वाह गर्नेगरी जिम्मेवारीमा आएको बताउनुभयो । आदिबासी र स्थानीय नागरिक लक्षित कार्यक्रमलाई परिणाममुखी र प्रभावकारी बनाउन सञ्चालन समितिका सदस्यहरु, परियोजनाका टिमलाई सक्रिय भएर काम गर्न आग्रह गर्नुभयो । 

एनएससीका अर्का सहअध्यक्ष ठाकुर भण्डारीले परियोजनाको कार्यक्रमलाई पारदर्शी रुपमा सञ्चालन गर्न सकेमात्र लक्षित समुदाय लाभान्वित हुने बताउँदै परियोजनाको कार्यक्रमलाई सोहीअनुसार सञ्चालन गर्न आग्रह गर्नुभयो । आदिबासी समुदाय र स्थानीय नागरिकको सशक्तिकरण, क्षमता अभिबृद्धिका लागि विश्व बैंकले करोडौं रुपियाँ लगानी गरेकाले लक्षित समुदाय त्यसबाट लाभान्वित हुनैपर्ने बताउनुभयो ।


आरआरएनका कार्यकारी निर्देशक डा. नेत्र तिम्सिनाले परियोजनाको कार्यक्रमलाई लक्षित समुदायको क्षमता अभिबृद्धिमा इमान्दारितापूर्वक लगानी गरिने प्रतिवद्धता जनाउनुभयो । सञ्चालन समितिको सुझावअनुसार नै परियोजनाले कार्यक्रम बनाई सम्बन्धित क्षेत्रमा कार्यान्वयन गर्ने उहाँले बताउनुभयो ।

नेफिनका निवर्तमान अध्यक्ष गेल्जे लामा शेर्पाले परियोजनाको लोकप्रिय कार्यक्रम युवालाई छात्रबृत्ति रहेको बताउँदै त्यसलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो । छात्रबृत्ति कोषलाई अझ बृद्धि गरी युवाको क्षेत्रमा लगानी बढाउन उहाँले सुझाव दिनुभयो । 

कार्यक्रममा ग्रिन फाण्डेशनका अध्यक्ष घनश्याम पाण्डे, पारिवारिक तथा निजी वन महासंघका अध्यक्ष जोगराज गिरी, सिप्रेडका अध्यक्ष डा. पासाङ शेर्पा लगायतले परियोजनाको कामलाई पारदर्शी, प्रभावकारी र गुणस्तरीय बनाउन सझाव दिनुभएको थियो ।  

परियोजनाले जलवायु परिवर्तनका कारण, कार्वन उत्सर्जन न्यूनीकरण, सीप तथा हस्तकलाका लागि सीप अभिबृद्धि गरी स्वरोजगार बृद्धि गर्ने कार्यक्रम, स्थानीय स्तरमा उद्योग सञ्चालनका लागि सीप बृद्धि गर्ने कार्यक्रममा लगानी गर्दैआएको छ ।