शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नवलपुर (नवलपरासी), चैत २७ गते । चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार बिहीबार निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाएको गोलीबाट गैँडाको मृत्यु भएको हो ।
निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणअन्तर्गत सेहरी सुरक्षा पोष्टबाट परिचालित टोली गस्ती जाने क्रममा अकस्मात् अर्ध वयस्क बच्चासहितको पोथी गैँडाले टोलीको एक जना सिपाहीलाई आक्रमण गरेको थियो ।
आत्मरक्षाका लागि गैँडा धपाउन १४ राउन्ड हवाई फायर गर्दा पनि गैँडा नभागेपछि आक्रमणमा परेका सिपाहीको बचाउका लागि थप दुई राउन्ड गोली चलाउँदा गैँडालाई लागेको निकुञ्जले जनाएको छ । गोली लागेर अन्दाजी २४ वर्षको पोथी गैँडाको घटनास्थलमै मृत्यु भएको हो । रासस