• २८ चैत २०८२, शनिबार

दुई दिने साहित्यिक कार्यक्रम सम्पन्न

blog

काठमाडौँ, चैत २८ गते । नेपाली भाषा साहित्यको क्षेत्रमा निरन्तर कार्यक्रम गर्दै आएको एपेक नेपालले नेपाल भारत दुई दिने काव्य महोत्सव सम्पन्न गरेको छ । नेपाली वाङमय जगतमा स्थापित एपेक नेपालले चैत २५ गते, नेपाली साहित्यको श्रीवृद्धिमा विगत २७ वर्षदेखि क्रियाशील रहेको संस्था ‘एपेक नेपाल’ को २७ औँ वार्षिकोत्सवको अवसरमा विश्व-ज्योति काव्य सम्मान २०८२ कवि मञ्जुललाई पर्यटन वोर्ड भृकुटी मण्डप काठमाडौँमा समर्पण गरिएको छ । 

विश्वज्योति पाण्डुलिपि पुरस्कार २०८२ सुर्खेतकी स्रष्टा हिमा रोकाको लघुकथासङ्ग्रह प्रतिज्ञालाई प्रदान गरिएको छ । यसै अवसरमा भारत र नेपालका ६२ जना कविका नेपाली तथा हिन्दीमा अनुवादित कविता समेटिएको कृति “अनुभूति” को लोकार्पण समेत सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सभापति विश्वविमोहन श्रेष्ठ प्रमुख अतिथि प्राडा.अभि सुवेदी हुनुहुन्थ्यो । स्वागत मन्तव्य राजेन्द्र सलभले र पुरस्कृत स्रष्टाको परिचय श्रीओम श्रेष्ठ रोदनले गर्नुभएको थियो । 


दोस्रो दिन भारतीय कविलाई काठमाडौँका विभिन्न स्थानको भ्रमण अवलोकन गराइएको थियो । काठमाडौँमा नेपाल र भारतका कविको कविता वाचन कार्यक्रममा एपेक नेपालका अध्यक्ष तथा कार्यक्रममा सभापति विश्वविमोहन श्रेष्ठको सभापतित्वमा लीला अनमोलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

अनुभूति भित्र प्रकाशित भएका कवितामा ३१ नेपाली कविका कविता हिन्दी भाषामा र ३१ भारतीय कविका कविता नेपाली भाषामा अनुवाद गरिएको छ । उक्त कृतिभित्रबाटै कविहरू स्नेह सायमी, डा. धनेश द्विवेदी, विनोद परासर, दीप दर्पण, राजकुमार श्रेष्ठ, भूपिन खड्का, गीता कार्की, गरिमा सञ्जय, मणि लोहनी, मोमिला, शकुन्तला मित्तल, डा.वनिता शर्मा, डा.तुलिका सेठ, निमेष निखिल, भावना तिवारी, विमल वैद्य, किशोर श्रीवास्तव, चन्द्र गुरुङ, डा.कविता मलहोत्रा, शकुन्तला जोशी, उमा सुवेदी, मोनालिसा पंवार, अशेष मल्ल, नमिता राकेश, भोजराज न्यौपाने, ज्योति जङ्गल, उषा शेरचन, राजेन्द्र शलभ, प्रज्वल अधिकारी, सुधाकर पाठक, छविरमण सिलवाल, विश्वविमोहन श्रेष्ठ र लीला अनमोलले आआफ्ना अनुवादित कविता वाचन गर्नुभयो । भारतीय कविले नेपाली भाषामा र नेपाली कविले हिन्दी भाषामा कविता वाचन गर्नुभएको थियो । एक सय बिस जना साहित्यकारको उपस्थिति रहेको कार्यक्रम रात्रि भोजपछि समापन गरिएको थियो ।