प्रतीक इच्छुक शर्मा
सल्यान, चैत २६ गते । सल्यानको कालिमाटी क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत गरिएको काठ कटानसम्बन्धी विवाद अन्ततः समाधान भएको छ।
वन र प्रहरीबिच उत्पन्न विवादपछि घटनाबारे बुझ्न वन निर्देशनालय सुर्खेतका निर्देशक शेरबहादुर श्रेष्ठ र कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराम सापकोटासहितको टोली सल्यान पुगेको थियो। टोलीले स्थलगत अनुगमन गर्दा काम प्रक्रिया अनुसार नै भएको पुष्टि गरेको छ।
वन निर्देशक श्रेष्ठले अब समन्वय र सहकार्यका साथ कार्यक्रम अघि बढाइने बताउनुभयो। उहाँका अनुसार जाँचबुझपछि जिल्ला प्रशासन कार्यालय सल्यानमा भएको छलफलले कार्यक्रमलाई थप पारदर्शी, समन्वयात्मक र कानुनी दायराभित्र राखेर कार्यान्वयन गर्ने समझदारी गरेको छ।
यसअघि डिभिजन वन कार्यालय सल्यानले सञ्चालन गरेको कार्यक्रममा अनावश्यक रूपमा रुख कटान भएको तथा राति काठ निकासी गरिएको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालयले रोक लगाएको थियो।
कर्णाली प्रदेश प्रहरी प्रमुख जयराम सापकोटाले केही समस्या देखिएको भए पनि अब सबै काम कानुनी, पारदर्शी र नियमसङ्गत ढाँचामा मात्रै अघि बढाइने बताउनुभयो। उहाँले स्पष्ट कार्यप्रणाली, नियमित अनुगमन र सरोकारवाला निकायबिचको समन्वय सुदृढ गर्दै कार्यक्रम अघि बढाउने वातावरण बनेको उल्लेख गर्नुभयो।
यसबाट वन संरक्षण र उपयोगबिच सन्तुलन कायम हुने, साथै स्थानीय स्तरमा रोजगारी सिर्जना र राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले नियम अनुसार सबै सरोकारवालाको सहभागितामा पारदर्शी रूपमा कार्यान्वयन गरिने बताउनुभयो। उहाँका अनुसार कार्यक्रम कर्णाली प्रदेश सरकारको कार्यविधि अनुसार निरन्तरता दिइने छ र कार्यान्वयनका क्रममा प्रहरीसँग आवश्यक समन्वय कायम रहने छ।