काठमाडौँ, साउन २१ गते । सरकारले भारतबाट गहुँ चिनी आयात गर्नका लागि उद्योगी व्यवसायीसँग आवश्यक कागजपत्रसहित आशयपत्र पेस गर्न भनेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गरेर गहुँ र चिनी आयात गर्न चाहने उद्योगी व्यवसायीलाई आवश्यक कागजपत्र पेस गर्न भनेको हो ।
आन्तरिक बजारमै अपुग हुने भन्दै भारतले वैशाख अन्तिम सातादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । नेपाली मैदा मिल भारतीय गहुँमै निर्भर रहँदै आएका छन् ।
भारतले नै गहुँ निर्यातमा कडाइ गरेपछि नेपाली उद्योगी व्यवसायीले आयात सहज बनाउन माग गर्दै आएका छन् । दशैँ, तिहार, छठजस्ता चाडबाडमा चिनी र मैदा, पिठोजस्ता अत्यावश्यकीय वस्तुको अभाव नहोस् भनेर चिनी र गहुँको निर्यात खुला गर्न भारतलाई पत्राचार गरिने मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले गहुँ र चिनी आयातका लागि व्यवसायीबाट प्रस्ताव माग गरेको जानकारी दिनुभयो । आयात गर्न कति व्यवसायीको माग आउँछ, सोहीअनुसार भारतसँग निर्यात प्रतिबन्ध खुला गर्न आग्रह गरिने उहाँले जानकारी दिनुुभयो ।
दशैँ, तिहारलगायतका चाडबाडमा चिनीको खपत धेरै हुने र स्वदेशी उत्पादन अपुग हुने भएकाले चिनीको आयात खुलाउन लागिएको मन्त्रालयले जानकारी दिनएको छ ।
मन्त्रालयले आयातकर्तासँग प्रारम्भिक चरणको आशयपत्र माग गरेको छ, जसमा भारतबाट खरिद गर्ने उद्योगको विवरण, आयात गर्नुको उद्देश्य, आयात गरिने नाका, आयात गर्न चाहेको परिमाण, मूल्य र समयलगायतका विषय समावेश गरी निवेदन दिन मन्त्रालयले सूचना जारी गरेको छ ।
चार लाख मेट्रिक टन गहुँ अपुग
स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि गहुँको आयात बढ्दै गएको छ । गहुँको वार्षिक माग २४–२५ लाख मेट्रिक टन माग रहेको छ । आन्तरिक उत्पादन २०–२१ लाख मेट्रिक टन रहेकामा तीन/चार लाख मेट्रिक टन अपुग हुन्छ ।
नेपाल मैदा उद्योग सङ्घका अध्यक्ष कुमुद दुगडले गहुँको मौज्दात सकिएकाले मैदा मिल बन्द हुने अवस्थामा रहेको बताउनुभयो । “१०–१२ दिनलाई पुग्ने मात्रै मौज्दात छ, त्यसपछि मिल बन्द हुने स्थिति छ,” दुगडले भन्नुभयो ।
सरकारले सुरु गरेको अहिलेको प्रक्रियाबाट आयात गर्न लामो समय लाग्ने बताउँदै कूटनीतिक तवरबाट यति मेट्रिक टन गहुँ आवश्यक पर्छ भनेर पहल गर्न उहाँले सुझाव दिनुभयो । गहुँको आयात दुई महिनादेखि बन्द हुँदा मैदा उद्योगलाई कच्चा पदार्थको कमी भएको र त्यसको प्रभाव चाउचाउ, बिस्कुट, पाउरोटी, चाउमिनलगायतको उत्पादनमा परेको उहाँले जानकारी दिनुुभयो । मुलुकभर ३२ वटा फ्लोर मिल (मैदा उद्योग) सञ्चालनमा छन् ।