• २७ असोज २०८२, सोमबार

पुटिनलाई चेतावनी दिन सक्ने ट्रम्पको भनाइ : युक्रेनलाई टोमाहाक मिसाइल प्राप्त हुन सक्ने

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प/रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।

वासिङ्टन, असोज २७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिने सम्भावना रहेको बताउनुभएको छ । सोअनुसार यदि मस्कोले युक्रेनमाथिको आक्रमण रोक्ने प्रयास नगरे किएभले टोमाहाक क्रुज मिसाइल प्राप्त गर्न सक्छ ।

राष्ट्रपति ट्रम्पले पत्रकारसँग हवाईजहाज ‘एयरफोर्स वन’ मा बोल्दै भन्नुभयो, “म पुटिनसँग पुनः कुरा गर्न सक्छु र भन्न सक्छु-‘हेर्नुहोस्, यदि यो युद्ध समाप्त हुने छैन भने, म युक्रेनलाई टोमाहाक पठाउने छु ।” उहाँका अनुसार अगस्ट महिनामा अलास्कामा भएको पुटिनसँगको भेटवार्ताले अपेक्षित शान्ति सम्झौता जन्माउन सकेन ।

त्यसपछि ट्रम्प प्रशासनले युरोपेली साझेदारमार्फत किएभलाई लामो दूरीका मिसाइल आपूर्ति गर्ने विषयमा छलफल गरिरहेको छ । “युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार भएको टेलिफोन संवादमा अमेरिकाबाट नयाँ हतियार आपूर्ति, विशेष गरी टोमाहाकबारे माग गर्नु भएको थियो”, ट्रम्पले भन्नुभयो, “टोमाहाक आपूर्ति कुनै आक्रामक कदम होइन, तर यो आवश्यक सन्देश हो-के उनीहरू ती मिसाइल आफ्नो दिशामा आउन चाहन्छन् ? मलाई लाग्दैन ।”

रुसी राष्ट्रपति पुटिनले यसअघि नै वासिङ्टनलाई चेतावनी दिँदै किएभलाई टोमाहाक मिसाइल आपूर्ति नगर्न आग्रह गर्नु भएको थियो । उहाँका अनुसार त्यसले अमेरिकासँगको सम्बन्धमा ठूलो तनाव ल्याउन सक्ने छ र युद्ध अझ बढ्न सक्छ । राष्ट्रपति ट्रम्पले भने यो युक्रेन युद्ध आफ्नो कार्यकालमा समाधान गर्न चाहने प्रमुख चुनौतीमध्ये एक रहेको उल्लेख गर्नुभयो । 

उहाँका अनुसार अब चौथो वर्षमा पुगेको यो युद्ध सन् २०२२ फेब्रुअरीमा सुरु भएको हो, जब रुसले पश्चिम समर्थक युक्रेनमाथि पूर्ण आक्रमण आरम्भ गरेको थियो । ट्रम्पले अहिले पनि गाजा शान्ति सम्झौता र मध्यपूर्वीय स्थायित्वका लागि इजरायल र इजिप्ट भ्रमण गरिरहनुभएको छ । उहाँको भनाइमा शान्ति सम्भव छ, तर त्यसका लागि दुवै पक्षले दृढ इच्छाशक्ति देखाउनुपर्छ । रासस/एएफपी