• २७ असोज २०८२, सोमबार

'पत्रकारितामा एआईलाई डर होइन, अवसरका रूपमा लिनुपर्छ'

blog

नेपाल पत्रकार महासंघ दाङ शाखाले आयोजना गरेको ‘पत्रकारितामा एआई’ विषयक अभिमुखीकरण । तस्बिर : लीलाधर वली

लीलाधर वली     

घोराही, असोज २७ गते । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारितामा एआईलाई अवसरको रूपमा लिनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले सोमवार घोराहीमा आयोजना गरेको ‘पत्रकारितामा एआई’ विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै निवर्तमान अध्यक्ष पोख्रेलले प्रविधिलाई डरभन्दा पनि अवसरका रुपमा लिनुपर्ने बताउनुभयो । 

प्रविधिको विकाससँगै मिडियामा अवसरसँगै चुनौतीहरु थपिएको भन्दै पोख्रेलले पत्रकारितामा एआई आफूलाई दक्षता बनाउन सिक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एआईले पत्रकारिताको इमान, अनुसन्धान र विश्लेषण क्षमतालाई नयाँ उचाइमा पुर्‍याउन सक्छ ।’’ नेपाल पत्रकार महासंघका सल्लाहकार समेत रहनुभएका पोख्रेलले प्रविधि र पत्रकारिताको सहअस्तित्वबारे अध्ययन, संवाद र नीतिगत तयारी अघि बढाइरहेको बताउनुभयो ।  

एआई नीतिको पालना गर्दै पत्रकारितामा एआईको पालना गर्न आग्रह गर्दै पोख्रेलले पत्रकारहरुले एआई नीतिको पालना गर्नुपर्दछ । ‘पत्रकार महासंघले एआई र पत्रकारिता’ सम्बन्धी नीति संवाद र अनुसन्धान केन्द्रित कार्यक्रम श्रृंखला सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । एआईको प्रयोगले समाचार संकलन, सम्पादन र वितरण प्रणालीमा गति ल्याउने भएपनि यसको जिम्मेवार प्रयोगका लागि पत्रकारहरू सचेत हुनुपर्ने उहाँको भनाइ थियो । 

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले महासंघले देशभर एआई साक्षरता र डिजिटल दक्षता सम्बन्धी कार्यक्रम विस्तार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अब एआईलाई पत्रकारहरूको दक्षता बढाउने औजारको रूपमा लिँदै प्रदेश र जिल्लास्तरमा नियमित तालिम सञ्चालन गर्ने तयारी गरेका छौं ।” उहाँले महासंघले एआई साक्षरतासँगै समाचार लेखन, तथ्यजाँच र सम्पादनमा डिजिटल उपकरणहरूको सही प्रयोगबारे पनि तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो । 

‘पत्रकारितामा एआई’ विषयक अभिमुखीकरण कार्यक्रमका प्रशिक्षक अजय शर्माले पत्रकारितामा एआईको प्रयोग, सम्भावना, जोखिम र भविष्यबारे धारणा राख्दै एआईलाई पत्रकारको प्रतिस्पर्धी नभई सहयोगी उपकरणका रूपमा बुझ्नुपर्ने बताउनुभयो । 

पत्रकारितामा एआईले सहयोगी भूमिका खेल्ने भन्दै प्रशिक्षक शर्माले भन्नुभयो, “एआई कुनै व्यक्ति होइन, यो एउटा उपकरण हो–जसको प्रभाव प्रयोगकर्ताको उद्देश्यमा निर्भर गर्छ । यदि पत्रकारले यसलाई सृजनात्मक, अनुसन्धानमुखी र तथ्यआधारित समाचार उत्पादनमा प्रयोग गरे भने, एआई पत्रकारिताको क्षितिज विस्तार गर्ने ऐतिहासिक माध्यम बन्न सक्छ ।” उहाँका अनुसार एआईले पत्रकारिताको तीन आधारभूत क्षेत्र–समाचार सङ्कलन, सम्पादन र वितरणमा नयाँ मोड ल्याइरहेको छ । 

सङ्कलनका तहमा एआईले डेटा–विश्लेषण, तथ्य–जाँच र ट्रेन्ड विश्लेषणमा सहयोग गर्ने भन्दै उहाँले सम्पादनका तहमा भाषिक शुद्धता, शीर्षक निर्माण र तथ्य–सत्यापनमा उपयोगी बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वितरणमा एआईले दर्शकको रुचिअनुसार समाचार सामग्री समायोजन गर्न, व्यक्तिगत सिफारिस प्रणालीमार्फत समाचार पु¥याउन र समयमै सामग्री अपडेट गर्न मद्दत गर्छ । एआईको प्रयोगले पत्रकारको भूमिका समाप्त गर्ने नभई पत्रकारको विवेक, संवेदना र नैतिक जिम्मेवारी अझ महत्वपूर्ण बनउन सहयोग गर्नेछ । एआईले मानवीय संवेदना महसुस गर्न सक्दैन, त्यसैले समाचारमा मानवीय दृष्टिकोण र सामाजिक जिम्मेवारी पत्रकारकै हातमा रहन्छ ।” 

उहाँले पत्रकारलाई एआई प्रयोगमा ‘डिजिटल नैतिकता’ र ‘डाटा जिम्मेवारी’ पालन गर्न आग्रह गर्दै भन्नुभयो, “एआईले जति शक्ति दिन्छ, त्यति नै जिम्मेवारी पनि थप्छ । कुनै पनि समाचार तयार गर्दा त्यसको स्रोत, उद्देश्य र प्रभावबारे सजग हुनुपर्छ ।” उहाँका अनुसार एआईको विवेकभन्दा पत्रकारको विवेक ठूलो हुन्छ, त्यसैले ‘मानव नियन्त्रणमा रहेको एआई’ नै पत्रकारिताको सही रूप हो । शर्माले अभिमुखीकरण कार्यक्रमलाई पत्रकारहरूमा एआईप्रतिको बुझाइ, जिज्ञासा र उत्तरदायित्व जगाउने ऐतिहासिक पहलका रूपमा लिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य शरद अधिकारीले पत्रकारितामा एआईको प्रयोगसँगै नियमन र नीति निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो,‘‘एआईले समाचार उत्पादनमा सहजता ल्याउँछ, तर स्रोतको विश्वसनीयता, तथ्यपरकता र सम्पादकीय उत्तरदायित्व सुनिश्चित गर्न नियमनकारी निकायहरूको तयारी जरुरी छ ।”