गोरखापत्र अनलाइन
काठमाडौं, असोज २७ गते । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालन भएको सैन्य आधार तालिम सोमबार औपचारिक रूपमा समापन भएको छ।
नौ महिनासम्म सञ्चालन भएको यस तालिमबाट दुई हजार १०२ जना पुरुष र ३४९ जना महिला गरी कुल दुई हजार ४५१ जना नयाँ सैनिक दीक्षित भएका छन्।
तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रम अन्तर्गत श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा आयोजित समारोहमा सैनिक तालिम महानिर्देशक ध्रुवप्रकाश शाहले उत्कृष्ट प्रदर्शन गर्ने शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै कवाज निरीक्षण गर्नुभयो।
त्यस्तै, विभिन्न तालिम केन्द्र, पृतना, बाहिनी तथा गण–गुल्महरूमा आयोजित कार्यक्रमहरूमा सम्बन्धित पृतनापति, बाहिनीपति र ज्येष्ठ अधिकृतहरूले पनि कवाज निरीक्षण गरी उत्कृष्ट सिपाहीहरूलाई सम्मान गर्नुभएको थियो।
अन्तिम दलेल कवाज कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका प्रमुखहरू, नयाँ सैनिकका परिवारजन तथा स्थानीय सञ्चारकर्मीसमेतको उल्लेखनीय उपस्थिति थियो।
नेपाली सेनाले जारी गरेको विवरण अनुसार, यो तालिमले नयाँ सैनिकहरूमा अनुशासन, नेतृत्व, देशभक्ति र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्य पूरा गरेको छ।