विकास अधिकारी
पश्चिम नवलपरासी, असोज २७ गते । कारागार कार्यालय पश्चिम नवलपरासीबाट जेन–जी आन्दोलनका क्रममा भागेका दुई सय बढी कैदीबन्दी अझै पक्राउ परेका छैनन् । केही कैदीबन्दी आफै कारागार फर्किए भने केहीलाई प्रहरीले पक्राउ गरेका हुन् ।
हालसम्म भागेका मध्ये ४१ महिला सहित तिन सय २८ जना कारागार फर्किएका छन् भने दुई सय १८ जना कैदीबन्दी अझै फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना (डिएसपी) विरदत्त पन्तले जानकारी दिनुभयो । भागेका मध्ये ३९ जना भारतीय कैदीबन्दी हाल सम्म फरार छन् ।
उनीहरू भारत पसेकाले भारतीय पक्षसँगको समन्वयमा पक्राउ गरिने डिएसपी पन्तले बताउनुभयो । अहिले नेपाली भित्र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ तर भागेका मध्ये धेरै कैदीबन्दी अझै पक्राउ नपर्दा समुदायमा त्रासको वातावरण छ । अहिले देशका विभिन्न स्थानमा कारागारबाट भागेका कैदीबन्दीहरू गम्भिर अपराधमा संलग्न भइरहेकाले जोखिम बढेको छ । ‘प्रहरी टोली परिचालन गरेर खोजी कार्य भइरहेको छ, दैनिक पक्राउ गरेर कारागारमा ल्याउने क्रम जारी छ,' डिएसपी पन्तले भन्नुभयो ।
जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै भदौ २६ गते कारागारमा रहेका पाँच सय ७६ जना कैदीबन्दी मध्ये पाँच सय ४६ जना भागेका थिए । कारागारको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ६ जना सुरक्षाकर्मीलाई छलफलका लागि भन्दै कारागारभित्र बोलाएर कैदीबन्दीहरूले आफूहरू रिहा हुन पाउनुपर्ने सर्त राखेका थिए ।
कारागारभित्र आगजनी गरेर प्रदर्शन गरेपछि सुरक्षा निकायले केही सेल अश्रुग्यास र हवाई फायर गरेको थियो। तर अवस्था अनियन्त्रित देखिएपछि उनीहरूलाई बाहिर जान दिइएको हो । ३० जना भने सजाय भुक्तान गरेर मात्र कारागारबाट बाहिरिने भन्दै कारागारमै बसेका थिए । कारागारमा ८७ महिला र ४८८ पुरुष गरी कुल ५७६ कैदीबन्दी थिए ।